१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

आर्थिक संकटमा कपिलवस्तु अस्पताल, कोरोनाको उपचारमा पनि राजनीति हावी ! (अन्तर्वार्ता)



मायादेवी अनलाइन, चारनम्बर ।

जिल्लाको एक मात्र सुविधा सम्पन्न कपिलवस्तु अस्पताल तौलिहवा अहिले आर्थिक संकटले गुज्रिएको छ । एकातर्फ कोरोना संक्रमितको उपचार गर्नु पर्ने र अर्कातर्फ नियमित सेवा पनि रोक्न नहुने स्थिति भएपछि अहिले अस्पतालमा गहिरो आर्थिक संकट देखिएको हो ।

सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको नियमित कार्यक्रम समय संवादसंग शुक्रबार विहान कुराकानी गर्दै अस्पतालका मेडिकल सुपरिडेण्डेन्ट किशोर बञ्जाडेले आर्थिक समस्याका कारण अहिले अस्पतालमा अक्सिजन पिपिई, मास्क जस्ता अत्यावश्यकीय स्वास्थ्य सामग्रीको पनि अभाव भएको बताउनु भयो ।

कोरोनाको दोश्रो लहरमा विरामीले अस्पतालका वेड भरिएको भन्दै अहिले भुँइमा राखेर पनि उपचार गर्नु पर्ने स्थिति रहेको डाक्टर बञ्जाडे बताउनु हुन्छ । कोरोनाको यस महामारीमा जिल्ला अस्पतालमा यसरी आर्थिक संकट सिर्जना गराउनुमा यहाँको सरकार दोषी रहेको उहाँको भनाई छ ।

अस्पतालको आफ्नो श्रोत केही पनि छैन उहाँले भन्नुभयो, ‘भएको पनि अस्पतालको स्तरोन्नति गर्दा र सेवा सुविधा बढाउँदा सकिएको छ । कोरोना संक्रमणको बेला गत बर्ष जिल्लाका पालिकाहरुले ६ ६ लाख दिने डिसिसिएमसीको वैठकमै कुबल गरेका थिए । तर अहिलेसम्म कुनै पालिका (१०) ले एक रुपैयाँ पनि दिएका छैनन् । त्यो झुटा आश्वासन किन दिएको त्यतिबेला ?’

उहाँले भन्नुभयो, ‘यसो हुनुमा राजनैतिक लडाई प्रमुख कारण हो । सांसद, नेतादेखि स्थानीय सरकारका प्रमुख, उपप्रमुखहरु यस्तो बेला पनि अस्पतालमा राजनीति गर्दै हुनहुन्छ । यसले उहाँहरुलाई फाइदा त होला तर जनताले सेवा पाउँदैनन् । दुख पाउँछन् ।’

उसो भए अस्पतालमा चरम राजनीति हावी छ भन्ने प्रश्नमा उहाँले समर्थन जनाउनु भएको हो । उहाँले आफूहरु रातदिन कोरोना संक्रमित विरामी र अरु विरामीमा खटिए पनि उत्साह दिने काम कसैबाट नभएको बञ्जाडेले बताउनु भयो ।

अहिले स्वास्थ्यकर्मीहरु ३ सिफ्टमा बाँडिएर अहोरात्र काम गरे पनि पिपिइसमेत नपाउँदा जोखिममा रहेको बञ्जाडेको भनाई छ । ‘स्वास्थयकर्मीले भत्ता समेत नलिइ काम गरेका छन् । दरबन्दी अनुसार स्थायी कर्मचारी छैनन् । करारमा काम गर्नु परेको छ । जिल्ला अस्पतालको यो हालत हुनु लज्जास्पद हो’, उहाँले थप्नु भयो ।

जिल्लाबासीको लागि सहज होओस् भनेर अहिले पिसिआर जाँच पनि जम्मा १ हजारमा गरिए पनि कसैले नबुझेको भन्दै उहाँले दुख ब्यक्त गर्नुभयो । यही पिसिआर जाँचको बुटवलमा २ हजार लाग्ने उहाँको भनाई छ । अस्पतालमा भर्खर आइसियू सेवा सुरु भएपछि खर्च बढेको बञ्जाडेले बताउनु भयो ।

कोरोनाको देश्रो लहर निकै खतरनाक भएकाले स्वास्थ्य सावधानी अपनाउन उहाँको विशेष आग्रह छ । अस्पतालमा पनि कोरोनाका विरामी भरिभराउ भएकाले कतिको अवस्था देख्दा निकै चिन्ताजनक रहेको उहाँले बताउनु भयो ।

औषधी नभएको रोगलाई अस्पतालले निको नपार्ने तर केही सहजता मात्र दिने भन्दै उहाँले घरमै सावधानी अपनाउनु, सामाजिक दुरी कायम गर्नु, भीँडभाडमा नजानु, मास्कको अनिवार्य प्रयोग गर्नु नै कोरोनाको उपचार रहेको बताउनु भयो ।

श्वासप्रश्वासमा बढी समस्या आउँदा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिन या अस्पताल जानसमेत उहाँले सुझाउनु भयो । श्वासप्रश्वासमा बढी समस्या आए बाँच्ने चान्स न्यून भएकाले उच्च सतर्कता अपनाउन उहाँको आग्रह छ । पुरा अन्तवार्ता सुन्नुहोस् तलको लिंकमा ।

प्रकाशित मिति : २४ बैशाख २०७८ शुक्रबार ००:००  ५ : ४० बजे