१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बाणगंगाको नगर सभामा जब ‘एकल पुरुषलाई भत्ता दिनु पर्ने’ कुरा उठ्यो



चन्द्रकान्त न्यौपाने, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको नवौँ नगरसभामा एक फरक विषयले प्रवेश पाएको छ । आर्थिक बर्ष २०७८ । ०७९ को लागि तयार पारिएको बार्षिक नीति र कार्यक्रम पारित गर्न आयोजना गरिएको नवौँ नगर सभामा एक जना कार्यपालिका सदस्यले एकल पुरुषलाई भत्ता दिनु पर्ने विषय उठाउनु भएको हो ।

नगर प्रमुख तथा सभाध्यक्ष मंगल प्रसाद थारुले नीति र कार्यक्रम पेश गरेपछि सभामा सदस्यहरुलाई बोल्न समय दिइएको थियो । त्यसमा आफ्ना कुरा राख्दै वडा नम्बर ३ का नगर कार्यपालिका सदस्य कुल बहादुर सोमैले एकल पुरुषलाई पनि भत्ता दिनु पर्ने कुरा उठाउनु भएको हो ।

सोमैले त्यो कुरा राखिरहँदा एकैछिन सदन गलल हाँसोले गुञ्जियो । मञ्चको अग्रपङ्तिमा मञ्चासिन सभाध्यक्ष थारु, उप प्रमुख चक्र अर्याल र सभा सचिव बासुदेव खनाल पनि मुसुमुसु हाँस्नु भयो । अरु वडाध्यक्ष र कर्मचारी पनि मज्जैले हाँसे ।

सदनमा करिब १५ मिनेट जति आफ्ना कुरा राख्नु भएका सोमैले भन्नुभयो, ‘हाम्रो समाजमा एकल महिलालाई भत्ता दिइने ब्यवस्था छ । तर एकल पुरुषलाई कसैले पनि अहिलेसम्म भत्ता दिने गरेका छैनन् । नगरमा यस्ता पुरुष पनि छन् जसले निकै कष्टपुर्ण जीवन गुजारिरहेका छन् । उनीहरु निकै समस्यामा छन् । तिनलाई कसले हेर्ने ?’

‘कति पुरुषहरुको पत्नी वितेका छन् । कतिका श्रीमतीले छोडेर गएका छन् । कतिका कोही पनि परिवार छैनन्, तिनीहरुको विचल्ली छ कसले हेर्ने ? यो नगरमा पनि यस्तो समस्यामा धेरै पुरुष बाँचेका छन् । नगरले अब त्यस्ता पुरुषलाई भत्ताको व्यवस्था गरेर हेर्नु पर्दछ’ उहाँले थप्नु भयो ।
सभाध्यक्ष थारुले सदस्य ज्यूको बोल्ने समय सकियो भनेर मञ्चबाट भनिरहँदा सोमैले भन्नुभयो, ‘हामी अब कहिले बोल्ने ? बर्षमा बल्ल एक दुई पटक बोल्न पाइन्छ । यो समय सिमामा मेरो आपत्ति छ । बोल्न दिनुहोस् ।’

सभामा सदस्यले उठाएका सवालको जवाफ दिन मञ्चमा आउनुभएका उप–प्रमुख अर्यालले सोमै जिले हाँस्दै… सोमै जिले नयाँ विषय उठाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘एकल पुरुषलाई भत्ताको ब्यवस्था नयाँ कुरा हो । सबैसंग सल्लाह र छलफल गरेर मात्र पुरुषलाई भत्ताको ब्यवस्थाको बारेमा नीति बनाऔँला । पत्रकार पनि यहाँ हुनुहुन्छ । उहाहरुसंग पनि छलफल गरौँला ।’

उसो त सोमैले उठाएको कुरा एक प्रकारले जायज नै हो । श्रीमतीका कारण पछिल्लो समय धेरै पुरुषहरुले दुःख पाउनु परिरहेको छ । सोमैले यो सवाल उठाईरहदा सभामा सहभागी नगरसभा सदस्यले मन्टो हल्लाएर समर्थन गरेको देखिन्थ्यो ।

प्रकाशित मिति : २ असार २०७८ बुधबार ००:००  ७ : ४६ बजे