१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

लुम्बिनीमा स्थानिय तह निर्वाचन : कुन जिल्लाको अवस्था कस्तो ?



बुटवल।


लुम्बिनी प्रदेशका जिल्लाहरुमा छिटफुट घटना बाहेक बिहानैदेखि शान्तिपूर्ण र उत्साहजनक ढंगले मतदान भइरहेको सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् ।

बाँकेको कोहलपुरमा वाईसीएलका स्थानीय नेतामाथि धारिलो हतियार प्रहार भएको छ भने पूर्वी रुकुमको पुथाउत्तरगंगाको पेल्मामा माओवादी केन्द्र र कांग्रेस कार्यकर्ताबीच झडप हुनुबाहेक अन्य स्थानहरुमा चुनाव शान्तिपूर्ण छ ।

पूर्वी रुकुमको दुर्गम क्षेत्र पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्मा प्राविको मतदान केन्द्रमा कांग्रेस र माओवादी केन्द्रबीचको तनावका कारण मतदान सुरु हुन नसकेको हो । त्यहाँ समस्या समाधानको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए ।

बाँकेको कोहलपुर नगरपालिका–१को कौशिल्यानगरमा माओवादी केन्द्र निकट वाईसीएलका स्थानीय नेता राजु शाहीमाथि धारिलो हतियार प्रहार भएको छ । घाइते शाहीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

हतियार प्रहारमा संलग्न केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव निरीक्षक ऐन बहादुर मल्लले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत खडानन्द अधिकारीले भने बाँकेका सबै पालिकामा बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको जानकारी दिए ।

बर्दिया जिल्लाका जम्मा १५३ मतदानस्थल र ३७१ मतदान केन्द्रबाट बिहान ७ बजेदेखि नै शान्तिपूर्वक मतदान भइरहेको छ । बर्दिया जिल्लामा बिहान १० बजेसम्ममा ३० हजार ६५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

दाङका १० वटै पालिकामा शान्तिपूर्ण रुपले मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । मध्याह्नन १२ बजेसम्म २५ प्रतिशत मतदान भएको कार्यालयले जनाएको छ । दाङमा ४ लाख ९ हजार ९०२ जना मतदाता रहेका छन् भने १५३ मतदान स्थल र ५६१ मतदान केन्द्र छन् ।

रुपन्देहीमा पनि शान्तिपूर्वक मतदान भइरहेको छ । रुपन्देहीको तिलोत्तमा घर भएका गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खांणले रुपन्देहीको तिलोत्तमा–८ को चार नम्बरस्थित ज्योति आधारभूत स्कूलमा पहिलो मतदान गरे । उनी एक हप्तादेखि रुपन्देहीमै छन् ।

रुपन्देहीको तिलोत्तमाकै बासिन्दा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भूसालले तिलोत्तमा–९ को गौतमबुद्ध शिशु सदन आधारभूल विद्यालयको मतदान केन्द्रबाट र एमाले सचिव छविलाल विश्वकर्माले बुटवल–११ को लुम्बिनी वाणिज्य क्याम्पसको मतदान केन्द्रबाट मतदान गरेका छन् । रुपन्देहीकै कांग्रेस नेता एवं पूर्व अर्थराज्यमन्त्री भरतकुमार शाहले रुपन्देहीको गैडहवा गाउँपालिका–३ स्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।

रुपन्देहीमा ७ सय वटा मतदान केन्द्र छन् भने ६ लाख ३२ हजार ३६० मतदाता छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार रुपन्देहीमा ३८ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनलाई लक्षित गर्दै रुपन्देहीमा ४ हजार ४ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । म्यादी प्रहरी २४ सय, नेपाल प्रहरी १४ सय र सशस्त्र प्रहरी ६०० परिचालन गरिएको छ ।

प्युठानमा ११ बजेसम्म ३० प्रतिशत मत खस्यो

प्युठानमा पनि निर्वाचन शान्तिपूर्ण छ । बिहान ११ बजेसम्म प्युठानमा ३० प्रतिशतको हाराहारीमा मत खसेको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिए ।

जिल्लाका सबै केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको बताउँदै उनले भने, ‘अहिले रिपोर्ट लिने काम जारी छ, ३० प्रतिशत मतदान भएको हुन सक्ने अनुमान गरिएको छ ।’

प्यूठानमा कुल २२० मतदान केन्द्र एवं १५१ मतदानस्थल तय गरिएको छ । यसका लागि १ हजार ८४ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन घिमिरेले बताए ।

रोल्पामा केहीबेर रोकियो मतदान

रोल्पाको लुङ्ग्री–४ मा दलका प्रतिनिधिहरुबीच सुरु भएको विवादले स्थिति असामान्य भएपछि केहीबेर मतदान रोकिएको थियो । तर सर्वदलीय बैठकपछि मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत धृता कुमारी खत्रीले जानकारी दिइन् ।

रोल्पाकै थवाङ गाउँपालिका–४ उवा टिकरीबाङमा गएराति माओवादी केन्द्र र एमाले–कांग्रेस गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएपछि सम्पर्कविहीन भएका दुई जना भने अझै सम्पर्कमा आएका छैनन् । यो घटनामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

अर्घाखाँचीमा पनि अहिले निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ । बिहान सन्धिखर्क नगरपालिका–९ मा पर्ने अर्घारजस्थल माविको राशीचौर मतदान केन्द्रमा र भूमिकास्थान–२ को भगवती मावि मतदान केन्द्रमा बिहान केहीबेर मतदान रोकिए पनि अहिले जारी रहेको मुख्य निर्वाचन अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।

नवलपरासीको बर्दघाट सुस्ता पश्चिममा भने निर्वाचन बिहानैदेखि शान्तिपूर्ण छ । मुख्य निर्वाचन अधिकृत सुजाता कुमारी खत्रीले जिल्लाका १२१ मतदान स्थल र २८३ वटा मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान शान्तिपूर्ण रहेको जानकारी दिइन् ।

पाल्पामा पनि निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ । जिल्लाका ११८ स्थल र २४७ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण रुपमा निर्वाचन भइरहेको मुख्य निर्वाचन अधिकृत रुक्माङ्गत अर्यालले जानकारी दिए ।

रम्भा गाउँपालिकामा २६ प्रतिशत मत खसेको छ । यसैगरी बगनासकालीमा ५०७२ र पूर्वखोलामा ४०९२ मत खसेको र अन्यको विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।

गुल्मीमा पनि शान्तिपूर्ण मतदान भइरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९ शुक्रबार ००:००  २ : १३ बजे