७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

बंगलादेशबाट आयो ३२ हजार ५ सय मेट्रिकटन मल



वीरगञ्ज ।
बंगलादेशबाट खरिद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ। सरकार–सरकारबीच (जीटूजी) मार्फत् रासायनिक मल खरिद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो।

जीटूजी सम्झौता अनुसार बंगलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ। तीमध्ये बाँकी रहेको १७ हजार ५ सय मेट्रिकटन युरिया मल आउने क्रममा रहेको सो कार्यालयका प्रबन्धक गोरखनाथ केसीले बताए। बाँकी रहेको मल कोलकत्ता बन्दरगाहको बाटो गरी रेलमार्गबाट वीरगञ्जको सिर्सियास्थित सुख्खाबन्दरगाह भन्सार कार्यालयमा आउनेछ।

सम्झौता अनुसार हालसम्म नेपाल सरकारले सबै मल प्राप्त गरी सक्नु पर्नेमा अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन ढिलाई भएको प्रबन्धक केसीले बताए। उनका अनुसार बाँकी रहेका मल छिटै नै उपलब्ध गराउन नेपाल सरकार तथा बंगलादेशस्थित नेपाली दूतावासले प्रयास गरिरहेको छ। सरकारले धानको सिजनमा मलको अभाव हुन नदिन बंगलादेशबाट ५० हजार मेट्रिकटन मल ल्याउन लागिएको हो।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा अहिले युरिया मल २ हजार ७ सय मेट्रिकटन, डिएपी एक हजार ४ सय २ मेट्रिकटन र पोटास एक हजार २ सय ८० मेट्रिकटन मौज्दात अवस्थामा रहेको छ। मौज्दात रहेको उक्त मलले पहिलो चरणको धान खेतीका लागि पर्याप्त हुने देखिन्छ। पर्सा जिल्लास्थित १ सय ३१ थोक बिक्रेतामार्फत् सो मल किसानसम्म पुग्नेछ।

कार्यालयले थोक बिक्रेतालाई एक पटकमा एक सय ३० बोरासम्म मल दिने गरेको छ। बिक्रेताहरुले स्थानीय तहले तोकेको मूल्यमा किसानहरुलाई मल बिक्री गर्ने गरेका छन्। रासस

प्रकाशित मिति : २६ जेष्ठ २०७८ बुधबार ००:००  ४ : ०२ बजे