१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

‘पहाडकी रानी’ बन्दीपुर [फोटो फिचर]



मायादेवी अनलाइन, (बन्दीपुर) ।
‘पहाडकी रानी’ उपमाले चर्चित बन्दीपुर २०२५ सालसम्म तनहुँ जिल्लाको सदरमुकाम हुने गर्थ्यो । व्यापारिक केन्द्रका रुपमा स्थापित भएकाले चहलपहल निकै थियो । तर सदरमुकाम दमौलीमा सरेसँगै त्यहाँका बहुसंख्यक नेवारहरू अन्यत्र जान थाले । र विस्तारै बन्दीपुर सेलाएर ’भूताहा शहर’ जस्तो बन्दै गयो ।

तर पछि बाहिर रहेका बन्दीपुरेहरूले आफ्नो सुन्दर र रमणीय गाउँलाई व्यूताउने अभियानमा लागे । त्यसैको उपज हो अहिलेको बन्दीपुर, जो आन्तरिक तथा बाह्य पर्यटकको विशेष रोजाइमा पर्ने गरेको छ ।

पृथ्वी राजमार्गमा पर्ने डुम्रेबाट ८ किलोमिटर दूरिमा रहेको बन्दीपुर बजारमा अहिले जताततै ढुंगा विछ्याईएको छ । धुलोधुवाँरहित वातावरण पाइन्छ । चिसो र स्वच्छ हावाले टिबीका किटाणुहरू निर्मुल पार्ने भएकाले पहिले–पहिले विभिन्न स्थानबाट रोग निको पार्न रोगीहरू आउने गरेको स्थानीयबासी बताउँछन् ।

दर्जनौ भन्दा बढी होटल र होमस्टेहरू संचालनमा छन् । चारैतिर सफा छ । र सबैभन्दा आकर्षणको केन्द्र त्यहाँबाट सुन्दर दृश्यहरू अवलोकन गर्न पाइन्छ ।

बन्दीपुरबात अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमश्रृंखलाहरुको मनोरम दृश्य देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरूले जो कसैको पनि मन लोभ्याउँछ । त्यस्तै टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, महालक्ष्मी मन्दिर पनि पर्यटकको गन्तव्य बन्ने गर्छन् ।

प्राकृतिक सम्पदाले धनि नेपालमा बन्दीपुरजस्ता सुन्दर स्थानहरूको कुनै कमी छैन । स्थानीय र राज्यले मिलेर आफ्नो गाउँ–ठाउँ विकास गर्ने हो भने बन्दीपुरको जस्तो विकास हाँसिल गर्न असम्भव छैन ।

०७९ श्रावण पहिलो हप्ता देखिएको बन्दीपुरको दृश्य

प्रकाशित मिति : १३ श्रावण २०७९ शुक्रबार ००:००  ८ : ०८ बजे