१३ असार २०७९, सोमबार | Mon Jun 27 2022

आफ्नै गल्तीले गठबन्धनको एम्बुसमा परेँ, माओवादीले पछाडीबाट ‘छुरी’ धस्यो



चन्द्रकान्त न्यौपाने । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ मा यसपाली चार प्रतिस्पर्धा थियो । नेकपा एमाले, नेपाली काँग्रेस, चार दलीय गठबन्धन (माओवादी केन्द्र, नेकपा समाजबादी, राष्ट्रिय जनमोर्चा र जनता समाजबादी पार्टीले गठबन्धन गरी चुनावमा होमिएका थिए ।

त्यसमा नेकपा एमालेका उम्मेदवार छविलाल रेश्मी विजयी हुनुभएको छ । सर्वप्रथम उहाँ र उहाँको टिमलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना । तीव्र प्रतिस्पर्धाकाबिच पराजित नभई दोश्रो हुने काँग्रेसका दिनेश क्षेत्री र तृतीय हुने राप्रपाका निर्मल शाहीलाई पनि धेरै धेरै बधाई र शुभकामना ।

यसमा सबैभन्दा कम मत ल्याउने गठबन्धनबाट म थिएँ । म चौथो भएँ । मलाई माया गरेर जजसले मत दिनुभयो उहाँहरुप्रति पनि सर्वप्रथम धेरैधेरै आभारी छु । यहाँले दिनु भएको मतलाई शिरमा राखेर मैले उप्रान्त प्रमाणित गरेरै छोड्ने छु । त्यो अमुल्य मतको कदर हुने गरी काम गर्नेछु । जहाँ रहे पनि यही समाजभित्र रहने छु ।

हारजित हुने चुनावी सिद्धान्तलाई मैले हाँसीहाँसी ग्रहण गरेको छु । हार हुन्छ थाहा थियो नै तर यो खालको लज्जास्पद स्थिति मैले आंकलन गरेको थिइनँ । मेरो लज्जासपद हार पछाडीका केही रहस्यहरु बारे आज मैले मेरा अनुयायी र चित्त दुखेका प्रिय मनहरुलाई जानकारी गराउनै पर्ने वाञ्चनीयता ठानेर केही लेख्दै छु ।

स्थानीय तहको निर्वाचनको मनोनयन मिति २०७९ वैशाख १२ गतेको अन्तिम अवधि दिउँसो साढे चार बजेसम्म नै मेरो खल्तीमा २ वटा मनोनयन पत्र थियो, एउटा स्वतन्त्र उम्मेदवारीको, अर्को गठबन्धनको । किनकि चुनाव मिति आउनुभन्दा करिब २० दिन अगावै मैले यस वडाको वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव लड्ने घोषणा गरेको थिएँ ।

यतिखेरसम्म कुन पार्टीबाट को उठ्छ टुङ्गो थिएन । काँग्रेस र एमालेको गढ मानिएको यस वडामा अरुलाई चुनाव जित्न मुस्किल नै थियो । इभन काँग्रेस र एमाले पनि कसरी एक अर्कालाई पराजित गर्न सकिन्छ भनेर गृहकार्यमा थिए । त्यसैले उनीहरु पटकपटक माओवादी र अन्य साना घटकसंग चुनावी तालमेलबारे छलफल गरिरहेका थिए । तर भनेजस्तो भएन, एमाले र काँग्रेसले माओवादीलाई सम्मानजनक एकतामा सहभागि गराउन चाहेन । माओवादी र सानादललाई ठुला दलले पा पछारे र अपमान गरेपछि चार दलबीच रातारात चुनावी एकता भएको थियो ।

एकता त भयो तर चुनाव लड्ने उपयुक्त उम्मेदवार नभएपछि उनीहरुले मलाई अफर गरे । उसो त मैले केही समयअघि कुनै पार्टीमा नरहेको पनि जानकारी गराएको थिएँ । त्यति बेला माओवादी नेताले ब्रिफिङ गर्दै भन्थे ‘यहाँ हाम्रा करिब पाँचसात सय मत छन् । गठबन्धनका अन्य पार्टीका एकडेढ सय मत आउँछन् । तपाईको ब्यक्तिक प्रभाव राम्रो छ । चुना जितिन्छ । कलम चिन्हमा चुनाव लड्नु पर्यो ।’

मनोनयनको अन्तिम समय भएकाले अरुको विश्वास गरिहाल्ने कमजोरी बोकेको मैले यसो भयो भने त चुनाव जित्न पनि सकिन्छ नि भनेर हुन्छ भन्ने निर्णय गरेँ । कलम चिन्हमा चुनाव लडौँ भनेँ । सोच्न, अरुसंग सुझाव लिन पनि समय भएन । कलम चिन्ह लिने वित्तिकै मेरो आलोचना सुरु भयो । तै पनि चिर्दै चिर्दै म अगाडी बढिरहेको थिएँ तर आफ्नै घरबाट यस्तो घातको पराकाष्टा होला भनेर कल्पनासम्म गरेको थिएनँ ।

