२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

कांग्रेस महाराजगञ्जका वडाध्यक्ष र क्षेत्रिय सचिवले कांग्रेस त्यागेर एमाले रोजे



मायादेवी अनलाइन, महाराजगञ्ज ।
नेपाली कांग्रेस कपिलवस्तुका प्रभावशाली दुई नेता एमालेमा प्रवेश गरेका छन् । मंगलबार नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ का क्षेत्रिय सचिव रहेका गंगेशनाथ तिवारी र महाराजगन्ज नगरपालिका वडा नम्बर ११ का अध्यक्ष जगदिश तिवारी एमाले प्रवेश गरेका हुन् ।

दुवै नेतालाई एमाले नेता तथा संघीय सांसद वृजेश कुमार गुप्ता, प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेल, महाराजगन्ज नगरपालिकाका मेयरका आकांक्षी रामदास चौधरी लगायतले महाराजगन्ज निर्वाचन सम्पर्क कार्यालयमा पार्टी प्रवेश गराएका थिए ।

कांग्रेसका युवा भित्र प्रभावशाली नेता मानिने तिवारीको प्रभाव महाराजगन्ज संगै बुद्धभूमिका केही वडामा राम्रो प्रभाव रहेको मानिन्छ ।

चुनावको मुखैमा कांग्रेस परित्याग गर्दा कांग्रेसलाई घाटा हुने ठानिएको छ । पारिवारिक रुपमा राजनीतिमा सक्रिय रहदै आएको तिवारी परिवार को एमालेमा प्रवेशलाई त्यस क्षेत्रमा महत्वका साथ हेरिएको छ ।

तिवारी काँग्रेस प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यको विश्वासनीय पात्र समेत हुन् । साथै शिवराज साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् ।

कांग्रेसको वर्चश्व रहेको महाराजगञ्जमा यसभन्दा अगाडी दुई जना वडाध्यक्ष पनि एमाले प्रवेश गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले नेता गुप्ताले मधेसको विकासको लागि एमालेका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । एमाले प्रति मधेशमा जनलहर बढेको बताउँदै नेता गुप्ताले कपिलवस्तुमा एमालेले सबै भन्दा धेरै सिट जित्ने पनि दाबी गरे ।

एमाले प्रवेश पछि बोल्दै तिवारीले कांग्रेसबाट निर्वाचित मेयर प्रति इंगित गर्दै राहतको नाममा धनीलाई २०/२५ हजार दिने र गरिव जनतालाई २÷४ हजार दिएको दाबी गरे । मेयर कलामको पालामा धेरै अनियमितता भएको महालेखा परिक्षकको प्रतिवेदनमा समेत आएको उनले बताए ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा, शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारी, एमाले महाराजगन्ज अध्यक्ष निजामुद्धीन खानले जनतालाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे । कार्यक्रम महाराजगन्ज नगर सचिव सन्तोष त्रिपाठीले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७९ मंगलबार ००:००  ९ : २७ बजे