६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

‘शालीनताका पर्यायवाची चक्रपाणी अर्याल’



दीपा महत, वाणगंगा ।
आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा वाणगंगा नगरपालिकाको नगर प्रमुखको उम्मेद्वार हुन् चक्रपाणी अर्याल । नगर प्रमुख हुने दौडमा रहेका अर्याल वाणगंगाका निवर्तमान नगर उप-प्रमुख हुन् ।

नेकपा (एमाले)बाट उम्मेद्वार बनेका अर्याल मेयरका बलिया प्रतिस्पर्धी हुन् । गएको ०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन कांग्रेस, माओवादी गठबन्धनका उम्मेद्वार टोपनारायण बेल्वासेलाई पराजित गरि नगर उप-प्रमुख बनेका अर्याल वाणगंगा भित्रका लोकप्रिय जनप्रतिनिधिमा पर्छन् ।

५ बर्षे कार्यकाल नगरमा विताएका अर्याल शालीनताले भरिपूर्ण छन् । कयौं विमतिका बीच पनि मुसुक्क मुस्कान छर्ने उनको स्वभावलाई धेरैले मन पार्ने गर्छन् । सरल, सादगी जीवन मन पार्ने अर्यालको कुनै भड्किलो ‘हाईफाई’ छैन् ।

कपिलवस्तुको सबैभन्दा ठूलो नगरपालिकाको नगर उप-प्रमुख हुँदा पनि अर्यालको जीवनशैलीमा खासै अन्तर देखिएन् । नगरको विकासमा आफै गाडी चलाएर दौडिने उनको अर्को सरल बानी हो । कयौं यात्रा उनले आफै ड्राइभिङ गरेर जनताको सेवा गरेका छन् । मोटरसाइकलमा कुद्न रुचाउने अर्याल विकास निर्माणको अनुगमनमा कयौं पटक मोटसाइकलमै पुगेका छन् ।

नगर उप-प्रमुखको जिम्मेवारी सम्हाल्नुन्जेल अर्यालले राजनीति पूर्वाग्राही खासै राखेनन् । विधि, पद्धतिमा रहन चाहने अर्याल यसका विरुद्ध कहिल्यै लागेनन् । ०७४ मै नगर प्रमुखको दौडमा रहेका अर्याल उप-प्रमुख बन्न चाहेका थिएनन् । तत्कालिन समय नगर प्रमुखमा एमालेले विमला घिमिरेलाई टिकट दिए पछि अर्याल उप-प्रमुख लड्न बाध्य भएका हुन् । उनका समर्थकले उनलाई उप-प्रमुखमा भएपनि चुनाव लड्न ताकेता गरेपछि उनी चुनाव लड्न राजी भएका थिए ।

नगरको बागडोर सम्हाल्ने गरि नगर प्रमुख हुन चाहेका अर्याल यो निर्वाचनमा एमालेबाट टिकट पाउन सफल बने । एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेल, एमालेका प्रभावशाली नेता कृष्ण पौडेल, जन्जिर प्रसाद थारु लगायतको तीव्र इच्छाका बीच अर्यालले पार्टीबाट टिकट पाएका हुन् । पार्टीले विश्वास गरेका अर्यालले चुनाव जित्नेमा एमालेका नेताहरु ढुक्क जस्तै छन् ।

नगर उप-प्रमुखको जिम्मेवारीमा रहदा उनीमाथि लाग्ने आरोप नगरको कमाण्ड गर्न सकेन् भन्ने हो । तर, अर्यालले यसलाई पटक पटक चिर्दै आएका छन् । निर्वाचनको दौडमा रहदा पनि अर्यालले यो आरोपलाई चिर्दै भन्छन्, ‘नगर उप-प्रमुखको जिम्मेवारीमा भएर नगर प्रमुखको काम गर्न कसरी सकिन्छ ? नगर प्रमुखको जिम्मेवारीमा रहदा बल्ल सोचेजस्तो काम गर्न सकिन्छ । उप-प्रमुख, उप-प्रमुख नै हो ।’

