६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

दशैंमा के खाने, के नखाने ?



काठमाडौं ।
दशैंको आठौं दिन । सप्तमीमा फूलपाती भित्र्याएसँगै दशैंले छपक्कै छोप्नेछ ।

घटस्थापना गरेसँगै मांसहारीहरुले दशैंको अष्टमीमा खसी बोका, हाँस, रागाको बलि दिने गरेका छन् । यससँगै दशैंमा मासुका परिवारहरु भान्सामा धेरै पाक्ने गरेका छन् ।

तर चिकित्सकहरुले भने धेरै मासु खानु स्वास्थ्यका लागि हितकर नहुने बताउने गरेका छन् । अझ धेरै दिनदेखिको मासु खानु त स्वास्थ्यका हिसावले निकै हानीकारक मानिन्छ ।

शाकाहारीले पनि दशैंमा विभिन्न तरकारीका परिकारका साथै मिठाइको परिकार खाने गरेका छन् । मिठाइको परिकार धेरै खाँदा यसले पनि फाइदा पुग्दैन त्यसैले दशैंमा खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ ।

यदी खानपानमा ध्यान नदिने हो भने स्वास्थ्यमा समस्या देखापर्न सक्छ । तपाईमा केही दीर्घ वा अन्य कुनै प्रकारको रोग छ भने झन खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ ।

दीर्घ रोगहरु जस्तै मुटुसम्बन्धी रोग, कोलस्टोर, डाइभेटिज, युरिक एसिड, थाइराड, मृगौलासम्बन्धी रोग हुनेहरुले खानपानमा विशेष सावधानी अपनाउन जरुरी हुन्छ ।

खानामा लोभ गर्नाले स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएका कारण के खाने के नखाने भन्ने विषयमा जानकार हुन जरुरी छ ।

नेपालीको भान्सामा पाक्ने खाने कुरा सामान्य तया मुटोरीगीलाई फाइदा पुग्ने खालको नहुने चिकित्सकहरु बताउँछन् ।

अत्याधिक मात्रामा चिल्लो, मसलेदार र रातो मासुका परिकार चाडबाडमा पाक्ने गरेका छन् जुन मुटुका लागि फाइदा पुर्‍याउने खालका हुँदैनन् ।

मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलका अनुसार सामान्य अवस्थामा पनि खानपानमा ध्यान दिन जरुरी हुन्छ । अझ चाडवर्पमा त झन् मासुका परिकार धेरै पाक्ने भएका कारण सावधानी अपनाउन जरुरी छ ।

डा. अनिलका अनुसार मुटुका बिरामी र उच्च रक्तचाप भएका बिरामीले दशैंमा स्वास्थ्यको ख्याल गर्ने हो भने मासुको परिकार, चिल्लो, नूनमा नियन्त्रण गर्नु पर्छ ।

त्यस्तै युरिक एसिड भएका व्यक्तिहरुले रातो मासु, रक्सी तथा बढी प्रोटिनयुक्त खाना खानु स्वास्थ्यकर हुँदैन । अन्य सामान्य मानिसले पनि बढी रातो मासुको सेवन गर्नाले युरिक एसिडको जोखिम बढाउँने चिकित्सक बताउँछन् ।

युरिक एसिड भएका व्यक्तिले यस्ता खाना धेरै खाएमा हड्डी कुँज्जिने, जोर्नीबाट पीप बग्ने र प्यारालाइसिस् पनि हुन सक्छ । चाडपर्वमा माछा मासु मात्र खाने होइन, यसको साथै सागसब्जी र फलफूल पनि त्यति नै मात्रामा खाने गर्दा फाइदा हुन्छ ।

त्यस्तै दशैंमा मदिरा धेरै सेवन गर्दा कलेजोमा असर पर्न सक्ने भएकाले सावधानी अपनाउन जरुरी छ । विशेषगरी कलेजो मदिरा र बोसोयुक्त तथा चिल्लो खानाले विग्रन सम्भावना हुन्छ ।

