१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

पार्टी निर्माणको रफ्तारमा नेकपा (एस) कपिलवस्तु, ६ वडामा वडा कमिटी गठन



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) कपिलवस्तु पार्टी निर्माणमा तीव्र गतिमा जुटेको छ । एमालेबाट विद्रोह गरी पार्टी निर्माण भएको दुई महिना पुग्न नपाउँदै कपिलवस्तुमा नेकपा (एस) पार्टी निर्माणमा रफ्तारले लागेको हो ।

गएको असोज ८ गते मात्र जिल्ला कमिटीलाई पूर्णता दिएको नेकपा (एस) कपिलवस्तुले दशैं अगाडी नै ६ वडामा वडा कमिटी गठन गर्न सफल भएको पार्टीका जिल्ला अध्यक्ष लंका बहादुर हमालले जानकारी दिनुभयो ।

जिल्लाको शिवराज नगरपालिका, महाराजगञ्ज नगरपालिका, कपिलवस्तु नगरपालिका र वाणगंगा नगरपालिका गरी ६ वडामा नेकपा (एस)ले वडा कमिटी बनाएको हो ।

शिवराजको वडा नं. ७ मा शहबुद्धिन मुसलमानको अध्यक्षतामा १७ सदस्यिय वडा कमिटी गठन भएको छ ।

वडा नं. ४ मा इतराज आलम मुसलमानको अध्यक्षतामा २१ सदस्यिय वडा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा अबवारुण निशा, सचिवमा रामकुमार चौहान, उप सचिव इन्तियास अहमद मुसलमान र अन्य सदस्यहरुमा रहनुभएको शिवराज नगर कमिटी अध्यक्ष सरोज पौडेलले जानकारी दिनुभयो ।

वडा नं. ८ मा जमिल मुसलमानको अध्यक्षतामा २७ सदस्यिय वडा कमिटी गठन भएको छ ।

वडा कमिटी गठन भएका यी तीन वडा मधेसी र मुस्लिम समुदायको बाहुल्यता रहेका वडा पर्छन् ।

शिवराजका अरु वडामा दशैं लगत्तै वडा कमिटी गठन हुने र दीपावलीको आसपासमा नगर कमिटी गठनको तयारी भएको नगर अध्यक्ष पौडेलले बताउनुभयो ।

महाराजगञ्ज नगरपालिकाको वडा नं. ५ मा नेकपा (एस)ले एउटा वडा कमिटी गठन गरेको छ । मधेसी र मुस्लिम समुदायको मात्र बसोबास रहेको यो वडामा बासअलि गद्धीको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन भएको हो । जसको उपाध्यक्षमा सन्जन यादव, उपाध्यक्षमा चन्द्रप्रकाश पासी, उपसचिवमा राम बहादुर कहार र अन्य सदस्यमा रहनुभएको छ ।

नेकपा (एस)ले कपिलवस्तु नगरपालिकाको वडा नं. ६ मा पनि वडा कमिटी निर्माण गरेको छ । मधेसी, मुस्लिम र पहाडीया समुदायको मिश्रित बसोबास रहेको यो वडामा निर्मल पोख्रेलको अध्यक्षतामा २३ सदस्यिय वडा कमिटी गठन गरिएको हो ।

जसको उपाध्यक्षमा रामनयन केवट, सचिवमा रामदेव यादव, सहसचिवमा लक्ष्मी भण्डारी र अन्य सदस्यहरुमा रहनुभएको पार्टीका उपाध्यक्ष गीता अञ्जानले जानकारी दिनुभयो । कपिलवस्तु नगरका अरु वडामा चाडपर्व सकिए लगत्तै पार्टी गठन हुने उहाँले बताउनुभयो ।

जिल्लाको महत्वपूर्ण क्षेत्र वाणगंगा नगरपालिका भित्र पनि नेकपा (एस) वडा कमिटी गठनमा जुटेको छ । तुलानात्मक रुपमा अरु पालिकामा भन्दा एमालेको संगठन राम्रो भएको यस नगरमा वडा नं. ८ बाट संगठन विस्तार सुरु भएको हो । वडा नं. ८ तत्कालिन एमालेको गढ जस्तै थियो । यहाँ नेकपा (एमाले) परित्याग गरी एस प्रवेश गर्नेहरुको लहर देखिन थालेको छ । मंगलबार भएको वडा भेलाबाट शैलेन्द्र बेल्वासेको अध्यक्षतामा २३ सदस्यिय वडा कमिटी गठन गरिएको नगर इन्चार्ज कमल भट्टराईले जानकारी दिनुभयो ।

वडा कमिटीको उपाध्यक्षमा यादव पौडेल (यदुनाथ), सचिवमा कमल बेल्वासे, उप सचिवमा रिता ज्ञवाली र अन्य सदस्यहरुमा रहनुभएको छ ।
नेकपा (एस)ले अहिलेसम्म कृष्णनगर नगर कमिटी मात्र गठन गरेको छ । अरु पालिकामा नगर अध्यक्ष र इन्चार्ज ताकेको एसले चाडपर्व पछाडि लगत्तै पार्टी निर्माण गर्ने अध्यक्ष हमालले बताउनुभयो । चाडपर्व पछि पार्टी निर्माणमा रफ्तारले लाग्ने उहाँको भनाई छ ।

जिल्लाको मायादेवी र शुद्धोधन गाउँपालिकामा दशैं लगत्तै पार्टी गठनको तयारी रहेको छ । दशैं अगावै कार्यक्रम राख्ने भनिएपनि तयारी नपुगेको कारण दशैं पछि गर्न थालिएको प्रदेश निर्वाचन क्षेत्र नं. २ का क्षेत्रिय इन्चार्ज फैजल खाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ आश्विन २०७८ बुधबार ००:००  ७ : ११ बजे