१० असार २०८३, बुधबार | Wed Jun 24 2026

विजयनगरको बजेटमा यस्ता छन् प्राथमिकताका क्षेत्र



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले रु. ६८ करोड ११ लाख बराबरको प्रस्तुत प्रस्तुत गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विजयनगरले चालुतर्फ रु. ४९ करोड ९९ लाख र पुँजीगततर्फ रु. १८ करोड १२ लाख बराबरको बजेट प्रस्तुत गरेको हो ।

मंगलबार नवौं गाउँसभामा उक्त बजेट प्रस्तुत गर्दै उपाध्यक्ष लक्ष्मी चौधरीले बजेटका प्राथमिकताका क्षेत्रसमेत उल्लेख गरिन् । बजेटमा कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा, सिँचाई विस्तार तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको उनले जानकारी दिइन् ।

गाउँपालिकाले नीति तथा कार्यक्रममा रोजगार सिर्जना, सामाजिक सुरक्षा, खानेपानी तथा सरसफाई, सुशासन प्रवद्र्धन, गरिबी निवारण, गुणस्तरीय, सर्वसुलभ र आधुनिक शिक्षा तथा स्वास्थ्य सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

साथै कृषि क्षेत्रको विविधीकरण, आधुनिकीकरण र व्यवसायीकरण, सरकारी, निजी तथा गैरसरकारी क्षेत्रको सहकार्यमार्फत उत्पादकत्व र आर्थिक वृद्धि, सडक सञ्जाल विस्तार, प्रविधिको विकास तथा विस्तार, सार्वजनिक सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने तथा विभिन्न धर्म–सम्प्रदायका मौलिक साँस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने नीति अवलम्बन गरिएको छ ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै नागरिकको जीवनस्तर उकास्ने उद्देश्यका साथ नीति तथा कार्यक्रम ल्याइएको बताए । उनले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई केन्द्रमा राखेर समृद्ध विजयनगर निर्माणको अभियानलाई अघि बढाइने उल्लेख गरे ।

प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले गाउँपालिकाको वित्तीय अनुशासन, पारदर्शिता र प्रभावकारी कार्यान्वयनमा जोड दिँदै स्वीकृत कार्यक्रमलाई समयमै सम्पन्न गर्न प्रशासनिक संयन्त्र पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।

विश्वकर्माका अनुसार गाउँसभामा आर्थिक विधेयक २०८३/८४ र विनियोजन विधेयक २०८३/८४ समेत पेश गरिएको छ । गाउँसभाले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम पारित गर्दै बजेटमाथि थप छलफलका लागि आगामी असार १६ गते मंगलबार अर्को बैठक बस्ने निर्णय गरेको छ ।

उक्त बैठकबाट बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिइने जनाइएको छ ।

प्रकाशित मिति : १० असार २०८३ बुधबार ००:००  ७ : १० बजे