१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

अनि भर्ना हुन्छन् ‘कपिलवस्तु सामुदायिक अस्पताल’ मा !



कविता

कपिलवस्तु जिल्लाकै
सबैभन्दा समृृद्ध बाणगंगा
हाम्रो बाणगंगा
राम्रो राम्रो बाणगंगा
सफा बाणगंगा
सुग्घर बाणगंगा
स्वच्छ बाणगंगा
हराभरा बाणगंगा
सुन्दर बाणगंगा

तर त्यही सुन्दरताको
फेँदीमा बसेर
फोहर नामक मान्छेले
रातदिन गिज्याइरहेको छ, उसैलाई
खित्का छोडिरहेको छ
बाणगंगा पुलको तटमा बसेर
त्यही बाटो, रातदिन
मेयरउपमेयरका गाडीहरु
सांसदका गाडीहरु
मन्त्रीका गाडीहरु
ठुलाठुला नेताका गाडीहरु
कुदिरहेका हुन्छन्
लामवद्ध भएर

उहाँहरुको नाकले
क्यै भेउ पाउँदैन
आँखाले देख्दैनन्
ती मान्छेलेलाई
हस्को आएको पनि रत्ति थाहा हुँदैन
किनकि
सेतो चिल्लो गाडीमा छन्, तिनीहरु
कालो र रंगिन सिसाले
छोपिएका छन् ती गाडीहरु
र त्यो गन्धको सुगन्ध
थाहा पाउँदैनन्
ती ठुलाठुला नाकहरुले

तर विडम्बनाको कुरो
त्यहीबाटो
कैयौँ भोकका भित्ताहरु
कोही पाइदलमा
कोही साइकलमा
सुस्केरा हाल्दै कुदिरहेका हुन्छन्
मिर्मिरेमा
सन्ध्यामा
रात्रीमा
अनि एक्कासी आउँछ
ह्वास्स
त्यही गन्धको हस्को
चाहेर पनि
नचाहेर पनि
त्यो गन्धको सुगन्धलाई
ती भोका साना नाकहरुले
नमजाले
लिनै पर्ने बाध्यता छ
त्यही बाध्यतापछि
साँझ ती गरिब नाकहरुको पेट दुख्छ
टाउको दुख्छ
उनीहरुलई चक्कर आउँछ
आउँछन् धेरै कुरा
र अन्त्यमा
छेरौटी लाग्छ
अनि भर्ना हुन विवस हुन्छन् !
कपिलवस्तु सामुदायिक अस्पतालमा

चन्द्रकान्त न्यौपाने, बाणगंगा ४, कपिलवस्तु ।

प्रकाशित मिति : २८ चैत्र २०७७ शनिबार ००:००  १ : ४२ बजे