२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

स्थानीय तह निर्वाचन : एक करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सम्पन्न



काठमाडौं ।

वैशाख ३० गते हुन गइरहेको आसन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले १ करोड ९४ लाखमध्ये १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सम्पन्न गरेको छ । बाँकी मतपत्र छपाई कार्य अब केही दिनमा सकिने आयोगको भना छ ।

निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलकाअनुसार बिहीबारसम्म ७२ जिल्लाका लागि सो संख्यामा मतपत्र छपाइ सम्पन्न भएको हो । त्यस्तै, आयोगले वैशाख १३ गतेदेखि छपाई भएको मतपत्र ढुवानी शुरु गरेको थियो । बिहीबारसम्म ३३ जिल्लामा मतपत्र ढुवानी गरिएको आयोगको भनाइ छ ।

सुदूरपश्चिम, कर्णाली प्रदेशसहित अन्यगरी ३३ जिल्लामा कुल ५१ लाख ८१ हजार थान मत्रपत्र ढुवानी गरिएको छ । छपाइ सम्पन्न भएको मतपत्र ढुवानीको काम निरन्तर जारी रहेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका दिन सार्वजनिक बिदाका लागि सरकारसँग अनुरोध गर्ने भएको छ । मतदानको दिन देशवासीका लागि उत्सवको दिन भएकाले मताधिकारबाट कोही वञ्चित नहोऊन् भनेर नेपाल सरकारसँग आयोगले सो दिन सार्वजनिक बिदाको व्यवस्था गर्न आग्रह गर्ने भएको हो ।

प्रकाशित मिति : १५ बैशाख २०७९ बिहिबार ००:००  ४ : ३४ बजे