२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024

कपिलवस्तुमा चुनावी प्रक्रिया र नीति निर्माण तहमा युवा संलग्नताबारे छलफल



मायादेवी अनलाइन, बाणगंगा ।
नेपाल युवा संस्था संञ्जाल (आयोन) कपिलवस्तुले अन्तर्राष्ट्रिय युवा दिवसको साताव्यापी कार्यक्रम अन्तर्गत शनिबार बहुपक्षिय छलफल कार्यक्रम गरेको छ ।

कपिलवस्तुको बाणगंगामा आयोजना गरिएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा सर्वाजनिक लेखा समितिका सभापति विष्णु पन्थी, बाणगंगा नगरपालिका उप प्रमुख रिता कुमारी चौधरी, जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका सूचना अधिकारी अनिता क्षेत्री र जिल्ला युवा समितिका अध्यक्ष टुकलाल गैरेसँग जिल्लाका युवाहरुले बहुपक्षिय छलफल गरेका हुन् ।

चुनावी प्रक्रिया र नीति निर्माण तहमा युवा संलग्नताको विषयमा आयोजना गरिएको प्रत्यक्ष छलफल कार्यक्रममा प्रदेश सासंद पन्थीले युवा उमेरले मात्रै युवा नभई उनीहरुको क्रियाशिलतालाई हेरेर मात्र युवा भन्न सकिने बताए ।

उनले उमेरले १६ देखि ४० बीचको व्यक्ति उर्जावान समयमा पनि निश्कृय छ भने उ युवा हुनुको कुनै अर्थ नरहने बताएका हुन । पछिल्लो एक सय वर्षको अवधि द्रुत विकासको अवधि रहेकाले अहिले विश्व बजारमा नेपाली युवाहरुले सम्भावनाको खोजी गरिरहेको उनको भनाइ थियो ।

आफू भित्रको क्षमतालाई क्रियाशिल बनाउन सके अहिलेका युवाहरुले कही पनि दुःख पाउने स्थिति नरहेको पनि उनले दाबी गरे ।

कार्यक्रममा बाणगंगा नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरीले आफू पनि एक युवा उमेर समुहको जनप्रतिनिधि भएको भन्दै बाणगंगामा अहिले धेरै जनप्रतिनिधि युवाहरु रहेको बताइन् ।

उनले जुन उमेर समूह र क्षेत्रको व्यक्ति निर्वाचित हुन्छन उनीहरुले आफ्नो उमेर समूह र क्षेत्रलाई बढी प्राथामिकतामा राख्ने भएकाले अब कपिलवस्तुका युवाहरुले युवा नेतृत्वलाई नै छनोट गर्नुपर्ने बताइन् ।

यस्तै जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अनिता क्षेत्रीले कपिलवस्तुमा निर्वाचनलाई मर्यादित बनाउन निर्वाचन कार्यालयले कामहरु गरिरहेको बताइन् । उनले कोही पनि युवाहरु निर्वाचनका बेला आफ्नो मताधिकारबाट बञ्चित हुन नपरोस भनेर मतदाता नामावलीमा नाम दर्ता गराउने र निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुग्ने हरेक नागरिकलाई मताधिकार सुनिश्चित गरिएको जानकारी दिइन् ।

कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष टुकलाल गैरेले अघिल्ला वर्षको तुलनामा गएको पालिका चुनावले देशभर युवा जनप्रतिनिधिको संख्यामा बृद्धी गरेको भन्दै युवाहरुको हक अधिकार र आवाज बोल्न युवा समिति सक्रियताका साथ लागेको बताए ।

कार्यक्रममा आयोन निवर्तमान केन्द्रीय उपाध्यक्ष थानेश्वर अधिकारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश परेका थिए भने युथ च्याम्पिएन राजेन्द्र खनालले कार्यक्रमको सहजिकरण गरेका थिए ।

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारी, पत्रकार बाबुराम रायमाझी लगायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७९ आइतबार ००:००  ७ : ३० बजे