१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

ग्लोबल डेरीद्वारा दैवीप्रकोप उद्धार कोषमा ५ लाख ५१ हजार सहयोग



कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९, इमिलियामा रहेको ग्लोबल डेरी प्रा.लि.ले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५लाख ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले डेरीले उक्त रकम सहयोग गरेको हो।

ग्लोबल डेरीका निर्देशक जनक न्यौपानेले सरकारले गरेको अपिलअनुसार विपत्तिको समयमा मानवीय सहयोग स्वरूप आफूहरूले सक्दो सहयोग गरेको बताउनुभयो। उहाँले महाविपत्तिको अवस्थामा पीडितको उद्धार तथा राहतका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।

ग्लोबल डेरीले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना समेत गरेको छ।

उद्धार, राहत तथा पुनःस्थापना कार्यमा उच्च मनोबल र समर्पणका साथ खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूप्रति पनि डेरीले सम्मान तथा कृतज्ञता व्यक्त गरेको छ।

डेरीले विपत्तिको समयमा आम नागरिकप्रति सहानुभूति, सद्भाव र ऐक्यबद्धता प्रकट गर्दै आफ्नो तर्फबाट सानो सहयोग गरेको जनाएको छ। साथै, महाविपत्तिको अवस्थामा खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउन उद्योगी, व्यवसायी, सामाजिक संघ–संस्था तथा देश–विदेशमा रहेका नेपाली नागरिकलाई आफूले सक्ने सहयोग गर्न अपिल गरेको छ।

त्यस्तै, विपद् प्रभावितको उद्धार तथा राहतका लागि विशेष अभियान सञ्चालन गर्न निजी क्षेत्रसँग सम्बद्ध संघ–संस्थालाई समेत ग्लोबल डेरीले आग्रह गरेको छ।

प्रकाशित मिति : १३ भदौ २०८३ शनिबार ००:००  ८ : २६ बजे