८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

जुवा अखडा बन्दै नेपालगञ्ज, प्रहरीकै सेटिङमा हुन्छ करोडौंको हारजीत



काठमाडौं ।
एक महिनाअघिसम्म लुम्बिनी प्रदेशको बाँके जिल्ला कोरोना संक्रमणको हब जस्तै बनेको थियो । हरेक दिन संक्रमितसँगै मृतकको संख्या समेत बढ्दै गएपछि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । तर अहिले भने जिल्लामा कोरोना संक्रमण क्रमशः घट्दै गएको छ ।

कोरोना संक्रमण घटिरहँदा यहाँ मिनि क्यासिनो शैलीका जुवा अखडा बढ्दै गएका छन् । प्रहरी र प्रशासनकै सेटिङमा यस्ता अखडा निर्धक्क सञ्चालन भइरहेको पाइएको छ ।

जिल्लामा हाल दैनिक दर्जन भन्दा धेरै जुवा अखडा सञ्चालन हुने गरेको स्रोत बताउँछ । नेपालगञ्ज र कोहलपुरमा विभिन्न ठाउँमा दैनिक करोडौंको हारजीत हुने गरेको छ । पुरानै जुवाडेहरुले सेटिङमा यस्ता मिनि क्यासिनो सञ्चालन गरेका छन् ।

नेपालगञ्जको सैनिक खजुरा क्षेत्रमा विनोद खड्का, मोहित शाह, दीपक थापा तथा कोहलपुरमा शिशिर गिरी, दीपेन्द्र गिरी, सुरेश अधिकारी, विपिन शाहीको समूह जुवा खेलाउन सक्रिय भएको हो । यसअघि जुवामा पक्राउ परेका मेगाश्री गुट्काका मालिक सन्तोष वली, रहमान लगायत फेरि सक्रिय भइरहेका छन् ।

नेपालगञ्जका जुवा अखडामा कैलाली, बर्दिया, दाङका पेशेवर जुवाडे समेत जुवा खेल्न पुग्ने गरेको स्रोतको दाबी छ । उनीहरुलाई खाने बस्ने सुविधा स्थानीय सिद्धार्थ होटलमा मिलाइएको बताइएको छ ।

सबैजसो अखडामा प्रहरी र प्रशासनको सेटिङ समेत मिलाइएकोले जुवाडेहरु निर्धक्क जुवा खेल्ने गरेका छन् । उनीहरुको नाममा समेत पैसा छुट्याउने गरिएको स्रोतको दाबी छ । यहाँका प्रहरीले मात्र दैनिक एक लाख असुल्ने गरेको बताइन्छ । घुुमवा प्रहरीहरु दैनिक रुपमा पैसा लिन अखडा पुग्ने गरेका छन् । प्रहरी सेटिङकै कारण ठूला व्यापारीहरु समेत निर्धक्क जुवा खेल्ने जाने गरेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८ बिहिबार ००:००  ७ : ५७ बजे