माओवादीको राम्रै मतदाता भएको यस वडामा कलम चिन्हबाट चुनाव लड्नु पर्दा नै मलाई शंका लागेको थियो कतै घात त हुने होइन । कति माओवादीका नेता आफूहरुले वडा अध्यक्ष नपाएको गुनासो गर्दै थिए, कतिपय माओबादी कार्यकर्ताले कलममा मत दिन्नौँ पनि भनिरहेका थिए । त्यसैले त्यतिखेरसम्मै स्वतन्त्रतर्फको मनोनयन पत्र खल्तीमै थियो ।
उतिखेरै मैले सोधेको थिएँ यो हेल्दी गठबन्धन हो त ? यदि पछि घात हुन्छ भने म स्वतन्त्रमै चुनाव लड्छु । मलाई फसाउने काम कहिँ कतैबाट नहोओस् । उनीहरुले विश्वास दिलाए । जसको फलस्वरुप यो लज्जासपद हार ब्यहोर्नुपर्यो । म सोझो मान्छेले यस्तो खाले षडयन्त्र हुन्छ भनेर कुनै बेला पनि कल्पना गरेको थिएनँ ।

चुनावको लागि मेयर, उपमेयरसहित वडा अध्यक्ष र अरु चार जनाले निर्वाचन कार्यालय गजेहडामा वडा सदस्यमा मनोनयन दर्ता गर्यौँ । सबै उत्साहित थियौँ । यसपटक चुनाव जित्नुपर्छ भन्दै राति नौ बजे आआफ्नो घर फर्कियौँ । केही दिनपछि त्यसमा मनोनयन गरिएकी हरिहरपुरकी अस्मिता नेपालीको उम्मेदवारी थुतियो । पाँच जनामध्ये म, महिला सदस्य विमला श्रेष्ठ, खुला सदस्यहरु नुर बहादुर राना र रामचन्द्र खनाल मात्र चुनावी मैदानमा भयौँ ।

हामी चारै जना गठबन्धनको मर्म अनुसार अथहक मिहिनेतमा लाग्यौँ । ११ दिनसम्म हिँडेर वडाका ६४०० मतदाता कहाँ पुग्यौँ । मत माग्यौँ । माओवादीबाहेक अरु दलको त्यति जनाधार भएको ठाउँ होइन यो वडा । माओवादीका मत कतै बाँडिन्न् भन्ने भरोसा नै थियो तर त्यही गठबन्धनको प्रमुख घटक माओवादी र नेताहरु त विपक्षीलाई मत मागि हिँडिरहेका रहेछन् ।

पछि बल्ल थाहा पायौँ अस्मिता नेपालीलाई पनि त्यही षडयन्त्र अनुसार थुतिएको रहेछ । पछि धेरैले सुनाए मओवादीका मत बेचिए, तपाईहरु त प्रयोग हुनुभयो । चुनावको मौन अवधिमा ती मानिसहरुले धर्म बिर्सेर हामीमाथि नाङ्गो नाच नै नाचेछन् । मुख्यगरी मविरुद्ध उनीहरुले ठुलो षडयन्त्र गरेछन् । अगाडी हौसाएर उनीहरुले मलाई पडाडीबाट आज छुरी धस्ने काम गरे ।
चुनावी प्रचारमा होमिँदै गर्दा एमाले र काँग्रेसका केही मित्रले भन्थे ‘किन यति कष्ट गर्दै हुनुहुन्छ माओवादी त किनिइसक्यो । तपाईलाई परिचालित गर्ने शीर्ष नेता नै अरुलाई मत माग्दै हिँडिरहेछन् ।’ मैले भन्थेँ त्यतिखेर ‘यस्तो घात हुँदैन । हामीले गठबन्धन गरेका छौँ । बीचमा मानिसलाई लडाउने र भिँडाउने काम नगर्नुहोस् ।’ नभन्दै चुनाव प्रचार प्रसार गर्दा माओवादीकै जिम्मेवार नेता अरु पार्टीको प्रचारमा देखिए तै पनि मिहिनेत गरौँ, हामीले धर्म छोड्न हुन्न भनेर हामी चार जनाको टोली अहोरात्र प्रचारमै लागि नै रह्यौँ ।

