२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

बुटवलको उपमहानगरपालिकाको प्रमुखमा काँग्रेसका पाण्डे विजयी



बुटवल ।

बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा ५ दलीय गठबन्धनका खेलराज पाण्डे विजयी भएका छन् । गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका नेपाली काँग्रेसका पाण्डेले नेकपा एमालेका बाबुराम भट्टराईलाई फराकिलो मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय बुटवलका अनुसार पाण्डेले ३० हजार १३० मत पाप्त गर्दा एमालेका भट्टराईले २२ हजार ५९६ मत प्राप्त गरे । पाण्डेले निकटतम प्रतिद्वन्दिभन्दा ७ हजार ५३३ मत बढी लिएका छन् । यसैगरी राष्ट्रिय प्रजान्त्र पार्टी राप्रपाको तर्फबाट प्रमुख पदका उम्मेद्वार मृगेन्द्र शेरचनले ४ हजार २९७ मत प्राप्त गरे ।

बुटवलको उपप्रमुख पदमा भने गठबन्धनलाई पराजित गर्दै एमालेकी सावित्रा अर्यालले भारी मतान्तरले जित हासिल गरिन । अर्यालले २४ हजार ९०४ मत प्राप्त गर्दा गठबन्धन दलको तर्फबाट उम्मेद्वार नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले १६ हजार ९८० मत प्राप्त गरे । अर्यालले गठबन्धनका उम्मेदवारभन्दा ७ हजार ९२४ मत बढी प्राप्त गरेकी छन् । यसैगरी राप्रपाको तर्फबाट उपमेयर पदकी उम्मेद्वार भगवती पाण्डेले ६ हजार ५२९ मत प्राप्त गरिन् ।

नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकामा २ दशकअघिको शाख फर्काएको हो । यसअघि २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २३ सय मत अन्तरले पराजित भएका पाण्डेले यसपटक जित हात पार्न सफल भएका हुन् ।

बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नंं १०, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक(एक वडा जितेका छन् ।

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले २ दशकपछि नेकपा एमालेबाट नेतृत्व फर्काउन सफल भएको छ । यसअघि बुटवलमा २०४९ सालमा भएको स्थानीय चुनावमा कांग्रेसका सूर्यप्रसाद प्रधान बुटवलका मेयर बनेका थिए । २०५४ सालमा भएको स्थानीय चुनावमा प्रधान एमालेका भोजप्रसाद श्रेष्ठसँग पराजित भएका थिए ।

मेयरमा पराजित प्रधानले दुई वर्षपछि २०५६ को संसदीय चुनावमा टिकट पाएर सांसद बने । त्यसबेला कांग्रेसका प्रधानसँग एमालेका विष्णु पौडेल पराजित भएका थिए ।

२०४८ सालको पहिलो आमनिर्वाचनमा बुटवल र आसपासका क्षेत्र समेटिएको तत्कालीन रुपन्देही क्षेत्र नम्बर ३ बाट कांग्रेसका बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा उनै खाँण एमालेका मोदनाथ प्रश्रितसँग पराजित भएका थिए ।

पछिल्लो समय नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर समेत रहेको बुटवललाई एमालेको बलियो संगठन भएको क्षेत्रको रूपमा लिइन्थ्यो । २०६४ र २०७० सालमा सम्पन्न संविधान सभा निर्वाचन र २०७४ सालको संघीय निर्वाचनमा पौडेल बुटवलबाटै निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९ शनिबार ००:००  ४ : ५३ बजे