१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

यस्ता छन् एकीकृत समाजवादीका मन्त्री



काठमाडौं ।
नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । यीमध्ये चारजना फुलमन्त्री र एकजना राज्यमन्त्री बनेका छन् । पार्टीबाट मन्त्री बन्नेहरुमा नेकपा एमालेमा हुँदा सरकारमा जाने अवसर नपाएका बढी छन् ।

एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार (किसान) श्रेष्ठलाई सरकारमा पठाएको छ । यसैगरी भवानी प्रसाद खापुङ राज्यमन्त्री बनेका छन् । एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरुमा विरोध खतिवडा र रामकुमारी झाँक्री पहिलेदेखिकै चर्चामा आएका अनुहार हुन् । अन्ततः ओली सरकारमा मन्त्री रहेका प्रेमबहादुर आलेसमेत मन्त्री बनेका छन् । अन्तिम घडीमा एमाले छाडेर माधव नेपाललाई साथ दिएका तनहुँका सांसद कृष्ण कुमार (किसान) श्रेष्ठ पनि मन्त्री बनेका छन् ।

विरोध खतिवडाको नेतृत्वमा सरकारमा जान लागेको सो पार्टीबाट खतिवडाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि खतिवडाले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने बताइएको थियो । त्यस्तै शहरी विकास मन्त्रालयको जिम्मेवारी रामकुमारी झाँक्री र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रेम आलेले पाएका छन् । किसान श्रेष्ठले भने श्रम तथा रोजगार मन्त्रालयको भूमिकामा सपथ खाएका छन् ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा एकीकृत समाजवादीका तर्फबाट मन्त्री बन्नेहरुको बायोडाटा यस्तो छ–

विरोध खतिवडा : खरो सांसद, मन्त्रीमा नयाँ परीक्षा

मन्त्री बिरोध खतिवडाको स्थायी ठेगाना हेटौंडा उपमहानगरपालिका ४, मकवानपुर हो । २०१७ सालमा जन्मिएका खतिवडाको परिवारमा श्रीमती मुनु सिग्देल, एक छोरा र एक छोरी छन् । उनकी छोरी श्रृंखला खतिवडा पूर्वमिस नेपाल हुन् । बाबु बद्रीप्रसाद खतिवडा पनि मकवानपुरका पुराना नेता हुन् भने श्रीमती मुनु सिग्देल एकीकृत समाजवादीकी वागमती प्रदेश सभा सदस्य छिन् ।

कानुनमा स्नातक गरेका खतिवडा २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । ४ वटा संसदीय निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका उनले कुनै पनि निर्वाचनमा हार बेहोर्नुपरेको छैन । प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८, २०५१, २०५६ र २०७४ उनी मकवानपुरबाट निर्वाचित भएका थिए ।

खतिवडाको राजनीतिक यात्रा २०२८ सालमा हेटौंडाको भुटनदेवी माविमा बिद्यार्थी संगठनको उपसचिवको जिम्मेवारीबाट सुरु भएको थियो । खतिवडा कम्युनिस्ट पार्टीमा आवद्ध भएर २०३५ साालदेखि विद्यार्थी र पार्टी राजनीतिमा सक्रिय छन् । २०३५ सालमा अनेरास्ववियु काठमाडौं जिल्ला अध्यक्ष भएका उनी २०३७ देखि २०४० सम्म अनेरास्ववियुको केन्द्रीय सदस्य रहेका थिए । यस्तै सोही अवधिमा उनी नेपाल ल क्याम्पसको स्ववियु सचिवसमेत भएका थिए ।

नेकपा एमालेको लेखा आयोगको सदस्य, उद्योग विभागको सदस्य भएर काम गरेका उनी एमाले र तत्कालीन नेकपाको केन्द्रीय सदस्य थिए । हाल उनी नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य छन् ।