एमालेको बहुमत रहदा समेत अर्यालले कहिल्यै नगरमा विवाद गरेनन् । मिलेरै नगरको विकास सम्भव छ भन्ने उनको मुख्य ध्येय रह्यो । कतिपय पालिकामा एउटै पार्टीका नगर प्रमुख र उप-प्रमुख हुँदा समेत एकआपसमा विमेल भएका समाचार बाहिर आउँदा अर्यालले फरक पार्टीको नगर प्रमुखसंग पनि ‘हातमा हात, काँधमा काँध’ मिलाएर अगाडी बढे । व्यक्तिगत अह्म नपाल्ने अर्यालको मजासिलो स्वभाव प्रमुख सम्पत्ति हो ।

अर्यालमाथि आफ्नो भन्दा अरुको कुरा सुनेर निर्णय गर्छ भन्ने आरोप बढी लाग्ने गर्छ । पार्टी भित्र होस्, बाहिर उनका नजिकका व्यक्तिले उनलाई गलफासोमा पार्ने गर्छन् भन्ने उनी माथि आरोप छ । नगर प्रमुख भएपछि पनि आफ्नो भन्दा अरुको कुरा सुनेर चल्छन् की भन्ने डर कार्यकर्तामा छ । तर, अर्याल नगर प्रमुख भएपछि कसरी उत्कृष्ट काम गरेर देखाउँछु जिताएर हेर्न बारम्बार आग्रह गरिरहेका छन् ।

यहीँ आरोप सायद अर्यालले पनि सुनेको हुनुपर्छ । शनिबार साँझ कपिलवस्तु जेसिजले राखेको ककस कार्यक्रममा पनि अर्यालले जनप्रतिनिधि सबैको साझा हो भन्ने भनाई जोडतोडले प्रस्तुत गरे । चुनाव लड्दासम्म पार्टीको हुने जिते पछि सबैको साझा भएर काम गर्नुपर्नेमा उनको जोड थियो । आफुले चुनाव जिते राजनीति रुपमा पक्षपात नगर्ने उनले बताउँदै आएका छन् ।

०७४ सालमा एमालेले ल्याएको घोषणापत्र अनुसार काम नभएको वाणगंगाबासीको आरोप छ । जनलहर हुँदा हुँदै पनि मेयरमा हारेको एमालेले नगर प्रमुख हार्दा सोचे अुनसार काम गर्न नसकेको बताउँदै आएको छ । तर, नगरमा रहुन्जेल तमाम काम भएको अर्याल नै गर्वका साथ भन्ने गर्छन् ।

जेसिजको कार्यक्रममा पनि उनले ५ बर्षे कार्यकालमा आफुहरुले गरेको कामको बेलिविस्तार सुनाए । २ सय किलोमिटर बाटो पक्की, सयौं ग्राभेल, पुलपुलेसा निर्माण, अधुरा विद्यालयका भवन निर्माण, नगरकै प्रशासनिक भवन निर्माण, वडा कार्यालय निर्माण लगायतका काम सोचेभन्दा पनि राम्रो काम गरेको उनी बताउँछन् ।

वाणगंगामा ५ बर्ष गरेको कामको प्रशंसा छिमेकी पालिकाबाट पनि हुने गरेको भन्दै नहिच्किचाई राम्रो भन्न नगरबासी समक्ष अर्यालको आग्रह छ ।

आगामी ५ बर्ष आफुले गर्ने कामको वेलिविस्तारसहित जनताको घरदैलोमा मत माग्न पुगिरहेका अर्याल वाणगंगाको बागडोर सम्हाल्न आउन्छन् की आउँदैनन् आगामी शुक्रबारको समय कुर्नुपर्ने छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९ आइतबार ००:००  ९ : ३१ बजे