मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले १ अर्ब ४६ करोड १२ लाख ३४ हजार ७ सय रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
बुधबार भएको १९ औं नगरसभामा शिवराजले उक्त बजेटसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । नगरसभामा प्रस्तुत बजेटसहितको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको नगरपालिकाले जनाएको छ ।
नगरसभामा नगर प्रमुख अजय थापाले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
उनले नगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
नगर प्रमुख थापाले गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धि तथा पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धनमा नगरपालिकाले विशेष ध्यान दिने बताए ।
स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै नगरवासीको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याइएको उनको भनाइ थियो।
नगरपालिकाभित्र रहेका पर्यटकीय तथा धार्मिक क्षेत्रको विकास, सडक तथा अन्य पूर्वाधार निर्माण, सरसफाइ, खानेपानी, सामाजिक सुरक्षा र विपन्न नागरिकको पहुँचमा सेवा पुर्याउने विषयलाई समेत प्राथमिकतामा राखिएको नगर प्रमुख थापाले बताए ।
नगरसभामा उपप्रमुख शिवकुमारी थारुले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी थिइन् । प्रस्तुत बजेटमा वडा स्तरका योजना तथा विकास निर्माणका लागि ११ करोड रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै सामाजिक विकासतर्फ ६५ लाख रुपैयाँ, शिक्षा तथा खेलकुद क्षेत्रमा ९ करोड रुपैयाँ, स्वास्थ्यतर्फ ५ करोड ३० लाख रुपैयाँ, कृषितर्फ ८५ लाख रुपैयाँ तथा पशु विकासतर्फ ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
नगरसभामा उत्कृष्ट काम गर्ने कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, नगर प्रहरी गरी झण्डै एक दर्जन बढी व्यक्ति पुरस्कृत भएका थिए ।













प्रतिक्रिया