१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

वैशाख महिनामा मात्रै कोरोनाले १६ सयको ज्यान लियो, डेढ लाख संक्रमित थपिए



काठमाण्डौँ ।

वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । १ वैशाखसम्म कोरोना संक्रमितको संख्या तीन लाख सात हजार ९२५ थियो । सो संख्या बढेर आज चार लाख ३९ हजार ६५८ पुगेको छ । एक महिनाको अवधिमा मात्रै एक लाख ५८ हजार ७१ कोरोना संक्रमित थपिएका छन् ।

१ वैशाखमा एकैदिन कोरोनाबाट ६०३ जना संक्रमित भएकामा आज एकैदिन संक्रमितको संख्या आठ हजार ५२० पुगेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९४८ जनाको पीसीआर परीक्षण तथा ५३० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । १ वैशाखसम्म पीसीआर परीक्षण गराउनेको संख्या २२ लाख ३६ हजार ५२६ जना थियो भने आज सो संख्या बढेर २७ लाख ३३ हजार ५१० पुगेको छ । वैशाखमा मात्रै चार लाख ९६ हजार ९८४ जनाको पिसिआर परीक्षण गरिएको छ ।

वैशाख महिनामा कोरोनाबाट निको हुनेको संख्या ४९ हजार ४७ रहेको छ । कोरोना भाइरसबाट आजसम्म मुक्त हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ । उक्त संख्या वैशाख १ गते दुई लाख ७८ हजार ५०६ रहेको थियो ।

पछिल्लो २४ घण्टामा देशभर छ हजार १३५ संक्रमित निको भएर घर फर्किएका छन् । सक्रिय संक्रमितको संख्या देशभर ह्वात्तै बढेको छ । वैशाख १ गते सक्रिय संक्रमित चार हजार ५६ जना रहेकामा हाल उक्त संख्या बढेर एक लाख सात हजार ३३६ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर एक हजार ७०५ संक्रमितको आईसीयु र भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । एक हजार ३३४ संक्रमितको आइसियुमा तथा ३७१ संक्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।

सबैभन्दा बढी बागमती प्रदेशमा ५४२ संक्रमित आईसीयुमा तथा २२० संक्रमित भेन्टिलेटरमा छन् । काठमाडौं उपत्यकामा मात्रै १८५ संक्रमितको आईसीयुमा तथा १०५ संक्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।

काठमाडौं उपत्यकामा संक्रमित ह्वात्तै बढे

च्क्ष्त्श्क्जष्पजबच क्ष्लकगचबलअभ
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । १ वैशाखमा उपत्यकामा संक्रमितको संख्या २५४ रहेको थियो । सो संख्या हाल बढेर तीन हजार ३४९ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा दुई हजार ४५८, ललितपुरमा ५५६ तथा भक्तपुरमा ३३५ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

वैशाखमा एक हजार ६०८ जनाले ज्यान गुमाए

वैशाखमा मात्रै कोरोनाबाट एक हजार ६०८ जनाले ज्यान गुमाएका छन् । वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा आज सो संख्या बढेर चार हजार ६६९ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट २०३ ले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । वैशाख १ गते तीन संक्रमितको मृत्यु भएको थियो । वैशाख १४ गते एकैदिन १८ जनाको मृत्यु भएको थियो । रासस

प्रकाशित मिति : १ जेष्ठ २०७८ शनिबार ००:००  ६ : ५१ बजे