१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

वाणगंगा नगरपालिकामा अर्ध वार्षिक समिक्षा, समसमायिक विषयमा सरोकारवालाको चासो



दीपा महत, वाणगंगा ।
बास्तविक भूमिहिनहरुलाई जग्गा उपलब्ध गराउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । भूमिहिनको पहिचान गर्दा सत्यतथ्य बुझ्र्नुपर्ने, अन्यथा वास्तविक सुकुम्बासीले जग्गा पाउन नसक्नेमा उनीहरुको जोड छ ।

वाणगंगा नगरपालिकाले आयोजना गरेको अर्ध वार्षिक समिक्षा कार्यक्रममा बोल्ने सहभागीले सो कुरामा जोड दिएका हुन् । साथै उनीहरुले चालु आर्थिक वर्षका योजना समयमै सम्पन्न गर्न सुझाव दिएका छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले वास्तबिक भूमीहिनलाई मात्र जग्गा उपलब्ध गराउनुपर्ने बताउनुभयो । नेपाल सरकारले संचालन गरेको बाल पोषण कार्यक्रम प्रभावकारी बन्दै गएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । बाल पोषण कार्यक्रमले नागरिकता लिने महिलाको संख्या समेत बढेको घिमिरेको भनाई छ ।

राष्ट्रिय सभा सदस्य घिमिरेले अबको एक डेढ महिनामा विकास निर्माणका कार्यक्रम सम्पन्न गर्नेगरी लाग्न सुझाव दिनुभयो ।

प्रदेश सांसद विष्णु पन्थीले वाणगंगा नगरपालिका तुलानात्मक रुपमा सफल रहेको भन्दै नगरपालिकाले समयमै काम सम्पन्न गर्नेमा विश्वस्त रहेको बताउनुभयो । वाणगंगाको बेरुजु शुन्य रहेकाले यसलाई पनि सफलताको रुपमा लिनुपर्ने बताउनुभयो । यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

वाणगंगामा नगरपालिकामा सबै भन्दै धेरै कृषि सहकारी ३९ वटा रहेकाले उक्त सहकारीलाई परिचालित गरी रोजगारीको मुख्य स्रोत बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै पूर्व सांसद विश्राम प्रसाद थारुले जनगुनासो नआउने गरी काम गर्न स्थानीय तहलाई सुझाव दिनुभयो । सेवाग्राही कामको लागि बारम्बार नगरपालिका धाउनुपरेमा जनमानसमा नगरपालिका प्रति नकारात्मक प्रभाव पर्ने भएकोले छिटोछरिता सेवा दिई स्थानीय तहको अनुभुती दिलाउनुपर्नेमा जोड दिनुभयो ।

वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले नगरपालिकामा छाडा चौपाया ब्यवस्थापनका लागि बजेट बिनियोजन भएको भन्दै अन्य कामहरुपनि अगाडी बढाउने बताउनुभयो ।

कार्यक्रममा नेकपा (ओली समूह) का कपिलवस्तु अध्यक्ष झबिलाल पोख्रेल, कांग्रेस नेता रबि बहादुर काफ्ले, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष रमेश पन्थी, भूमि समस्या समाधान आयोग जिल्ला समन्वय समिती संयोजक कृष्ण पौडेल, नेपाल शिक्षक संघ नगर अध्यक्ष कुलराज पौडेल, विष्णु न्यौपाने लगाएतले नगरपालिकालाई विभिन्न सुझाव दिनुभएको थियो ।

May be an image of one or more people, people standing and people sitting

वाणगंगाको मुख्य बाटोमै फोहर हुँदा राम्रो सन्देश नजाने भन्दै फोहरको ब्यवस्थापन गर्नुपर्ने, नगरभित्र बसपार्क निर्माणको काम सुरु गर्नुपर्ने, पिपरा अस्पताल प्रति जनगुनासो बढेकाले यसको उचित ब्यवस्थापन गर्नुपर्ने, नगरभित्र रहेका भुसिया कुकुर ब्यवस्थापन गर्नुपर्ने, भूमिहिनलाई जग्गा दिन स्थानीयको सिफारिस आवश्यक पर्ने भएकाले वास्तबिक भूमिहिनको पहिचान गर्नुपर्ने, नगरभित्र प्राकृतिक स्रोत साधनको दोहन बढेकाले यसको नियन्त्रण गर्नुपर्ने, वन अतिक्रमण रोक्नुपर्ने लगाएतका सुझाव दिनुभएको थियो ।

सहभागीको सुझावलाई सम्बोधन गर्दै नगर उपप्रमुख चक्र अर्यालले लामो समयदेखि फोहर ब्यवस्थापन गर्न नसक्दा आलोचना खेप्दै आएको भन्दै यसको ब्यवस्थापनका लागि कोसिस जारी राखेको बताउनुभयो ।

नगरपालिका यसै आर्थिक वर्ष भित्रै फोहर ब्यवस्थापन गर्नेगरी लागेको भन्दै यसको दीर्घकालिन समाधान तर्फ केन्द्रित भएको बताउनुभयो । सहभागीले राख्नुभएका विभिन्न सुझावलाई ग्रहण गर्दै जाने भन्दै उप-प्रमुख अर्यालले अब २ महिना भित्रै १ सय प्रतिशत बजेट खर्चगर्नेगरी काम गर्ने बताउनुभयो ।

गत वर्ष कोभिडको समयमा पनि ९२.६४ प्रतिशत खर्च गरिएकाले यस वर्षपनि समयमै काम सम्पन्न हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो । कार्यक्रम मेयर थारुको अध्यक्षता, नगरपालिकाका प्रवक्ता विष्णु पौडेलको स्वागत मन्तब्य र केशब भट्टराईको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७ बिहिबार ००:००  ६ : ०७ बजे