६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

मायादेवी खोजः कपिलवस्तुको मायादेवी साझेदारी वनमा लाखौं घोटाला



दीपक अनुरागी, बाणगंगा ।
कपिलवस्तुको मायादेवी साझेदारी वनमा लाखौं रकमको घोटाला भएको देखिएको छ । वन कर्मचारी र साझेदारी वन व्यवस्थापन समितिको मिलेमतोमा नितिगत कागज मिलाई सेटिङ मार्फत लाखौं रकम झ्वाम पारिएको हो ।

घाटगद्धी व्यवस्थापनका लागि गत आव ०७८/०७९ का लागि मायादेवी साझेदारी वनले २५ लाख रकम विनियोजन गरेको थियो । उक्त काम कागजी रुपमा सम्पन्न गरेको देखाएर वन कर्मचारी र समितिले लाखौं रकम स्वाम पारेको खुलेको हो ।

बाणगंगा नगरपालिका वडा नं. २ पिपरास्थित पिपरा सव डिभिजन कार्यालय परिसरमा साझेदारीले घाटगद्धी व्यवस्थापनका लागि काम गरेको छ ।

साझेदारीद्धारा उत्पादित काठ दाउरा जमीनमा राख्दा सडेर नष्ट भएकाले घाटगद्धीलाई व्यवस्थित बनाउनका लागि उक्त रकम विनियोजन गरिएकोे थियो । तर उक्त रकम खर्च नगरी साझेदारीले काम सम्पन्न गराएर रकमको चलखेल गरेको स्रोतको दावी छ ।

साझेदारीका कर्मचारीले भने घाटगद्धीमा छुट्याइएको रकम खर्च भएको बताउँछन् । पिपरा सव डिभिजन वन कार्यालयका रेन्जर रमाकान्त शर्माले दावीका साथ काम सम्पन्न भएको तर्क गर्छन् । घाटगद्धी व्यवस्थापनको जिम्मेवारी समेत पाएका शर्माले काममा कुनै अनियमितता नगरेको ठोकुवा गरे । तर उनले जसरी ठोकुवा गरे सोही अनुसारको कागजात उपलब्ध गराउँन ठाडै इन्कार गरे ।

आफूले गरेको कामको कागजात उपलब्ध गराउन नसक्नुले पनि शर्माले सेटिङ गरेको थप पुष्टि हुन्छ ।

शर्माले घाटगद्धी व्यवस्थापनको काम साझेदारी वन समितिबाट भएको तर्क गर्छन् ।

‘यो काम कसरी सम्पन्न भयो सबै कागजात साझेदारी वनमा छ, उतै माग्नुस, शर्माले जवाफ दिए ।

आफूले तत्काल मिडियालाई कुनै प्रमाण दिन नसक्ने उनले हतार मुद्रामा बताए । यी सवै विषयको जानकारी जिल्ला वन कार्यालय र साझेदारी वन व्यवस्थापन समितिमा लिन उनले आग्रह गरे ।

शर्माले बताए अनुसार साझेदारी वन कार्यालय समक्ष थप कागजात माग्दा समितिबाट कुनै काम नभएको साझेदारीका अध्यक्ष अजिज खाँले बताए ।

‘घाटगद्धीको काम वन कर्मचारीबाटै भएको हो, हामीसंग के को कागजात हुनु ?’ अध्यक्ष खाँले प्रतिक्रिया दिए ।

सव डिभिजन वन कार्यालय पिपरा र साझेदारी वन समितिले कुनै प्रमाण नदिए पछि डिभिजन वन कार्यालय तौलिहवाका सूचना अधिकृत मदनमोहन सान्डिल्यसंग कुरा राख्दा यो काम पिपराबाटै भएको प्रतिक्रिया दिए । ‘घाटगद्धीको काम पिपराबाट भएको हो उतै माग्नुस् न कागजात !’ सान्डिल्यले भने ।

