१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

हावाहुरीले विद्युतमा अवरोध हुँदा अन्धकारमय कपिलवस्तु, मतगणनामा समस्या



मायादेवी अनलाइन, वाणगंगा ।
शुक्रबार साँझ आएको तीव्र वेगको हावाहुरीले कपिलवस्तुको विद्युत सप्लाईमा अवरोध सिर्जना भएको छ ।

विद्युतमा समस्या आउँदा जिल्लाको अधिकांश भूभाग अन्धकारमय बनेको छ ।

स्थानीय तह निर्वाचनमा मतदान सकिदै गर्दा साँझपख आएको तीव्र गतिको हावाले मतदान प्रक्रियामा समेत अवरोध सिर्जना गरेको छ ।

मतदान गर्नका लागि लामवद्ध भएका मतदाता हावाहुरीले तितरवितर हुन पुगे भने, मतदानस्थलमा मतपेटीका व्यवस्थापन गर्न कर्मचारीलाई हम्मे हम्मे गरेको थियो ।

हावाहुरीले गर्दा विद्युत ढप्प हुँदा मतदानस्थलबाट मतगणनासम्म मतपेटीका ल्याउन समस्या भएको बताइएको छ ।

जिल्लाको वाणगंगा आसपासमा तीव्र वेगमा हावाहुरी चलेर समस्या पारे पनि दक्षिणी भेगमा खासै समस्या नआएको जनाइएको छ ।

यता वाणगंगा नगरपालिकाको मतपेटीका संकलनको काम जारी रहेको नगर निर्वाचन कार्यालयले जनाएको छ ।

११ वटै वडाबाट मतपेटीका संकलन गरेर मतगणनास्थल वाणगंगा मावि गजेहडा ल्याएपछि मात्र सर्वदलिय बैठक राख्ने तयारी निर्वाचन कार्यालयले गरेको छ ।

सर्वदलिय बैठक पछि मतणनाबारे निर्णय हुने जनाइएको छ ।

यता विद्युत अवरुद्धको कारण आजै मतगणना हुने सम्भावना न्यून देखिएको छ ।

विद्युत प्राधिकरणका कर्मचारी भने साँझ देखि नै अवरुद्ध विद्युत सुचारुमा लागि परेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९ शुक्रबार ००:००  ९ : ०७ बजे