बुटवल।
लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढी पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको तर्फबाट विपद् प्रभावित नागरिकका लागि उक्त रकम सहयोग उपलब्ध गराइने शुक्रबार जानकारी दिएका हुन्।
प्रदेश सरकारले लुम्बिनी प्रदेशभित्र स्थायी रूपमा बसोबास गर्ने कुनै नागरिक विपद्मा परी मृत्यु भएमा उनका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ।
मुख्यमन्त्री आचार्यले विपद्को कठिन परिस्थितिमा लुम्बिनी प्रदेशभित्रका उद्योगी–व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक सङ्घसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आ–आफ्नो ठाउँबाट राहत तथा उद्धारका कार्यमा सक्रिय सहभागिता जनाउन अपिल गरेका छन्।
उनले विपद्को संवेदनशील समयमा अपुष्ट सूचना, अफवाह तथा भ्रामक सामग्रीको प्रचारप्रसार नगर्नसमेत आग्रह गरेका छन्। विपद्सम्बन्धी सूचना सम्प्रेषण गर्दा आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन उनले सञ्चारमाध्यम तथा आम नागरिकलाई आग्रह गरेका हुन्।








प्रतिक्रिया