८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

हिलवर्टमा स्विमिङ पुल, कपिलवस्तुमा पहिलो पटक ‘पौडी कक्षा’



मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको बाणगंगामा रहेको हिलवर्ट इङलिस बोर्डिङ स्कुलले स्विमिङ पुल पनि संचालनमा ल्याएको छ । वडा नम्बर २ पिपरामा रहेको स्कुलले जिल्लामा पहिलोपटक स्विमिङ पुल संचालनमा ल्याएको हो । विद्यार्थी र अभिभावकको चाहाना र अन्र्तराष्ट्रिय विद्यालयीय अभ्यास बोध गरी विद्यार्थीको सर्वाङ्गिण विकास गर्ने हेतुले स्विमिङ पुल राखिएको विद्यालयलय संचालक समितिका अध्यक्ष दीपक खनालले बताउनु भयो । उहाँका अनुसार अब पौडी कक्षा पनि सुरु गरिने र विद्यार्थीलाई प्रतिस्पर्धामै उतार्ने गरी तयारी भइरहेको छ । यसको लागि अब प्रशिक्षक नै झिकाइने खनालले बताउनु भयो ।

अन्र्तराष्ट्रिय स्तरको पुरस्कार (आइएसए अवार्ड) पाएको स्कुलले अतिरिक्त क्रियाकलाप अन्तर्गत अहिले गायन, भलिवल, कराँते, क्रिकेट, नृत्य, बाद्यबादनमा छुट्टा छुट्टै प्रशिक्षक राखेर गतिविधि बढाइरहेकोमा यस अभ्यासले विद्यार्थीमा थप हौसला थपेका प्रबन्ध निर्देशक बुद्धि पौडेलले मायादेवीसंग बताउनु भयो । पुल संचालन गरेपछि विद्यार्थीहरु थप उत्साहित बनेका प्रबन्धक पौडेलले बताउनु भयो ।

४ फिट माथि गहिराइको स्विमिङ पुलमा बालबालिकाको लेबल हेरेर पानीको मात्रा बढाउने र घटाउने गरी प्रविधि जडान भएकोले कुनै बालबालिकामा पनि जोखिम नहुने सहायक प्रिन्सिपल कुशल पाण्डेको भनाई छ । पौडीमा हुने जोखिमलाई मध्यनजर गर्दै सुरक्षाको प्रबन्धसहित विद्यार्थीलाई पौडाउने काम भइरहेको विद्यालयले जनाएको छ ।

अहिले कक्षागत रुपमा विद्यार्थीहरुले आलोपालो पौडने गरेका पाण्डेले बताउनु भयो । यो प्रचण्ड गर्मी मौसममा स्विमिङ पुलले राहत थप्ने विद्यालयको विश्वास छ । यसका साथै विद्यालयमा बाल उद्यान लगायतको सुविधा छ । स्विमिङ पुलको स्थापनापछि सामाजिक संजालमा सकारात्मक र नकारात्मक दुवै खाले प्रतिक्रिया आइरहेका छन् । यस्तो खालको अभ्यास काठमाण्डौँ, बुटवल लगायतका स्कुलमा देख्न सकिन्छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९ शनिबार ००:००  ६ : २७ बजे