१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

निषेधाज्ञा खुकुलो भएसँगै थप सावधानी अपनाउन डाक्टरको आग्रह



काठमाण्डौ ।

कोरोना भाइरसको नयाँ म्युटेशन देखा परेकै बेला निषेधाज्ञा खुकुलो भएकाले थप सावधानी अपनाउन डाक्टरहरुले आग्रह गरेका हुन् । निषेधाज्ञा खुकुलो भएसँगै सडक बजारमा चहलपहल बढेकाले यात्रा तथा किनमेल गर्दा र कार्यालयमा काम गर्दासमेत विशेष ध्यान दिन डाक्टरको सुझाव छ ।

निजामती कर्मचारी अस्पतालका कोभिड फोकलपर्सन डाक्टर सुमनबाबु मरहट्ठाले अहिले देखिएको डेल्टाको नयाँ भेरियन्ट धेरै संक्रामक रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले सामान किन्न पसल जाँदा ग्राहक र व्यवसायी दुवैले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने तथा बेलाबेला सेनिटाइजर प्रयोग गर्ने लगायतका स्वास्थ्य मापदण्डको ख्याल गर्नुपर्ने बताउनुभयो ।

यस्तै कार्यालय जाँदा र भिडभाड हुने ठाउँमा निस्किँदा पनि सावधानी अपनाउन उहाँको आग्रह छ । सडक बजारमा निस्कने बेलामा मात्रै नभएर घर र कार्यालयमा रहँदा पनि स्वास्थ्य मापदण्ड पालना गर्न उहाँको जोड छ । घर र कार्यालयमा रहँदा मास्क लगाउन तथा भौतिक दूरी पालना गर्न पर्दैन भन्ने गलत मानसिकता रहेको भन्दै उहाँले हावा ओहोरदोहोर गर्ने कोठामा बस्न आग्रह गर्नुभएको छ ।

कोरोना भाइरसको नयाँ स्वरुप देखिएको अवस्थामा निषेधाज्ञा खुकुलो भएकाले यसमा सावधानी अपनाउन नसके कोरोनाको तेस्रो लहर फैलिन सक्ने विज्ञको चेतावनी छ । केही दिनअघि मात्रै नेपालमा कोरोनाको ‘डेल्टा भेरियन्ट’ को ९ वटामा परिस्कृत रुप भेटिएको पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयले यो भाइरस बढी संक्रामक र सबै उमेर समूहकालाई असर पार्ने भएकाले सचेत रहन र जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ असार २०७८ बुधबार ००:००  ९ : २७ बजे