कानुन व्यवसायी समेत रहेका खतिवडा नेपाल बार एसोसिएसनको सदस्य समेत रहेका थिए । पञ्चायतविरुद्धको राजनीतिक आन्दोलन र राजतन्त्रविरुद्धको आन्दोलनका क्रममा मन्त्री खतिवडा १२ पटक जेल तथा हिरासतमा परेका थिए ।

कानुन व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढाएका खतिवडा राजनीतिमा पृथक पहिचान बनाउन सफल व्यक्ति हुन् । उनले नेपाललाई समृद्ध बनाउनका लागि गाँजा खेतीलाई खुकुलो र व्यवस्थित बनाउनुपर्छ भन्ने आवाज उठाउँदै आएका छन् ।

प्रतिनिधिसभामा बोलेर बेग्लै छवि बनाउन साँसदमध्ये विरोध खतिवडा पनि एक हुन् ।

रामकुमारी झाँक्री : युवाको आशा, तर छवि जोगाउने चुनौती

चर्चित युवा नेतृ रामकुमारी झाँक्री बिद्यार्थी आन्दोलनबाट उदाएकी हुन् । २०३५ साल जेठ १० गते गुल्मीको मदाने गाउँपालिकामा जन्मिएकी मन्त्री झाँक्रीको हालको ठेगाना शंखमुल काठमाडौं हो । उनको परिवारमा श्रीमान र एक छोरा छन् । उनले मानविकीमा स्नातकोत्तर र कानुनमा स्नातक तहसम्मको अध्ययन गरेकी छिन् ।

समानुपातिक निर्वाचन प्रणालीबाट २०७४ सालमा उनी प्रतिनिधि सभा सदस्यमा बनेकी हुन् । २०४७ सालमा पृथ्वी मावि गुल्मीबाट अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य हुँदै उनको विद्यार्थी राजनीति प्रारम्भ भएको हो ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको १९ औं राष्ट्रिय सम्मेलनबाट झाँक्री अध्यक्षमा निर्वाचित भएकी थिइन् । पार्टीको विभिन्न भूमिकामा रहेर काम गरेकी उनी एमालेको नवौं राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।

राजनीतिक आन्दोलनका क्रममा पटक–पटक प्रहरी हिरासत तथा थुनामा परेकी उनले २०६२/६३ को आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । हाल उनी नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव हुन् ।

पछिल्लो समय झाँक्री राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीको खरो आलोचक बनेपछि रानजीतिमा विशेष चर्चामा छिन् । यसक्रममा उनले आलोचकहरु मात्रै होइन, धेरै समर्थकहरुसमेत कमाएकी छिन् ।

एमालेमा रहँदा झाँक्री घनश्याम भुसालको विचार समूहसँग निकट थिइन् । तर, पार्टी विभाजन हुँदा उनले भुसालको साथ छाडिन् र माधव नेपाललाई दह्रो साथ दिइन् । यसक्रममा माधव नेपाललाई हात समातेर डोर्याएको तस्बिरसमेत भाइरल बन्यो ।

पहिलोपटक मन्त्री बनेकी झाँक्रीले सरकारमा रहँदा आफ्नो छविलाई कसरी अगाडि बढाउलिन् भन्ने नयाँ पुस्तामा चासो छ ।

किसन श्रेष्ठ : महेश बस्नेतलाई छाडेपछि अवसर मिल्यो

अर्का मन्त्री कृष्णकुमार श्रेष्ठ ९किसन० २०२४ पुस ७ गते व्यास नगरपालिका, ४ तनहुँमा जन्मिएका हुन् । उनको परिवारमा श्रीमती र दुई छोरा छन् । आइकम अध्ययन गरेका उनी २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

२०३८ सालमा अनेरास्ववियुको विद्यार्थी जिल्ला कमिटीमा आबद्ध भई उनको राजनीति सुरु भएको थियो । २०५२ सालमा उनले नेकपा एमालेको सदस्यता लिएका थिए ।