म र मेरो टोली गठबन्धनको मर्ममा इमान्दार थियौँ । हामीमा न त कुनै षडयन्त्र थियो, न त कुनै स्वार्थ । हामीले गर्नु पर्ने सबै गर्यौँ । जनतालाई जगायौँ । हाम्रो चुनाव शैली पनि आफ्नै प्रकारको थियो । यसले विपक्षीहरु अत्तालिएका थिए । हाम्रो कार्यक्रम देखेर जताततै हाम्रै चर्चा हुन्थ्यो । कहाँसम्म भने चन्द्रकान्त कहाँ जान्छ भनेर निगरानीसमेत केही पार्टीले बढाएका थिए । पैसाको बार्गेनिङका कुरा पनि आए । राति ९ बजे फोन गरेर सालझण्डीसम्म जाऔँ न कुरा गर्नु छ पनि विपक्षीका अगुवा नेताले भन्थे । चुनावमा होमिइसकेकाले म त्यस्ता डर, त्रास र लोभलालचबाट कत्ति प्रभावित भइनँ ।
स्वतन्त्रबाट मोडिनेवित्तिकै मेरा समर्थक र अनुयायी दुखी बन्नुभयो । मैले हजुरहरुलाई दुखाएँ । आज उहाँहरुले तपाईँ स्वतन्त्र रुपमा लडेको भए यस्तो नतिजा आउने थिएन भनेर भनिरहनु भएको छ । यो सुझावलाई मैले जीवनमा यु टर्नको रुपमा लिएको छु ।

चुनावको लागि निश्चित योग्यता पुगेको हुनाले म त चुनावमा लडेको मात्रै थिएँ । तर यहाँ त मविरुद्ध मानिसहरु यसरी खनिए कि मैले कुनै अपराध कर्म गर्न खोजिरहेको छु । चुनावमा हार जित त हुन्छ नै हुन्छ । यस नतिजालाई मैले हाँसिहाँसि लिएको छु् तर जुन लज्जास्पद तरिकाले हराउने दिशामा मानिसहरु लागि परे यसले ममाथि नै आज प्रश्न गर्ने बनाएको छ । मेरो इमान्दारिता र सोझोपन समाजको लागि बाधक थियो ? आफूसंगको योग्यता, ज्ञान सिप र क्षमता आफ्नै कर्मस्थलमा लगाउँछु भन्नु के गल्ती थियो ? जानेर आजसम्म कसैमाथि नराम्रो गरिनँ, के त्यो समाजको लागि बाधक थियो ? पत्रकारिताबाट पाएको स्नेहलाई जनसमक्ष पुर्याएर जनसेवा गर्छु भन्नु मेरो अपराध नै थियो त ? काठमाण्डौँबाट आएर कपिलवस्तुको मिडियामा नयाँ उर्जा ल्याउनु र नयाँपनको लागि प्रोत्सहान गर्नु के मेरो गल्ती थियो ? थिएन भने एउटा काम गर्न खोज्ने मानिसलाई उत्सहाहित गराउन छोडेर किन हतोत्साही गराउने काममा मानिसहरु लागे ?

यो त चुनावी नतिजा मात्र हो सबथोक होइन । यसले मेरो व्यक्तित्व र क्षमतामाथि माथि कुनै असर गर्ने छैन । मुख्य गरी माओवादीको संगठनलाई असर गर्नेछ । भोलि यहाँ धेरै प्रकारको चुनाव हुनेछन् । त्यहाँ माओवादीको हैसियत कति भन्ने कुरा यही नतिजाले बताउने छ । मेरो बर्बाद बनाउने मनसाय राखेर गरिएको घातले मलाई होइन उहाँहरुलाई पछिपछिसम्म पोल्ने छ ।

निरन्तर इमान्दारिताको मार्गमा हिँडेर मैले समाजलाई प्रमाणित गराउने छु नै । यो चुनावले मलाई हानी त गरेको छैन नै फाइदा नै पुगेको छ भने संगै धेरै कुरा सिकाएको छ । पहिलो कुरा यतिधेरै मतदातालाई घरघरमा भेट्ने मौका पाएँ । वडाको विकास जनताको आर्थिक, सामाजिक स्थिति देख्ने मोका पाएँ । समाजका बौद्धिक बर्गको मनमनमा बस्ने मौका पाएँ । आफ्नो भिजन शेयर गर्ने मौका पाएँ ।यसबाट राम्रो पाठ सिकेको छु ।

राजनीतिमा योग्यता र क्षमता भएर मात्र हुने रहेनछ तिक्डमबाजी, साम, दाम, दण्डभेद अपनाउनु पर्ने रहेछ । पैसाले पो मत र मन किन्न सकिने रहेछ । झुट र बदमास हुनुपर्दोरहेछ जनताको मन जित्न । आफ्नो निर्णयमा चल्नु पर्ने रहेछ, अरुको प्रयोगशालाको औजार बन्न हुनेरहेनछ भनेर पनि राम्ररी बुझ्ने स्कुलको रुपमा यो स्थानीय चुनाव रह्यो । यो बीचमा मलाई माया, स्नेह र हौसला दिनुहुने, मत दिनुहुने, रचनात्मक आलोचना र सुझाव दिनुहुने सबै सच्चा नागरिकप्रति हार्दिक अभार व्यक्त गर्दछु । गठबन्धनबाट सच्चा सहयोग गर्नुहुने सबैप्रति मेरो नमन छ । अब म स्वतन्त्र नागरिक नै रहेर प्रत्यक्ष, परोक्ष रुपमा हजुरहरुको सेवामा खटिने प्रतिवद्धता व्यक्त गर्दछु ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९ बुधबार ००:००  ११ : २६ बजे