२४ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

प्रतिनिधि सभा विघटनको विपक्षमा छुः बृजेश कुमार गुप्ता



काठमाडौं ।
२०७४ सालमा तत्कालिन राष्ट्रिय जनता पार्टी परित्याग गरेर त्रिपाठीसँगै स्वतन्त्र समूहमा आवद्ध भएका विघटित प्रतिनिधि सभाका सांसद बृजेशकुमार गुप्ता प्रतिनिधि सभा विघटनको विपक्षमा स्पष्ट रूपले उभिएका छन् ।

सेतोपाटीसँग कुराकानी गर्दै गुप्ताले प्रतिनिधि सभा विघटन दुःखद रहेको भन्दै पुनर्स्थापनाले मात्रै अस्थिरता रोक्न सहयोग गर्ने बताए । उनले कांग्रेससहितको संयुक्त आन्दोलन हुनुपर्ने बताए ।

‘हामीले त यो संविधानलाई नै नमानेको हो। तर पनि स्थिरताको लागि यसमा भएका उपलब्धिलाई स्वीकार्नपर्छ भन्ने हाम्रो विचार हो,’ उनले भने,’संविधानमा अपनत्व छ भन्ने कांग्रेसले स्पष्ट अडान लिनुपर्छ। एकातिर कांग्रेसले आन्दोलन गरेजस्तो गरेको छ अनि अर्कोतिर चुनाव भयो भने ठूलो पार्टी हुन्छु भनेरसमेत भनेको छ। यो दोधारे चरित्र भयो।’

गुप्ता २०७४ को निर्वाचनमा कपिलवस्तु क्षेत्र नं २ बाट सूर्य चिन्हबाट विजयी भएका थिए। त्रिपाठीले जस्तै गुप्ताले पनि आफू कुनै पार्टीमा नरहेको बताउँदै आएका छन्।

संयुक्त आन्दोलन भए आफू त्यही आन्दोलनमा सहभागी हुने भन्दै उनले अहिले तटस्थ रहेको बताए। तर संसद पुनर्स्थापना हुनु पर्नेमा भने आफू स्पष्ट रहेको उनको भनाइ छ।

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी गठनको लागि तयारी गरेको भए पनि आफू भने पहिला स्वतन्त्र समूह गठनलाई विस्तार गर्नुपर्ने पक्षमा रहेको बताए।

प्रकाशित मिति : ३ फाल्गुन २०७७ सोमबार ००:००  ३ : ४७ बजे