एमाले तनहुँको सल्लाहकार, तत्कालीन नेकपाको तनहुँ जिल्ला कमिटीमा रहेका उनी हाल नेकपा एकीकृत समाजवादीमा आवद्ध छन् । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्य रहेका श्रेष्ठको राजनीति अघिको पेसा व्यापार हो ।

श्रेष्ठले ०७४ को चुनावमा तनहुँमा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएर विशेष चर्चा कमाएका थिए । पौडेललाई चुनाव हराउने श्रेष्ठलाई काँग्रेस नेतृत्वको सरकारमा मन्त्री बनाइएपछि रामचन्द्र पौडेलले भने आफ्नो निर्वाचन क्षेत्रमा ‘थ्रेट’ महसुस गरेको हुनसक्ने अनुमान गरिएको छ ।

विगतमा केपी ओलीको समूहमा रहेका श्रेष्ठ एमालेका युवा नेता महेश बस्नेतसँग नजिक मानिन्थे । महेश बस्नेत र पूर्वआईजी सर्वेन्द्र खनालले जसपाका सांसदलाई मधेसबाट काठमाडौं ल्याएको प्रकरणमा श्रेष्ठको समेत नाम मुछिएको थियो, जसले गर्दा उनको छविमा दाग लागेको थियो ।

केपी ओलीको समूहमा लाग्दा मन्त्री बन्ने अवसर नपाएका श्रेष्ठले सरकारमा जाने मौका पाएका छन् । सफल व्यापारीको छवि बनाएका उनलाई अब काम गरेर देखाउने मौका प्राप्त भएको छ । यो अवसरलाई उनले सदुपयोग गरे भने फेरि पनि तनहुमा उनले रामचन्द्र पौडेलसँग प्रतिस्पर्धा गर्न सक्छन् ।

प्रेमबहादुर आले : विगतले पछ्याउने डर

प्रेमबहादुर आले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री रहेका थिए । एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी पार्टी स्थापनामा सक्रिय भूमिका खेलेका उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । संविधानसभा सदस्य निर्वाचन २०७० मा उनी डोटी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

२०२८ वैशाख १५ गते जन्मिएका मन्त्री आलेको स्थायी ठेगाना जोरायल गाउँपालिका २, डोटी हो । उनको परिवारमा श्रीमती, दुई छोरा र दुई छोरी छन् । प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका आले २०५४ सालमा नेकपा एमाले डोटी जिल्ला कमिटी सदस्य भएका थिए ।

२०६२ सालमा नेकपा एमाले डोटी जिल्ला कमिटी उपसचिव रही काम गरेका उनी २०६५ मा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा निर्वाचित भए । २०७१ सालको ९ औं महाधिवेशनबाट एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । २०७५ सालमा तत्कालीन नेकपाको केन्द्रीय सदस्य र डोटी जिल्ला इञ्चार्ज भएका थिए ।

मन्त्री आले २०६२/०६३ सालको जनआन्दोलनका क्रममा १३ दिन थुनामा परेका थिए । मन्त्री आले विगतमा आफ्ना अभिव्यक्तिका कारण विवादमा पर्ने गरेका थिए । मन्त्रीका रुपमा उनी विगतकै जस्तो नकारात्मक चर्चाको पात्र बन्छन् या आफ्नो छवि सुधार्छन्, त्यो हेर्न बाँकी छ ।

पछिल्लो समय किसान श्रेष्ठसँगै केपी ओलीको क्याम्प छाडेपछि आले विशेषरुपमा चर्चामा छन् । कित्ता परिवर्तन गरेर पनि मन्त्री बन्ने अवसर पाएका आलेले पर्यटन मन्त्री बन्ने इच्छा राख्दै आएका थिए । –रातोपाटीबाट

प्रकाशित मिति : २३ आश्विन २०७८ शनिबार ००:००  ६ : ३१ बजे