७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बिहीवारदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने



काठमाण्डौ ।

आउँदो बिहीवारदेखि २७ जिल्लाका बालबालिकालाई लगाउन पुग्ने कोरोनाविरुद्धको खोप प्रदेशमा पठाउन थालिएको सरकारले जनाएको छ ।

स्वास्थ्य सेवा विभागकाअनुसार हिजो अमेरिकाबाट आएको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो लटको २२ लाख मात्रा खोप प्रदेशमा रहेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पठाइएको हो । प्रदेश कार्यालयले जिल्लामा पठाएपछि सम्बन्धित स्वास्थ्य कार्यालयले खोप केन्द्र तोक्ने विभागले जनाएको छ ।

५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने खोप अभियान विद्यालय केन्द्रित गर्ने तयारी छ । पहिलो चरणमा प्रदेश नम्बर १ का झापा, इलाम, सुनसरी, मोरङ मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, वाग्मती प्रदेशको मकवानपुर, सिन्धुली, चितवन, काभ्रे, काठमाण्डौ, भक्तपुर, ललितपुर, गण्डकी प्रदेशको कास्की, नवलपरासी पूर्वमा खोप अभियान चल्नेछ ।

यस्तै लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रूपन्देही, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइने विभागले जनाएको छ। पहिलो मात्रा लगाएको तीन हप्तापछि दोस्रो मात्रा लगाउने तयारी छ ।

पहिलो चरणमा असार ९ गतेदेखि १५ गतेसम्म २७ जिल्ला र दोस्रो चरणमा भदौ ५ गतेदेखि ११ गतेसम्म बाँकी ५० जिल्लामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७९ सोमबार ००:००  ७ : ५१ बजे