१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

‘फोर लेन’को बन्यो चन्द्रौटा– कृष्णनगर सडकखण्ड, यससंगै दुर्घटनाको खतरा उस्तै !



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको चन्द्रौटा–कृष्णनगर सडकखण्ड ‘फोर लेन’को बनेको छ । कालिका दिनेश चन्द्र जेभिले उक्त सडक निर्माणको काम गरिरहेको छ ।

नेपाल–भारत जोड्ने नेपालकै महत्वपूर्ण चन्द्रौटा–कृष्णनगर सडकखण्डको कृष्णनगर बजार क्षेत्र बाहेक अन्य स्थानमा काम सकिसकेको छ ।

२१ किलोमिटरको यो सडक अन्तर्गत पर्ने दुई ठूला पुल भने अझै बनेको छैन् । कृष्णनगर बजार भित्रको करिब तीन किलोमिटर बाहेक अन्य क्षेत्रमा सडक निर्माण भइसकेको छ ।

सडक सुधार विकास आयोजनाले प्रत्यक्ष निगरानी गरेको यो सडकखण्ड निर्माणका लागि भारतीय एक्जिम बैंकले सहयोग गरेको हो । सडक सुधार विकास आयोजना र एक्जिम बैंक बीच सडक निर्माणका लागि सम्झौता भएको थियो ।

दुई बीचको सम्झौता पछि यो सडकखण्डको ठेक्का कालिका दिनेश चन्द्र जेभिले लिएका थिए । कालिका नेपालको कन्ट्रक्सन हो भने दिनेश जेभि भारतीय कन्ट्रक्सन हो ।

सडक निर्माणको क्रममा ५१ प्रतिशत सामग्री भारतबाट ल्याइएको छ । भारतीय लगानीमा निर्माण हुने सडकखण्डमा भारतको ५१ प्रतिशत सामान आयात गर्नुपर्ने नियम छ ।

सडक ‘फोर लेन’को बनेको छ भने बीचमा डिभाइडर राखिएको छ ।

चन्द्रौटा–कृष्णनगर सडकखण्ड नेपाल भारत बीचको व्यापार आदान-प्रदान गर्ने देशकै महत्वपूर्ण सडकखण्ड हो । दिल्लीसंग सिधा जोडिने यो सडकखण्ड हुँदै अरवौं रुपैयाँको व्यापार दुई देश बीच आदान प्रदान हुँदै आएको छ । नेपालको बोर्डरमा अवस्थित कृष्णगर भन्सार कार्यालयले बार्षिक अरवौंको राजश्व सरकारलाई बुझाउँदै आएको छ ।

यति मात्र होइन् यो सडकखण्ड भित्रै पर्ने जवाभारी, चन्द्रौटा, विशनपुर, बहादुरगञ्ज लगायतका स्थान उद्योग हवको रुपमा विकास भैरहेका छन् । यहाँ ठूला ठूला उद्योगभन्दा, कलकारखाना स्थापना भैरहेका छन् । साघुँरो सडकले गर्दा उद्योगभन्दा फष्टाउन सकेका छैनन् । प्रदेश सरकारले पनि यस क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।

दुई देश बीचको महत्वपूर्ण व्यापारिक मार्गका रुपमा रहेको यो सडकखण्ड निर्माण सम्पन्न भएसंगै जिल्लाको पश्चिमी क्षेत्रको मुहान फेरिने विश्वास छ । औद्योगिक हवका रुपमा विकास भैरहेको पश्चिमी क्षेत्रमा लगानीका क्षेत्रहरुमा बृद्धि आउनेका विश्वास लिइएको छ ।

चन्द्रौटा बजार जिल्लाको मात्र नभई प्रदेशकै महत्वपूर्ण व्यापारिक केन्द्र मानिन्छ । अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम, दाङ लगायतका जिल्लामा चन्द्रौटाले खाद्यान्न, सिमेन्ट लगायतका वस्तु जाने गरेको छ । भारतमा रोजगारीका लागि जानेहरुले पनि चन्द्रौटा–कृष्णनगरको सडकखण्ड प्रयोग गर्ने गरेका छन् । रोल्पा, रुकुम, दाङ, प्युठान, अर्घाखाँचीका नागरिक यसै सडकखण्ड हुँदै भारत जाने गरेका छन् ।

चन्द्रौटा–कृष्णनगर सडकखण्ड फोर लेनको बनेसंगै जिल्लाको पश्चिमी क्षेत्रले विकासले फड्को मार्ने कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहको विश्वास छ ।

‘विकासको मुख्य मेरुदण्ड भनेको सडक हो, अझ फोर लेनको सडक भनेको त विकसित ठाउँको झल्को हो शाहले भने, ‘यो सडकखण्डको काम छिटो सक्न हाम्रो पूर्ण सहयोग रह्यो ।’

सडक फोर लेनको बन्यो, दुुर्घटनाको खतरा बढ्यो
यातायातको आवगमनले असाध्यै व्यस्त देखिने यो सडकखण्ड ‘फोर लेन’ बनेसंगै दुर्घटनाको जोखिम पनि बढाएको छ । दुई देश बीच सिधा सम्पर्क जोडिने भएकाले पनि यो सडक व्यस्त देखिएको हो ।

