२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

परीक्षा स्थगनबारे बाणगंगाले मन्त्रीपरिषद्को निर्णय कुर्‍यो



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा पूर्वनिर्धारित परीक्षा नरोकिने भएका छन् । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्न सरकारलार्ई सिफारिस गरे पनि मन्त्री परिषद्को निर्णय अझै नआएकाले परीक्षा नरोकिएको बताइएको छ ।
नगरका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख (उपसचिव)बाबुराम भट्राईले भोलिको परीक्षाको विषयमा मन्त्रीपरिषद्को निर्णय कुरेको बताउनु भयो । उहाँले भन्नुभयो ‘हिजोबाट सुरु भएका परीक्षा आज चले, सिसिएमसीको सिफारिस सरकारले मन्त्रीपरिषद्बाट पारित गरे भोलिदेखि परीक्षा पनि बन्द हुन्छन् नभए भोलि पनि परीक्षा चल्छन् ।’ संघिय सरकारले यो निर्णय गर्ने अधिकार स्थानीय सरकारलाई प्रत्यायोजन गरेअनुसार नगर अगाडी बढेको उहाँको भनाई छ । उहाँले एकदुई दिनमा बाणगंगाका सबै परीक्षा पनि सकिने भएकाले धेरै आत्तिन नहुने बताउनु भयो ।
परीक्षा भए पनि सामाजिक दुरी कायम गरी सवास्थय मापदण्डमा भएको बताउँदै उहाँले कोरोनाविरुद्ध सचेतना अपनाई ख्याल गर्र्नै सबैलाई अनुरोध गर्नुभयो । यता नगरले स्पष्ट निर्णय नगर्दा बाणगंगाका विद्यालय पनि द्धिविधामा रहे । विद्यालहरु नगरले जे निर्णय गरे पनि स्विकार्ने पक्षमा भए पनि त्यस्तो बोल्ड निर्णय नआएको जनता मावि पिपराका प्रधानाध्यापक रमेश पन्थीले बताउनु भयो ।
सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको विहानी कार्यक्रम समय संवादसंग आज विहान कुरा गर्दै नगरले परीक्षा नरोक्न भनेकाले आफूहरु परीक्षा चलाउनुपर्ने स्थितिमा रहेको बताउनु भएको हो । उहाँलेअहिले विद्यालय बन्द गर्दा कुनै फरक नपर्ने बताउँदै विद्यार्थीको स्वास्थ्यभन्दा ठुलो परीक्षा नभएको बताउनु भयो । अभिभावकले विद्यार्थी नपठाएमा त्यसलाई लिएर परीक्षा र मुल्यांकनमा तलमाथि गर्न नहुने उहाँको भनाई छ । नगरको विपद् व्यवस्थापन समितिको वैठकले आइतबार परीक्षा सकेर मात्र विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
यता अभिभावकले भने स्थिति डरलाग्दो भए पनि विद्यार्थी स्कुल पठाउन बाध्य भएको बताएका छन् । विद्यालयमा धमाधम परीक्षा चलिरहेकाले पठाउँदिन भन्दा भन्दै पनि पठाउनु परेको बाणगंगा ४ का अभिभावक खिम प्रसाद शर्माले बताउनु भयो । यता कपिलवस्तुको शिवराज र महाराजगंज नगरपालिकाका विद्यालय बन्द छन् । सरोकारवालाले कोरोनाको जोखिम उच्च भएकाले विद्यालय बन्द गर्नु पर्ने बताएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७८ सोमबार ००:००  ७ : १३ बजे