१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कपिलवस्तुमा माओवादीको लोकप्रियता बढ्दो, ०७४ को भन्दा यो निर्वाचनमा उल्लेख्य सुधार



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (माओवादी केन्द्र) को कपिलवस्तुमा लोकप्रियता बढेको हालै सकिएको स्थानीय तहको निर्वाचनले देखाएको छ ।

बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तर्गत जिल्लाका १० पालिकाका प्रमुख जित्न नसके पनि वडागत अवस्थाले माओवादीको लोकप्रियता बढाएको दर्शाएको हो ।

०७४ सालमा माओवादीले जिल्लाको कृष्णनगरमा एक्लै प्रतिस्पर्धा मार्फत नगर उपप्रमुख जितेको थियो । यद्यपि यो निर्वाचनमा भने उक्त नगरपालिका माओवादीले गुमाउन पुगेको छ ।

शुद्धोधन गाउँपालिकामा उपाध्यक्ष जित्ने गरि माओवादीका उम्मेद्वार होम प्रकाश चौधरी अगाडी बढेका छन् । चुनावको अन्तिम नतिजा भने सार्वजनिक भइसकेको छैन् ।

९६ वडा रहेको जिल्लामा शुक्रबार विहानसम्म माओवादी केन्द्रले ७ वडामा विजयीको झण्डा फहराउन पुगेको छ ।

अहिले शुद्धोधन गाउँपालिका, महाराजगञ्ज नगरपालिका र विजयनगर गाउँपालिकाको मतगणना जारी छ । यी पालिकाका कतिपय वडा माओवादीले जित्ने सम्भावना छ । माओवादीले जितेका वडा मध्ये सबैभन्दा बढी मायादेवी गाउँपालिकाका हुन् । त्यहाँ माओवादीले तीन वडा जितेको छ ।

८ वडा रहेको मायादेवीमा वडा नं १ मा नेकपा (माओवादी केन्द्र)का इसहाक मुसलमान, वडा नं. ५ मा माओवादीका राघवेन्द्र पाण्डेय र वडा नं. ८ मा माओवादीका मुस्ताक अहमद मुसलमानले वडाध्यक्ष जितेका छन् ।

कृष्णनगर नगरपालिकाको वडा नं. ८ मा माओवादीका नुर महोम्मद खाँले वडाध्यक्ष जितेका छन् ।

शिवराज नगरपालिकाको वडा नं. ९ मा रामगोपाल थारु र वडा नं. ७ मा अनुप कुमार चौधरीले माओवादीबाट वडाध्यक्ष जितेका छन् ।

वाणगंगा नगरपालिका वडा नं. ३ मा टेकबहादुर झेँडीले पनि वडाध्यक्ष जितेका छन् ।

०७४ मा माओवादीले शिवराजमा १ र वाणगंगामा १ वडाध्यक्ष जितेको थियो भने, मायादेवीमा कुनै वडामा जित निकाल्न सकेको थिएन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९ शुक्रबार ००:००  ८ : २८ बजे