१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

चोकचोकमा ‘छाता प्रतिक्षालय’ ठडिएपछि वडाध्यक्ष ‘गिरी’ फेरि चर्चामा



मायादेवी अनलाइन, चारनम्बर ।
सधैँ नयाँ काम गरेर चर्चामा आउने कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विष्णु गिरी फेरि चर्चामा आउनुभएको छ । आफ्नो वडाका महत्वपूर्ण ४ चोकमा ‘छाता प्रतिक्षालय’ ठड्याएर चर्चामा आउनुभएको हो । नयाँ खालको प्रतिक्षालय बनेपछि ती चोकहरु पनि आकर्षक देखिएका छन् ।

एउटा छातामुनि १३ देखि १५ जनासम्म बस्न मिल्ने गरी बनाइएका ती प्रतिक्षालय वडाको ८ लाख बजेटमा निर्माण भएका वडाध्यक्ष गिरीले मायादेवीसंग बताउनु भयो । अहिले मोतिपुरको बाँणीगाउँ, धैरेनीडाँडा, कोइली बनगाई र खारखानीमा ती आकर्षक प्रतिक्षालय डडिएका छन् ।

प्रतिक्षालयमा पुरै फलामको प्रयोग छ । ती प्रतिक्षालय केवल आरामको लागि मात्र नभएर महिला समूहका स–साना वैठकहरु पनि बस्ने गरी बनाइएको वडाध्यक्ष गिरीले बताउनु भयो । जिल्लाभित्र र बाहिरका जनशक्तिसंगै स्थानीय युवाहरुको सहयोगमा प्रतिक्षालय बनेका उहाँको भनाई छ ।

बिभिन्न स्थानमा डुल्दा, घुम्दा र होटल रेष्टुरेन्टमा खाजा खाँदा देखेका छाता प्रतिक्षालयले आफ्नो मन खिचेपछि यस्तो कल्पना आएको वडाध्यक्ष गिरीले बताउनु भयो । उहाँले भन्नुभयो ‘वडामा पनि यस्तै प्रतिक्षालय बनाउन सकिन्छ कि भनेर सोँचे । त्यसपछि अनुसन्धान पनि गरेँ । खोज गरेँ । बनाउने निधो गरँ । वडामा निर्णय गराएँ । बजेट पनि छुट्याएँ । अहिले निर्माण सम्पन्न हुँदा धेरै खुसी लागेको छ ।’

यी प्रतिक्षालय बनाउँदा वडाको सुन्दरता पनि बढेको उहाँले बताउनु भयो । अर्कोतर्फ वडाबासीले यसलाई विश्रामस्थलको रुपमा प्रयोग गर्ने पनि उहाँले बताउनु भयो । अहिले जगा अभाव, वर, पिपलका रुखहरुको फँडानी इत्यादिका कारण आराम गर्ने ठाउँ धेरै ठाउँमा नहुँदा समस्या भएको देखेपछि पनि यस्तो परिकल्पना आएको उहाँले मायादेवीसंग बताउनु भयो ।

आगामी बर्ष पनि उहाँले थप ब्यवस्थित गरि ४ वटा छाता प्रतिक्षालय बनाउने उहाँले योजना सुनाउनुभयो । वडाध्यक्ष गिरीले प्रतिक्षालयको फोटोसहित सामाजिक संजालमा पोष्ट गरेपछि मंगलबार साँझ ५ बजेसम्म उहाँको वालमा करिब ९ सय लाइक आएका छन् भने ५ सय २२ बढी प्रतिक्रिया आएका छन् । अधिकांश प्रतिक्रियामा वडाध्यक्षको नमुना र नयाँ काम भनेर चर्चा गरिएको छ । वडाध्यक्ष गिरी यो ४ बर्षमा यस्तै नयाँ नयाँ काम गरी चर्चामा आइरहनुभएको छ ।

प्रकाशित मिति : १ असार २०७८ मंगलबार ००:००  ५ : ३१ बजे