मायादेवी अनलाइनले पटक पटक यो विषयमा प्रमाण उपलब्ध गराउन भने पनि सोझै इन्कार गरेका वन कर्मचारी र वन व्यवस्थापन समितिले घाटगद्धी व्यवस्थापनमा ठूलै घोटला गरेको रहस्योद्घाटन भएको छ ।

घाटगद्धी व्यवस्थापनमा ठूलो खर्च ढुङ्गामा भएको देखाइएको छ । तर उक्त ढुङ्गा बाणगंगा नदीबाट निशूल्क रुपमा उठाइएको स्रोतले पुष्टि गरेको छ । डिभिजन वन कार्यालय तौलिहवाबाट घाटगद्धी व्यवस्थापन गर्ने भनि औचापरिक पत्र लेखेपछि बाणगंगाको प्रहरी प्रशासनले मायादेवी साझेदारी वनलाई निःशूल्क ढुंगा उठाउन अनूमति दिएको थियो । ढुवानी खर्च मात्र दिएर उठाएको निशूल्क ढुंगालाई किनेको भनि वन कर्मचारीले कागजात मिलाएको स्रोतको दावी छ ।

कागजात मिलाउने क्रममा वन कर्मचारीले तीन फर्मलाई कोटेशन हाल्न भनेर सेटिङ मिलाएका छन् । कागजी रुपमा मिलाए पनि घुमाउरो रुपमा लाखौं भ्रष्ट्राचार गरेको पुष्टि हुन आउँछ । २५ लाखको योजना सम्पन्न गराउन कुनै टेण्डर आह्वान नगर्नु नितिगत भ्रष्ट्राचार भएको जानकारहरु बताउँछन् ।

वन कर्मचारी भने वन नियमावलीमा १ करोडसम्मका काम वन समितिबाट गराउन मिल्छ भन्दै उम्कने गरेका छन् ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्राले ढुंगा, गिट्टी, बालुवाको निकासी, पैठारी जिल्ला समन्वय समितिबाट हुने बताउँछन् । जिससको समन्वय बीना काम गर्न मिल्दैन्, के कसरी यो काम भएको हो सम्बन्धित कार्यालयसंग बुझ्ने बताए ।

सव डिभिजन वन कार्यालय तौलिहवाका प्रमुख विजयराज सुवेदीले घाटगद्धी व्यवस्थापनका विषयमा सत्यतत्य समाचार बाहिर ल्याउन आग्रह गरे ।

‘कार्यालयले गर्ने काम नितिगत रुपमै हुन्छ, अनियमितता भए खबरदारी गर्नै पर्छ,’ उनले भने ।

पिपरा वनका हाकिम सम्पर्कमा आउनै चाहेनन्

घाटगद्धी व्यवस्थापनका विषयमा डिभिजन वन कार्यालय पिपरामा पटक पटक सूचना लिन खोज्दा कार्यालय प्रमुख शिव बहादुर केसी सम्पर्कमा आउन सकेनन् ।

कार्यालयमा दुई पटक सूचना लिन जादा कार्यालय प्रमुख विदामा बसेको कर्मचारीहरुले बताए । कार्यालय प्रमुख केसीले अघिपछि पनि अधिकांश सेवाग्राहीको फोन नउठाउने गरेको पाइएको छ ।

स्रोतले भन्यो, ‘अधिकांश समय केसी कार्यालयमा हुँदैनन्, काम विशेषले सम्पर्क गर्न खोज्यो फोन उठ्दैन् ।’

केसीले देखाउँने व्यवहारले उपभोक्ताहरु हैरानी खेप्न बाध्य भएका हुन् ।

सच्चाइयोः साझेदारीका अध्यक्ष खानले आफ्नो फोटो हालिएकोमा आपत्ति जनाएकाले सच्चाएका छौं ।

प्रकाशित मिति : २६ श्रावण २०७९ बिहिबार ००:००  ५ : १३ बजे