२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

सडक डिभिजन शिवपुरलाई प्रश्न–‘चार लेन बन्ने सडकमा अहिले किन २ मिटर पक्की बनाउने बाध्यता ?



मायादेवी अनलाइन, बाणगंगा ।
हालै सरकारले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल देखि कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ४ सम्मको राजमार्गलाई स्तरोन्नती गरि चार लेनको सडक बनाउने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आव ०७९/०८० को बजेट भाषणको क्रममा यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्री शर्माले बजेट भाषण गर्दै गर्दा सडक डिभिजन शिवपुरले भने राजमार्गको एक साइटमा लाखौं रकम खर्च गर्दै सडक विस्तार गरिरहेको थियो । संसदबाट बजेट पारित भइसक्दा पनि सडकको काम अझैसम्म जारी छ ।

बाणगंगा नगरपालिकाको बुङ्ची देखि चारनम्बर बजारसम्मको झण्डै एक किलोमिटरको दुरीमा सडक डिभिजन कार्यालय शिवपुरले एक साइट २ मिटर बढाउने गरी सडक मर्मत गरिरहेको हो ।

चालु आवमा सकाउने यो काम असार महिनामा धमाधम जारी छ । सडक डिभिजन शिवपुरका प्रमुख बिसुनदास लामाले झण्डै ८०/९० लाख खर्च गरेर सडकको एक भागमा करिब दुई मिटरको बाटो बनाउन लागिएको बताए ।

सरकारले ४ लेन बनाउँदै गरेको बेला किन अनावश्यक दुई मिटर बाटो बनाउन लाग्नुभएको भन्ने मायादेवी अनलाइनको प्रश्नमा लामाले आफुहरुको नियमित काम अन्तर्गत भएर काम गरेको जवाफ दिए ।

सडक साँघुरो हुँदा समस्या भएकाले बजार क्षेत्रभित्र सडक थोरै भएपनि बढाउने गरी आफुहरुले यहाँ काम थालेको उनले बताए ।

सरकारले बुटवल–गोरुसिंगे खण्डमा सडक फराकिलो बनाउने बताए पनि अझै चार बर्ष लाग्ने उनको दाबी छ ।

अबको एक बर्षमा डिपिआर तयार हुने बताउँदै सडक बनाउन एडिबीसंग लोन एग्रिमेन्ट, टेण्डर आह्वान र सम्झौतासम्म गरि काम सक्न चार बर्ष लाग्ने भन्दै अहिले बनाउँदै गरेको सडकले खासै बेफाइदा नहुने उनको जिकिर छ ।

‘सरकारले घोषणा गरेको सडक चार लेन बन्न अझै चार बर्ष लाग्छ । सडकमा ट्राफिक चाप बढ्दा समस्या भएपछि हामीले डेढ देखि दुई मिटर सडक विस्तार गरेका हौं, लामाले भने ।’

यता समाजका अगुवाले भने विस्तार हुँदै गरेको सडकमा अनाश्वयक खर्च मात्र भएको आरोप लगाउँछन् । सामाजिक सञ्जालमा यस क्षेत्रका अगुवाहरुले यो सडक विस्तार अनाश्वयक भएको र यसले कुनै फाइदा नगर्ने उनीहरुको प्रतिक्रिया छ । सडक बनाउँदै गर्दा खाल्डोमा कतिपय सवारी दुर्घटनामा परेपछि यस क्षेत्रमा बन्दै गरेको सडक विस्तारको थप आलोचना भएको छ ।

सडक विस्तारका लागि पारिएको खाल्डोमा दुर्घटना भएको यात्रुवाहक बस ।

प्रकाशित मिति : ३ असार २०७९ शुक्रबार ००:००  ४ : ३० बजे