ठूला ठूला उद्योगधन्दा रहेको यस क्षेत्रमा दैनिक हजारौं मालबाहक सवारी नेपाल भारत आवतजावत गर्छन् । साना, ठूला सवारीको चाप रहेको यो सडकखण्ड ‘फोर लेन’को भएसंगै तीव्र रुपमा सवारी हुइकिन थालेका छन् । बीचमा डिभाइडर भएपनि आ-आफ्नो रुट बिना कतिपय सवारी साधन मनलाग्दी हिड्ने गरेको पाइएको छ ।

एउटै रुटमा हिड्ने सवारीले पनि पछि आउने सवारीको ख्याल नगरि हिड्ने गरेका छन् । जसले गर्दा ‘ओभर ट्याक’ गरि अगाडी बढ्ने सवारी चालकलाई ‘कन्फ्युज’ पैदा गरेको छ ।

मनलाग्दी सवारी साधन चल्न थालेपछि त्यस क्षेत्रका गेहेन्द्र शुक्लाले दुर्घटनाको सम्भावित जोखिम औल्याउँदै फेसबुक स्टाटस मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

उनले लुम्बिनी प्रदेश ट्राफिक प्रहरीको फेसबुक पेजमा मेन्सन गर्दै लेखेका छन्–‘कृष्णनगर–चनौटा सडक (हाल निर्माणाधीन) फोर लेन सुचारू भए पछि यसमा चल्ने केही साइकल, मोटरसाइकल र गाडीहरु ट्राफिक नियम पालन नगरि दायाँबायाँ, जता पाए त्यतैबाट मोड्ने, ओभर टेक गर्ने गरेको दिनहुँ देख्न सकिन्छ । जसले गर्दा दुर्घटना पनि भइ राखेकै छ ।’ उनी अगाडी लेख्छन्, ‘यसलाई हेर्ने कुनै निकाय देखिदैन् जबकि ट्राफिक प्रहरी दिनहूँ ठाउँ ठाउँमा चेक पोस्ट खडा गरी चेक गरेकै हुन्छन् तर कुनै पनि चालक परिचालकलाई फोर लेनको बारेमा जानकारी गराउने, ट्राफिक नियमकोबारे जागरुक गराउँने कतै देखिदैन् । यस सम्बन्धमा सम्बन्धित निकायले यथाशीघ्र ध्यान दिएन भने दुर्घटना रोक्न गाह्रो नै हुनेछ ।’

नागरिकस्तरले सडक दुर्घटनाको जोखिमबारे ध्यानाकर्षण गराउन थाले पछि जिल्ला ट्राफिक कार्यालय गोरुसिंगेले पनि यस विषयमा आफुहरु गम्भीर रहेको बताएको छ ।

कार्यालयका प्रमुख तथा प्रहरी निरिक्षक दलराम टमटाले सडकको विकाससंगै दुर्घटनाको जोखिम पनि उत्तिकै हुने बताए ।

सानो सडकमा सवारी चलाएको बानी एक्कासी फराकिलो सडकमा सवारी चलाउँदा त्यसमा चालकको लापरबाही देखिने गरेको उनी स्विकार गर्छन् ।

जिल्ला ट्राफिक प्रहरीले सडक दुर्घटनाको जोखिमबारे दिनहुँजसो सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको टमटाले बताए ।

‘कार्यालयले सडक सुरक्षाबारे सचेतनामूलक कार्यक्रम गरिरहेको छ । सडकमा सवारीको चाप बढेसंगै सडक दुर्घटनाका जोखिम पनि बढीरहेका छन् । यसमा हामी गम्भीर छौं । हामीले आफुसक्दो काम गरेका छौं, उनले भने, ‘सम्बन्धित सवारीको चालक, यात्रु पनि संगसंगै सचेत र जिम्मेवार बन्नुपर्छ ।’

ट्राफिक प्रहरी देख्दा सडक अनुशासन पालना गरे झै गर्ने नदेख्दा उल्लङ्घन गरिहाल्ने आम प्रवृत्ति छ, यसमा स्वयम व्यक्ति सचेत बन्नुपर्नेमा उनले जोड दिए । दुर्घटना जीवनसंग जोडिएकाले सडक अनुशासनपालना कसैका लागि नभई आफ्ना लागि हो भन्ने बुझ्नु पर्छ, ‘उनले भने ।’

चन्द्रौटा–कृष्णनगर सडकखण्ड फराकिलो बनेसंगै सम्भावित दुर्घटनाका घटना आउन नदिन सचेत बन्ने उनले जनाए । त्यसका लागि ठाउँठाउँमा चेकिङ, अनुगमन, निरिक्षण कार्यालयले गर्ने उनले बताए ।

र, यो पनि

निर्माणधिन ‘फोर लेन’ चन्द्रौटा–कृष्णनगर सडक, ३० महिनामा काम सक्ने लक्ष्य

यो पनि पढ्नुहोस्

सडक डिभिजन शिवपुरलाई प्रश्न–‘चार लेन बन्ने सडकमा अहिले किन २ मिटर पक्की बनाउने बाध्यता ?

प्रकाशित मिति : २६ असार २०७९ आइतबार ००:००  ७ : ४० बजे