४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

कपिलवस्तुमा जुनसुकै बेला निशेधाज्ञा जारी हुन सक्छ, तयार हुनुहोलाः प्रजिअ पाण्डे (वार्ता)



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले कपिलवस्तुमा जुनसुकै बेला निशेधाज्ञा जारी हुन सक्ने बताउनु भएको छ । कोरोनाको दोश्रो लहरमा भेरियन्ट भाइरसको संक्रमण दिन प्रतिदिन बढिरहेको र त्यसको प्रभाव कपिलवस्तुमा परेको हुनाले त्यसको नियन्त्रण र रोकथामको लागि जिल्लामा जुनसुकै बेलामा निशेधाज्ञा हुन सक्ने बताउनु भएको हो ।

सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम समय संवादसंग बुधबार विहान अन्तर्वार्ता दिँदै उहाँले सर्वसाधारणदेखि सरोकारवालाले पनि निशेधाज्ञा गर्नु पर्ने राय राखेको बताउनु भयो ।

स्वास्थ्य मन्त्रालयले पनि ५०० र २०० बढी संक्रमित हुने जिल्लाहरुमा स्थानीय प्रशासनले आफू अनुकुल निर्णय गर्न सक्ने अधिकार दिएकाले जिल्लामा अहिले २०० बढी सक्रिय संक्रमित रहेको र मृतकको संख्या पनि बढेकाले चाँडै यो अवस्था आउन सक्ने भन्दै तयारी अवस्थामा रहन जिल्लाबासीलाई उहाँको अनुरोध छ ।

उहाँले भन्नुभयो “अहिले विद्यालय हाट बजार बन्द छन्, पार्टी प्यालेस बन्द छन्, भीँडभाड हुने ठाउँमा कडाई छ, यो एक प्रकारको लकडाउन जस्तै हो, आवश्यक पर्ने वित्तिकै प्रशासनले अर्को निर्णय गर्छ । जिल्लाबासीको जिउ जोगाउन प्रशासन गैरजिम्मेवार बन्दैन । जिल्लाबासीलाई अनुरोध गर्दछु ।”

भारतसंगको नाका भएकाले भारतबाट आउनेको संख्या पनि बढेको भन्दै उनीहरुको सिमानामा भएका हेल्थ डेस्कबाट जाँच भएको, कृष्णनगरमा होल्डिङ सेन्टर नै बनेकाले आत्तिहाल्नु पर्ने स्थिति नरहेको उहाँले बताउनु भयो । यद्यपी प्रत्येक पालिकाले भारत या अन्य मुलुकबाट आफ्नो ठाउँमा आउनेहरुमाथि सतर्क रहन, तथ्यांक संकलन गर्ने, संक्रमित पाइए कन्ट्याक ट्रेसिङ गर्न भने अनुरोध गर्नुभयो ।

कोरोनाको पहिलो लहरमा प्रत्येक पालिकामा क्वारेन्टाइन र आइसोलेसन बनेकाले अब तुरुन्त पालिकाहरुले तिनलाई सुचारु गर्ने गरी छलफल भइसकेको समेत उहाँले बताउनु भयो । अक्सिजन, भेन्टिलेटरको ब्यवस्था गर्न पनि आफूले प्रयास गरिरहेको समेत प्रजिअ पाण्डेले जानकारी दिँदै यसमा जिल्ला कमजोर नै रहेको बताउनु भयो । धेरै कुराको असुविधा रहेको भन्दै आफूहरुले हदैसम्म प्रयास गरिरहेको उहाँले बताउनु भयो ।

सरकारले के गर्यो ? पुलिसले के गर्यो ? प्रशासनले के गर्यो भन्न भन्दा पनि मैले के गरेँ, के गरिरहेको छु ? यसमा ध्यान दिन अनुरोध गर्दै स्वास्थ्य सावधानी अपनाउन अधिकारीको आग्रह छ । भिँडभाड नगर्ने, आवश्यक कामभन्दा बाहिर नजाने, बाहिर जानै परे मास्क अनिवार्य प्रयोग गर्ने, तातो पानी खाइरहने गरेमा यस भाइरसबाट बच्न सकिने बताउँदै स्वास्थ्य मापदण्डको पालना नगर्नेमाथि प्रशासनले कडा कारबाही गर्ने उहाँले चेतावनी दिनुभयो ।

अहिलेसम्म कपिलवस्तुमा कोरोनाको कारण मृतकको संख्या ३८ पुगेको छ । यो हप्ता मात्रै नयाँ भाइरसबाट ७ जनाले ज्यान गुमाइसकेका छन् । २० सय बढी संक्रमित छन् । यस्तो स्थितिमा लकडाउन या निशेधाज्ञा जारी गरिहाल्नु पर्ने सरोकारवालाले पनि बताउन थालेका छन् ।

तलको लिंकमा अन्तर्वार्ता सुन्नुहोस् ।

प्रकाशित मिति : १५ बैशाख २०७८ बुधबार ००:००  ७ : ४९ बजे