७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

५ बजे पछि पसल व्यवसाय बन्द गर्ने निर्णय अव्यवहारिक, प्रहरीलाई कसैले टेरेनन् !



मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना भाइरस संक्रमणको भयावह रोक्न कपिलवस्तुमा निशेधाज्ञा जारी छ । पछिल्लो पटक असार १ देखि ७ गतेसम्म गरिएको निशेधाज्ञामा केही खुकुलो नियम बनाइएको छ । गत बैशाख २१ गते देखिको निशेधाज्ञालाई ४२ दिनको अन्तराल पछि असार १ गते देखि केही खुकुलो बनाईएको हो ।

अहिलेको निशेधाज्ञामा विहान ९ बजे देखि साँझ ५ बजेसम्म पसल, व्यवसाय खोल्न अनुमति दिइएको छ । यद्यपि डिसिएमसीको यो निर्णय कार्यान्वयनमा जटिलता देखिएको छ । लामो समयको बन्दाबन्दी पछि सञ्चालनमा आएका पसल व्यवसायीले साँझ ५ बजेदेखि व्यवसाय बन्द गर्न अटेरी गरेको पाइएको छ । प्रहरीले जिल्लाका मुख्य मुृख्य बजारमा साँझ ५ बजेदेखि पसल बन्द गर्न सांकेतिक स्वरुप सिठ्ठि बजाउँदै हिडेपनि कसैले टेरेको पाइदैन् । प्रहरीले पसल, व्यवसाय बन्द नगर्नेलाई सम्झाउने गरेपनि कारबाही नगर्दा यस्तो समस्या भएको हो ।

विहीबार साँझ जिल्ला सदरमुकाम तौलिहवा, गोरुसिंगे र चारनम्बरमा यस्तै दृश्य देखियो । प्रहरी साँझ ५ बजे पछि पसल, व्यवसाय बन्द गराउन हिड्यो । प्रहरी आइपुग्दा व्यापारीहरुले निर्वाध रुपमा आफ्ना मालसमान बेचिरहेका थिए । प्रहरीलाई देखेपछि केही पसलले सटर आधा झारे पनि केहीँले झार्दै झारेनन् । प्रहरी आफ्नो गाडीमा बसेर सिठ्ठि फुकेपनि व्यवसाय बन्द गराउने गरी कुनै पसलको दैलो टेकेन् । यसले निशेधाज्ञाको नियम पालना नगरे पनि हुने रहेछ भन्ने संकेत पसल व्यवसायीले पाएका छन् ।

चारनम्बरका एक व्यापारीले विहान ९ बजे देखि साँझ ५ बजेसम्म पसल खोल्ने निर्णय अव्यवहारिक भएको बताउँछन् । लामो निशेधाज्ञाको चपेटामा परेका व्यापारीलाई पछिल्लो निर्णयले झन दुविधामा पारेको उनले बताए । साँझ ५ बजे पछाडि र विहान ९ बजे अगाडी कोरोना लाग्ने त्यस पछि नलाग्ने गरी निशेधाज्ञाबारे निर्णय भएको उनले बताए । यस्तो दुविधाग्रस्त निर्णयलाई तत्काल सच्चाएर कि पूर्ण निशेधाज्ञा, कि पुरै खुल्ला गर्नुपर्नेमा उनले जोड दिए । सरकारले करको लागि सरकारी कार्यालय खुल्ने समयलाई मध्यनजर गरी निशेधाज्ञा खुलाइएकोमा उनले आपत्ति जनाए । ‘व्यापारी कर तिर्न राजश्व कार्यालयमा जाउँन भनेरै विहान ९ देखि साँझ ५ बजेसम्मको निर्णय भएको हो, उनले भने, यो निर्णयले व्यापारी निशेधाज्ञा खुल्यो भनेर उत्साहित हुन जरुरी छैन् ।’

सरकारले निशेधाज्ञाको उल्लङ्घन गरे व्यक्तिलाई १ लाख र संस्थालाई ५ लाखसम्मको जरिवान लाग्ने कानुनी व्यवस्था गरेको छ ।

यो पनि पढ्नुहोस् कपिलवस्तुमा निषेधाज्ञा १ हप्ता थपियो, पहिले भन्दा खुकुलो !

प्रकाशित मिति : ४ असार २०७८ शुक्रबार ००:००  ७ : ०८ बजे