१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तुमा निर्वाचन आचार संहिता उल्लंघन हुन थाले, अनुगमन समिति मौन



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुमा निर्वाचन आचारसंहिता विपरित राजनीतिक दलले चुनावी प्रचार प्रसार कार्य तिव्र पारेका छन् । आसन्न मंसिर ४ को प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य राजनीतिक दलले नै निर्वाचन आचार संहिता विपरित प्रचार प्रसार कार्यलाई अघि बढाएका हुन् ।

३ वटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा चुनावी प्रचार प्रसारमा डिजे, पार्टीको प्रचार प्रसार जनप्रतिनिधी परिचालन, रंगीन पोष्टर, सार्वजनिक स्थलमा रंगीन होर्डिङ बोर्ड राखेको, शिक्षक कर्मचारी घरदैलोमा मत माग्दै हिडेको र सामाजिक संजाल मार्फत प्रचार प्रसार गरी आचार संहिता विपरितका कार्य गरेको पाइएको छ । यसरी आचार संहिता उल्लंघन गर्नेमा मुख्य राजनीतिक दल रहेका छन् ।

जिल्लामा निर्वाचन आचार संहिता उल्लंघनका सूचना संचार माध्यममा आएपनि हालसम्म भने कुनै उजुरी परेको छैन । जिल्ला स्तरीय निर्वाचन आचार संहिता अनुगमन समितिका अनुगमन अधिकृत भिमार्जुन ज्ञवाली अहिले सम्म कुनै लिखित तथा मौखिक उजुरी नआएको जानकारी दिए । कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुका प्रमुख समेत रहनुभएका आचार संहिता अनुगमन अधिकृत भिमार्जुन ज्ञवालीले शुद्धोधन र मायादेवीमा आचार संहिताबारे अनुगमन गरेको जानकारी दिएका छन् ।

समितिले आचार संहिता उल्लंघनका गतिविधी बारे कार्वाहीका लागि जिल्ला समिति र कर्मचारीको हकमा समिति मार्फत आयोगमा पठाई विभागीय कार्वाही हुने जनाएको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दल, उम्मेद्वार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचार संहिता पालना गर्न आग्रह गरेको छ ।

आचार संहितामा यस्तो छ (आंशिक) :
आयोगको आचार संहितामा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने र कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुने उल्लेख गरिएको छ ।

त्यस्तै निर्वाचन प्रयोजनको लागि ७५ ग्रामसम्मको कागजमा तीन सय वर्ग ईन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रंग र मुद्रकको नाम सहितको पर्चा मात्र प्रयोग गर्नुपर्ने आचार संहितमा उल्लेख छ । उम्मेद्वार वा दलको कार्यालयमा साईनबोर्ड तथा कपडामा बनाइएको ३/४ फिटको दलको झण्डा र सोहि नापको चुनाव चिन्ह राख्न बाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाईन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने आयोगले आचार संहितामा राखेको छ ।

उम्मेद्वार वा दलले आफ्नो कार्यालय बाहेकका स्थानमा दलको झण्डा, दल वा उम्मेद्वारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाईन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने आयोगको आचार संहितमा उल्लेख छ ।

निर्वाचनमा उम्मेद्वारको मनोनयन पेश गर्न जाँदा वा प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेद्वार, प्रस्तावक, समर्थक सहित २५ जना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजा गाजा तथा झाँकी सहित जान नपाईने व्यवस्था आयोगले गरेको छ ।

त्यस्तै अनलाईन वेव पेज, टिभी स्क्रोलिङ, सपिङ् महलमा डिस्प्ले, कल सेन्टर संचालन, बैंकका एटीएम काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेद्वारको बारेमा कुनै प्रचार प्रसार गराउन नहुने तर राजनीतिक दल वा उम्मेद्वारको बढीमा एउटा निजी र आधिकारीक वेबपेजमा त्यस्तो प्रचार प्रसार सामग्री राख्न बाधा नपर्ने निर्वाचन आयोगले जारी गरेको आचार संहितामा उल्लेख छ ।

त्यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिन भन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचार प्रसार गर्न सकिनेछ । जसमा जुलुस, आमसभा, कोणसभा, संचार माध्यममा प्रचार प्रसार सामग्री, प्रकाशन तथा प्रसारण तथा घरदैलो छन् ।

कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न पाइने छैन ।

जुलुस आमसभा, कोणसभा, भेला वा प्रचार प्रसारका कार्यक्रम गर्दा विहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्नेछ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९ सोमबार ००:००  ३ : ५१ बजे