रुपन्देहीको अक्सिजन प्लान्टमा आजबाट सेना परिचालन गरिने


रूपन्देही । जिल्लामा अक्सिजन सिलिन्डर वितरण व्यवस्थित गर्न शनिबारबाट सेना परिचालन गरिने भएको छ । अक्सिजन प्लान्टमा प्रहरी तैनाथ हुँदै गरेकामा जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायसहितका सरोकारवालाको शुक्रबार बसेको बैठकले अब सेना परिचालन गर्ने निर्णय गरेको हो ।


‘अक्सिजनको उत्पादन र वितरण प्रक्रिया सहज गर्न सेना परिचालन गर्न लागिएको हो,’ प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने 

जिल्लामा शंकर अक्सिजन ग्यास प्रालि छिपागढ, लुम्बिनी अक्सिजन ग्यास इन्डस्ट्रिज पडसरी र लुम्बिनी अक्सिजन ग्यास प्रालि तिलोत्तमाले अक्सिजन उत्पादन गर्दै आएका छन् । ती उद्योगले दिनमा १ हजार १ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गरिरहेका छन् । बढ्दो मागका कारण सबै अक्सिजन प्लान्टमा लामो लाइन लाग्ने गरेको छ । खाली सिलिन्डर बोकेर अस्पताल, स्थानीय पालिकाका कर्मचारी र संक्रमितका आफन्त दिनरात लाइन लाग्ने गरेका छन् । सिलिन्डर भरिनेबित्तिकै खोसाखोस हुने गरेको छ ।

भारतबाट ५ सय सिलिन्डर लिक्विड अक्सिजन शुक्रबार बिहान भैरहवा ल्याइएको छ । ल्यान्ड इन्डिया लिमिटेड झारखण्डबाट शंकर अक्सिजन ग्यास प्रालिको यहाँस्थित फर्मले अक्सिजन आयात गरेको हो । केही दिनअघिसम्म भारतले अक्सिजन निर्यातमा रोक लगाएको थियो । यसबारेमा सरकारले भारतसित कुरा गरेपछि नेपालका लागि निर्यात खुला गरिएको थियो । एक साताअघि नेपालगन्ज नाका हुँदै एक ट्यांक लिक्विड अक्सिजन भित्रिएको थियो । मुलुकमा अभाव हुन नदिन सरकारले अक्सिजनको आयातमा भन्सार छुट गरेको छ ।

भारतबाट ल्याइएको अक्सिजन शंकर ग्यास अक्सिजन प्रालिको रूपन्देहीको छिपागढस्थित प्लान्टबाट सिलिन्डरमा भरिनेछ । प्रालिका सञ्चालक शंकरलाल अग्रवालले अक्सिजन ढुवानी गर्ने ट्यांकको अभावले चाहेको परिमाणमा भारतबाट आयात गर्न नसकिएको बताए ।

यसैबीच, रूपन्देहीमा थप दुई अस्पतालले कोरोना संक्रमितको उपचार गर्न थालेका छन् । देवदह मेडिकल कलेजले शुक्रबार र बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल ९आम्दा०ले बिहीबार संक्रमितको उपचार गर्न थालेका हुन् । यसअघि संक्रमितको उपचार गरिरहेका तीनवटा अस्पतालमा बिरामी भरिभराउ छन् ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस