१९ कार्तिक २०८१, सोमबार | Tue Nov 5 2024

आज २५६६ औँ बुद्धपूर्णिमा, लुम्बिनीमा विशेष कार्यक्रम



लुम्बिनी ।

गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको त्रिसंयोगको रुपमा आज सोमबार बुद्ध पूर्णिमा मनाइदैछ। इसापूर्व ६२३ मा वैशाख शुक्ल पूर्णिमाका दिन लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो। पहिलो सन्तानको माइतीमा जन्म दिने तत्कालीन परम्परा अनुसार महारानी मायादेवी कपिलवस्तु राजदरबार तिलौराकोटबाट आफ्नो माइती देवदह जादै गर्दा लुम्बिनी उद्यानमा सिद्धार्थ गौतमको जन्म भएको थियो।

लुम्बिनीमा जन्म भएपछि सिद्धार्थको जन्मको खुशीयालीमा तिलौराकोटबाट बाजागाजासहितका लावालस्कर आएर विजय उत्सव मनाउँदै तिलौराकोट दरबारमा प्रवेश गराएका थिए। राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थ मानिसले पाएको दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किएका थिए। तपस्या गर्न निस्किएका सिद्धार्थले पूर्णिमाकै दिन बुद्धत्व प्राप्त गरेका थिए। त्यसपछि सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो।

वैशाख शुक्ल पूर्णिमाकै दिन उनले बोधगयास्थित बोधीवृक्षमुनि ध्यान गरिरहेको समयमा बुद्धत्व प्राप्त गरेका थिए। वैशाख शुक्ल पूर्णिमाकै दिन उनको ८० वर्षको उमेरमा महापरिनिर्वाण निधन भएको थियो। बुद्धले बुद्धत्व प्राप्त गरेपछि सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि यी आठ मार्ग हुन् भनी ज्ञान बाँडेका थिए।

आज चैत्य, गुम्बा, विहारलगायत स्थलमा विभिन्न कार्यक्रम गरेर बुद्धपूर्णिमा मनाइदैछ। बुद्ध जन्मस्थल लुम्बिनीमा आज सोमबार २५६६औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस २०७९ को विशेष कार्यक्रम आयोजना गरिएको छ। सरकारले घरघरमा दीपावली गरेर बुद्ध पूर्णिमा मनाउन आह्वान गरेको छ। सम्राट् अशोकले ई।पू। २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेपछि बुद्धको जन्मस्थल लुम्बिनी रहेको प्रमाण फेला परेको थियो।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन ९यूनेस्को० ले लुम्बिनीलाई सन १९९७ मा विश्व सम्पदा सूचिमा सूचिकृत गरेको थियो । २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि वैशाख शुक्ल पूर्णिमामा देशभर सार्वजनिक बिदा दिन थालिएको हो। २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो। गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ।

बुद्ध पूर्णिमाको अवसरमा आज लुम्बिनीमा विशेष कार्यक्रम हुँदैछ। कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी आइपुगेका छन् भने उनका भारतीय समकक्षी नरेन्द्र मोदी सोमबार लुम्बिनी आउने कार्यक्रम छ।

लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाअर्चनाका साथसाथै लुम्बिनीमा निर्माण भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ।

२५६६औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस २०७९ को अवसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाले ध्यान केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ। २५६६ औं बुद्धपूर्णिमाको औपचारिक कार्यक्रम पनि सोही केन्द्रकै हलमा आयोजना हुने लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसाद संयोजक सिद्धिचरण ढुण्डीराज भट्टराईले जानकारी दिए। मूल कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विभिन्न मुलुकका प्रतिनिधिहरु सहभागी हुने भट्टराईले बताए। कार्यक्रममा प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ।

बुद्धपूर्णिमा मनाउन लुम्बिनीलाई सिंगारेर चिटिक्क पारिएको छ। मायादेवी मन्दिरको भित्र र बाहिर रंगरोगन गरिएको छ। बाहिरी पुरातात्त्विक संरचनालाई फूलले सजाएर आकर्षक बनाइएको छ। मन्दिर परिसरभित्र, बाहिर र अशोक स्तम्भभित्र सरसफाइ गरेर चिटिक्क बनाइएको छ। बाटोघाटो सफा गरिएको छ भने विहारहरूलाई झिलीमिली बत्तीले ढाकिएको छ। पवित्र उद्यान क्षेत्रमा झिलीमिली बत्ती राखिएको छ।

बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यवस्था पनि उच्च राखिएको छ। मोदीको सुरक्षाका लागि ३० जना भारतीय सुरक्षाकर्मी स्पेसल प्रोटेक्सन गार्ड लुम्बिनी आएका छन्। फ्रन्टलाइनमा भारतीय सुरक्षाकर्मी, भित्री सुरक्षा सबै हेडक्वार्टरले हेरेको र बाहिरी सुरक्षा मात्र जिल्लालाई जिम्मा दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए।

प्रकाशित मिति : २ जेष्ठ २०७९ सोमबार ००:००  ७ : ४६ बजे