१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कपिलवस्तुमा बेल्बासेको अध्यक्षतामा बन्यो फोटोग्राफरहरुको ‘क्षेत्रगत समिति’



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुमा लुम्बिनी फोटोग्राफर संघको क्षेत्रगत समिति बनेको छ । बाणगंगा नगरपालिका वडा नम्बर ४ स्थित पिस हिमालय रिसोर्टमा शनिबार भएको एक कार्यक्रमका बीच रामचन्द्र बेलबासेको संयोजकत्वमा फोटोग्राफरहरुको ७ सदस्यीय क्षेत्रगत समिति बनेको हो ।

जसको सचिवमा कर्ण बहादुर तिवारी (कुमार) र कोषाध्यक्षमा प्रकाश चौधरी सर्वसम्मत चयन हुनु भएको छ । यसैगरी सदस्यमा लेखनाथ पौडेल, रिता अधिकारी, कृष्ण खनाल र प्रेम बहादुर रहनु भएको छ । नयाँ समितिले कपिलवस्तुमा सक्रिय फोटोग्राफर र भिडियोग्राफरको हक र हितको लागि काम गर्ने अध्यक्ष बेलबासेले बताउनु भयो ।

सर्वसम्मत चयन भएको समतिलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष मनिश पन्थले शुभकामना र बधाई दिनु भएको थियो । उहाँले समितिले अब थप जिम्मेवार भएर काम गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

एकै फोटोले संसारमा धेरैलाई चर्चित बनाएको र बदनाम पनि बनाएकोले फोटोमा धेरै अर्थ हुने उहाँले बताउनु भयो । उहाँले फोटोग्राफीमा लाग्ने व्यक्तिहरु पनि पत्रकार भएको भन्दै पत्रकारितामा पनि राम्रो सम्भावना रहेको औँल्याउनु भयो ।

विशिष्ट अतिथि कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छवी रेश्मीले फोटोग्राफरहरुले पेशालाई ब्यवसायिक र मर्यादित बनाउनु पर्ने बताउनु भयो । जे पेशा गरिन्छ त्यसमा आत्मैदेखि लागेमा असफलता भन्ने नहुने बताउँदै मनदैखि फोटोग्राफीमा लाग्न उहाँको सुझाव छ । उहाँले संघले सुरु गरेको समय आन्दोलनलाई सबैले पालना गरेमा देश विकास हुने बताउनु भयो ।

रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेले फोटोग्राफीको विश्वमा भएको अवसर र सम्भावनाबारे बताउनु भयो । अहिले विश्वभर फोटोग्राफीमा युवायुवतीको आकर्षण बढेकाले व्यवसायिक बनेमा एउटै फोटो करोडौँमा विक्ने अवस्था भएको बताउँदै उहाँले सबैलाई ब्यवसायिक बन्न आग्रह गर्नुभयो ।

पत्रकारिता क्षेत्रमा पनि फोटोपत्रकाहरुको संख्या बढ्दै जानुले यसको महत्व बढेको उहाँको भनाई छ । कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिले फोटो खिचेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

No description available.

यसैबीच शनिबार नै एक दिने फोटोग्राफी तालिम पनि सम्पन्न भएको छ । वरिष्ठ फोटो पत्रकार तथा गायक दीपक श्रेष्ठले आधारभूत फोटोग्राफीको बारेमा तालिम दिनुभएको थियो । तालिममा जिल्लाभरका २ दर्जनबढी फोटो पत्रकारको सहभागिता थियो । समितिका अध्यक्ष बेलबासेको अध्यक्षता, सचिव कर्ण बहादुर तिवारी (कुमार)को संचालन तथा लेखनाथ पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७ शनिबार ००:००  ५ : ४७ बजे