११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

क्रिकेट रंगशालाको लागि बुद्धभूमिले गर्‍यो करिब ७ लाख सहयोग, भावुक भए धुर्मुस



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले धुर्मुस–सुन्तली फाउण्डेसनको लागि करिब ७ लाख सहयोग गरेको छ । चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम पुरा गर्न भन्दै सोमबार विहान नगरपालिकाले ६ लाख ८१ हजार ८ सय ४६ रुपैयाँ सहयोग गरेको हो । नगर प्रमुख केशव कुमार श्रेष्ठले सो रकमको चेक फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई हस्तान्तरण गर्नु भएको थियो ।

मुलुककै अहिलेसम्मको ठुलो योजनाको रुपमा रहेको रंगशाला निर्माणमा रकम अपुग भएपछि फाउण्डेसन अहिले महाकाली–मेची अभियानमा छ । सोही क्रममा कपिलवस्तुमा रकम संकलन गर्ने क्रममा नगरले बोलाएपछि फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुससहितको टोली कार्यालयमा पुगेको थियो ।

सहयोग हस्तान्तरण गर्दै नगर प्रमुख श्रेष्ठले चितवनको रंगशाला सबै नेपालीको ठानेर सहयोग गरिएको बताउनु भयो । मानिस जन्मेपछि मर्नै पर्दछ । तर बाँचुञजेल कसले के गर्छ ? त्यो महत्वपूर्ण भएको भन्दै धुर्मुस सुन्तलीले मुलुकले विर्सनै नसक्ने गुन लगाउने काम गरेको श्रेष्ठले बताउनु भयो । नगरको यो सानो सहयोग रहेकोमा भावि दिनमा पनि सहयोग गर्ने उहाँको वचन छ ।
रकम ग्रहण गर्दा धुर्मस भने भावुक बन्नु भएको छ ।

महाकाली मेची अभियानको दौरानमा बुद्धभूमिले गरेको यो अहिलेसम्मकै ठुलो रकम भएको भन्दै धुर्मस भावुक बन्नुभयो । उहाँले आफूहरु रंगशाला निर्माणमा लाग्दा ब्यक्तिगत र पारिवारिक रुपमा धेरै गुमाएको सुनाउदा उहाँका आखामा आँसु टिल्पिलाएका थिए ।उहाँले भन्नुभयो–‘अभियानमा लाग्दा मेरी छोरीलाई दिनुपर्ने माया पनि मैले दिन सकिनँ । घर बिर्सेँ । अभियानमा जोडिएको ७ बर्ष हुन आँटेछ । कलाकारिता पछि छोड्यौँ । हामी विगार्न हिँडेका होइनौँ बनाउन हिँडेका हौँ । यो रंगशाला मैले बनाएँ भन्दिनँ । सबै नेपाली दाजुभाइ दिदीबहिनीको साझा प्रयासबाट ऐतिहासिक काम हुँदैछ । अरु सुखदुखका कुरा पछि भन्ने छु ।’ बुद्धभूमि नगरले गरेको सहयोग ७७ जिल्लाको पहिचान समेटिएको कक्ष बनाउने क्रममा कपिलवस्तु कक्षमा पर्नेसमेत उहाँले जानकारी दिनुभयो ।

देशभरका स्थानीय सरकारलाई बुद्धभूमिले सन्देश दिएको भन्दै धेरै खुसी ब्यक्त गर्नुभयो ।उहाँले अब बढीमा २ बर्षभित्रमा रंगशाला निर्माण सम्पन्न हुने बताउनु भयो । अहिले ३० हजार दर्शक अटाउने गरी रंगशालाका काम भएको बताउँदै पिच लगायतका काम अन्तर्राष्ट्रिय मापदण्डमा बनेको जानकारी दिनुभयो । बुद्धभूमि नगरपालिकाले जस्तै अरु ७५२ स्थानीय तहले यसैगरी रकम सहयोग गरेमा यसरी भौतारिन पर्ने अवस्था नआउने उहाँको भनाई छ ।

नगरका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले धुर्मसलाई राष्ट्र निर्माता भन्दा पनि फरक नपर्ने बताउनु भयो । उहाँहरुले गरेको कार्य मुलुककै उत्कृष्ट कार्य रहेको भन्दै प्रसंसा गर्नुभयो । नगरका कर्मचारीको एक दिनको तलव, नगर कार्यपालिकाको एक दिनको वैठक भत्ता र नगरको कोषबाट सो सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । सो हस्तान्तरण कार्यक्रम नगरको कर्मचारी मिलन केन्द्रले गरेको थियो । कार्यक्रमको संचालन लेखा अधिकृत रामप्रसाद भट्टराईले गर्नुभएको थियो ।

हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) र अभियान्ता अर्जुन भुसालले बुद्धभूमि नगरपालिकाले साँच्चै नामजस्तै काम गरेको बताउदै मेयर केशव कुमार श्रेष्ठलाई फाउण्डेसनले कहिल्यै नबिर्सने बताउनु भयो ।

May be an image of 15 people, people standing and road

कार्यक्रममा नगर उपप्रमुख मिरा थारु, कर्मचारी, वडाध्यक्षहरु, समाजसेवी, पत्रकार लगायतको सहभागिता थियो । सोही कार्यक्रममा बुद्धभूमि वडा नम्बर ४ का समाजसेवी टेकराज पौडेलले नगद रु १० हजार सहयोग गर्नु भएको छ । उहाँले यसअघि पनि रंगशाला निर्माणमा २ लाख सहयोग गरिसक्नु भएको थियो । त्यसअघि शिवराज नगरपालिकाको चन्द्रौटा लगायतको स्थानबाट साढे २ लाख जति रकम संकलन भएको थियो । मेयर नेत्रराज अधिकारी लगायतको टोलीले रकम संकलनको लागि सहयोग गर्नुभएको थियो ।

May be an image of 8 people, people standing and people sitting

यसैगरी गजेहडा भूपु सैनिक खानेपानी संस्था बाणगंगा १ ले पनि १० हजार सहयोग गरेको छ । सोमबार रेडियो मायादेवीको कार्यालयमा आएर खानेपानीका अध्यक्ष राजेन्द्र वीक्रम शाहले सो रकम धुर्मुसलाई हस्तान्तरण गर्नु भएको थियो ।

No description available.

प्रकाशित मिति : २३ चैत्र २०७७ सोमबार ००:००  २ : ४० बजे