स्थानीय सरकार संघीयताको प्रमुख जग होः विष्णु पन्थी


मायादेवी अनलाइन, चार नम्बर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कपिलवस्तु अध्यक्ष तथा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले संघीयताको मजबुत आधार भनेको स्थानीय सरकार रहेको बताउनुभएको छ । स्थानीय सरकारलाई बलियो नबनाउदासम्म संघीयता मजबुत हुन नसक्ने भन्दै नागरिक समाजको रचनात्मक सुझाव निरन्तर आवश्यक हुने बताउनुभयो ।

लुम्बिनी प्रदेशका विभिन्न गैरसरकारी संघ संस्थाको आयोजनामा वाणगंगामा राखिएको स्थानीय सरकार–नागरिक समाज सहकार्य विशेयक संवाद कार्यक्रममा बोल्दै अध्यक्ष पन्थीले नेपालमा नागरिक समाजको भूमिकाको खुलेरै प्रशंसा गर्नुभयो ।

दुई तिहाईको सरकारले ल्याएको गुठी विधेयकलाई नागरिक समाजको आन्दोलनले निष्कृय पारेको स्मरण गर्दै नेपालमा नागरिक समाज बलियो छ भन्ने प्रमाण यही भएको उल्लेख गर्नुभयो ।

निर्मला पन्तको हत्यारा पक्राउ गर्न नागरिक समाजले निरन्तर दबाव दिएपछि सरकारले निर्दोष व्यक्ति समातेर काम सफल पारेको भन्ने देखाएपनि नागरिक समाजको निरन्तर दबावले निर्दोश व्यक्ति छुट्न सफल भएको उहाँले उदाहरण पेश गर्नुभयो ।

नागरिक समाजले निभाएको भूमिकाको प्रशंसामा समय खर्चनु भएका सांसद पन्थीले स्थानीय सरकार फेल भए सिंगो मूलुकको सिष्टम नै फेल खाने जिकिर गर्नुभयो ।

‘घरको सुन्दरताले सबैको मन लोभ्याए पनि त्यसको जग राम्रो छैन् भने कुनै बेला भत्कन सक्छ, उहाँले भन्नुयो, अहिलेको संघीय व्यवस्थामा स्थानीय सरकार त्यही जग हो ।’

नागरिक समाजलाई जति बलियो बनाउन सक्यो त्यति नै बढी लोकतन्त्र सुदृढ हुने भन्दै स्थानीय पालिकाले नागरिक समाजको महत्व बुझ्न जरुरी रहेको उहाँ औल्याउनुभयो ।

तीनै तहको सरकारको ध्यान अहिले बाटो निमार्णमा मात्र केन्द्रीत रहेको बताउँदै नागरिक समाज र स्थानीय सामाजिक सघं सस्ंथाहरुलाई बलियो र व्यवस्थित रुपमा संचालन गर्न बजेट विनियोजन गरी सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

बुद्धभूमि नगरपालिकाका उप–प्रमुख मिरा थारुले बोल्दै स्थानीय सरकार र नागरि समाजको सम्बन्ध सुमधुर रहेको बताउनुभयो । थारुले आफ्नो नगरपालिकाले लैंगिक हिंसा न्यूनिकरणका लागि लैंगिक हिंसा विरुद्ध कार्यविधि समेत पारित गरिसकेको जानकारी गराउनुभएको थियो ।

साथै उहाँले नागरिक सवालका विषयमा पत्रकारहरुले समेत सकरात्मक समाचार सम्प्रेषण गर्नुपर्ने औल्याउनुभयो ।

मायादेवी गाउँपालिकाका उपाध्यक्ष गिता तिवारीले सकरात्मक विकासका लागि सबै क्षेत्रमा महिला प्रतिनिधित्व बढाउनु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै पोमनारायण पौडेलले समाजको विकास र रुपान्त्रण, समृद्धी र शुशासनमा नागरिक समाजको अहम भूमिका रहने भएकाले नैतिक रुपमा सबैजना जवाफदेही हुनु पर्ने औल्याउनु भएको थियो । उहाँले सरकारले निती निमार्ण गर्दा गैरसरकारी सघं संस्थाहरुलाई व्यवस्थित र शुसासित तरिकाले अगाडी बढाउने किसिमका हुनेपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा आई जी डी का अध्यक्ष मुक्ति रिजाल, सी एस जी टीका अध्यक्ष धर्मराज पन्थी, कपिलबस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, महिला अधिकारकर्मी चेतना अधिकारी, पार्वती आचार्य लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा अधिवक्ता टुक बहादुर थापा र पत्रकार मनोज पौडेलले स्थानीय सरकार र नागरिक समाजको सहकार्य कसरी प्रभावकारी बनाउन सकिन्छ लगायतका विषयबस्तुमा सहजिकरण गर्नुभएको थियो ।

सुशासन तथा विकासका लागि संस्था आई जि डी को आयोजना र सुशासन तथा सामाजिक रुपान्तरण केन्द्र कपिलबस्तु सी जि एस टी को सह–आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । आई जि डी का अध्यक्ष मुक्ति रिजालको अध्यक्षता, सी जि एस टी का कृष्ण घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस