१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त



काठमाण्डाै ।

मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले मुख्यमन्त्रीमा नियुक्त गर्नुभयो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादव मुख्यमन्त्री नियुक्त हुनुभएकाे हो । कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता यादवले यसअघि प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको थियो । उहाँले ७७ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको हो ।

आज दिउँसो बसेको ६ दलका नेताको बैठकमा कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति भएको थियो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मुख्यमन्त्रीमा दाबी छोडेपछि कांग्रेसका यादवको नाममा सहमति जुटेको हो ।

कांग्रेसका यादवका लागि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, जनमत पार्टीको समर्थन रहेको छ ।

यसअघि सरोजकुमार यादवले विश्वासको मत पाउने नदेखिएपछि मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८२ शुक्रबार ००:००  ५ : ५२ बजे