७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

पुनर्स्थापनापछिको पहिलो संसद् बैठक आजः यस्तो छ कार्यसूची



काठमाण्डौँ ।
सरकारको नेतृत्व गरिरहेको नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि सुरु हुँदैछ ।

संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक २३ फागुन अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् ।

सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापनाको आदेशानुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन बस्न लागेको हो । यसअघि नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा प्रतिनिधिसभा भङ्ग गरी निर्वाचनको घोषणा गरेका थिए ।

संघीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच छ महिनाभन्दा बढी समय खाली हुन नहुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको छैटौँ अधिवेशन गत १७ असारमा अन्त्य भएको थियो । राष्ट्रियसभाको सातौँ अधिवेशन भने १७ पुसमा नै आह्वान भई केही दिन चलेपछि अन्त्य भएको थियो ।

नेपालको संविधानले स्थायी, प्रबुद्ध समूहको प्रतिनिधित्व रहने माथिल्लो सदनका रूपमा राष्ट्रियसभा र तल्लो सदनका रुपमा रुपमा प्रतिनिधिसभा रहने व्यवस्था गरेको छ ।

अधिवेशन सञ्चालन गर्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड, प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । सचिवालयले गत पुसमै अधिवेशनका लागि आवश्यक तयारी गरिसकेकाले अहिले सामान्य सरसफाइ र कोभिड–१९ निःसङ्क्रमणको व्यवस्थापन गरेको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७ आइतबार ००:००  ६ : २१ बजे