उनका अनुसार मानिसको रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ यसले दिमाग र स्नायू प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पनि पार्दै जान्छ । रक्सीलाई पचाउने काम कलेजोको हो ।

कलेजोमा रक्सी जम्मा हुँदै टुक्रिँदै जल्दै जान्छ, यसक्रममा प्रशस्त ऊर्जा उत्पन्न हुन्छ । त्यो ऊर्जा खर्च नभएमा बोसोमा परिवर्तन भई कलेजो, रक्तनली र मुटुमा जम्मा हुनपुग्छ ।

चाडपर्वको नाममा मासु धेरै खाने चलन स्वास्थ्यका लागि हानिकारक हुन्छ । मोटो शरीर, रगतमा कोलेस्ट्रोल बढी, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड तथा मधुमेह भएका व्यक्तिले सकभर मासु नखानु नै राम्रो हुन्छ । शरीरलाई पच्ने गरी खाना खानुपर्ने पोषणविद् डा। अरुणा उप्रेती बताउँछिन् ।

घरमै बनाएका परिकार खाँदा शरीरलाई फाइदा पुग्ने भएकाले जतिसक्दो कम मसलायुक्त खाना खानुपर्ने उनले बताइन् ।

डा. उप्रेतीका अनुसार चिल्लो हालेको खाने कुरा कमभन्दा कम खानुपर्छ । धेरै मसला हालेको खानेकुरा खाँदा विशेषतः मुटुरोगी, युरिक एसिड भएका बिरामीलाई दीर्घकालीन असर पर्ने चिकित्सकहरू बताउँछन् ।

धेरै मसला हालेको खानेकुराहरू खानुहुँदैन । घरमै बनाएको खानेकुरा खाँदा शरीरलाई फाइदा पुग्छ । हामीले प्रयोग गर्ने मासु पुरै स्वच्छ हुनुपर्छ ।

बजारबाट किनेको मासु हो भने ताजा छ या छैन भनेर किन्ने बेलामै ध्यान पुर्‍उनुपर्छ । ताजा मासु रातो देखिन्छ । बासी मासु रङ उडेको र छाम्दा गिलो हुन्छ । धेरै दिन मासु सञ्चित गरेर खानु राम्रो मानिँदैन ।

मसला ठिक्क राखेर पकाएको मासु स्वस्थ मान्छेले दैनिक ६० ग्राम मात्र खानु उपयुक्त मानिन्छ । चिकित्सकका अनुसार चाडपर्वको बेला मात्र खानेले भने २ सय ग्रामसम्म खाँदा असर गर्दैन ।

मधुमेह भएका बिरामीले चिनी र चिनीबाट बनेका परिकार खानुहुँदैन । यस्तै, ड्राइफुड, फलफूल, जंकफुड पनि नखाँदा राम्रो हुन्छ ।

चाडपर्वमा अस्वस्थकर खसी, बोका, राँगा र भैंसीको मासुले टेनिया सोडियम, बंगुरको मासुबाट टेनिया स्याकिटेटा नामक जुका र अस्वस्थ माछा खाँदा एच नाना र अस्वस्थ कुखुराको मासुबाट बर्डफ्लु तथा नपाकेको मासु खानाले दिमागमा ससाना टेपवर्म जाने र त्यसले मानिसको मृत्युसमेत गराउन सक्ने चिकित्सकको भनाइ छ ।

दशैंमा मादक पदार्थ सेवन सकेसम्म नगर्न डा। उप्रेतीको सुझाव छ । ‘दशैं स्वभावैले खानपानसँग जोडिएको पर्व हो,’ उनी भन्छिन् , ‘दीर्घरोगीले यो पर्वमा अलि बढी ध्यान दिन जरुरी छ र स्वस्थ मानिसले पनि स्वास्थ्यको ख्याल गर्दै मसलेदार, चिल्लो तथा पिरो खानेकुरा खाँदा ध्यान पुर्‍याउनुपर्छ, नभए पछि यसले समस्या निम्त्यान सक्छ।’

प्रकाशित मिति : २७ आश्विन २०७८ बुधबार ००:००  ८ : २८ बजे