१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

आम चुनाव २०७९ : विष्णु पन्थीलाई पराईको भर, आफ्नैको डर !



मायादेवी अनलाइन, बाणगंगा ।
वि. सं २०७४ सालमा कपिलवस्तुको क्षेत्र नम्बर १ क मा लोकप्रिय मतसहित विजयी भएका एमालेका नेता हुन् विष्णु पन्थी । लुम्बिनी प्रदेश सभामा ५ बर्षे कार्यकाल पुरा गरेका उनै पन्थीले फेरि आगामी मंसिर ४ गतेको निर्वाचनमा पुरानै क्षेत्रमा चुनावको टिकट पाएका छन् ।

पन्थी स्वयम्ले पनि यसपटक पुरानै पदमा टिकटको आकाँक्षा राखेका थिएनन् । उनको चाहना थियो निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य पदमा उठ्ने । तर पुरानै ठाउँमा पार्टीले टिकट थमाइ दिए पछि पन्थीले राजिखुसी सहजै स्विकार गरी अहिले चुनावी दौडमा छन् ।

उसो त एमालेका जिल्लाका ठुला नेताको भन्दा पनि मत दिने आम जनता र एमाले कार्यकर्ताको चाहना पनि विष्णु पन्थीले नै संघमा टिकट पाउँछन् भन्ने थियो । अन्तिममा प्रतिनिधि सभाको टिकट बलराम अधिकारी र प्रदेशको टिकट पन्थीले पाएपछि जिल्लाका केही नेता–कार्यकर्ताको मन खिन्न भएको बुझिन्छ ।

टिकट बाँडफाँट भइसकेपछि एमाले कपिलवस्तु र लुम्बिनी प्रदेशमै यो वहस भइरहेको छ कि पार्टीले पन्थीलाई संघको टिकट नदिएर कतै गल्ती त गरेन ? प्रतिनिधि सभामा विष्णुले टिकट पाएको भए यस क्षेत्रमा सजिलै जित्थे बलरामले टिकट पाउँदा बढी नै मिहिनेत गर्नुपर्ने भइरहेको छ ।

किन कि सत्ता गठबन्धनबाट टिकट पाएका चक्रपाणी खनाल बलदेव ‘टेस्टेड’ थिए । मन्त्री भएर पनि उनले केही गरेनन् भन्ने जनगुनासो छ । बलराम पनि ७० मा निर्वाचन जितेर खासै केही गर्ने नसकेका ‘टेस्टेड’ नेता हुन् । पार्टीमा शक्तिशाली भएर पनि केही जनचाहना पुरा बलराम प्रति यसखालको गुनासो आउनु स्वाभाविक पनि हो ।

त्यसैले प्रतिनिधिमा विष्णुले टिकट पाएको भए वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बलदेवलाई सजिलै हराउन सक्थे कि भनेर पनि पार्टी पंतीमा चर्चा भएको सुनिन्छ । यस्तो भएको भए प्रतिनिधिमा चुनाव जित्न धेरै शंका–उपसंका गर्नु पर्ने थिएन ।

यसो भन्नुको पछाडी धेरै कारण छन् । चुनाव जितेर आम मतदाताको मनमनमा भिजेका विष्णु पन्थी कपिलवस्तुमा उठेका उम्मेदवारहरुमध्ये सबैभन्दा लोकप्रिय र काम गर्ने जनप्रतिनिधिको रुपमा चिनिन्न्छन् । पन्थीले यस्तो छाप छोडेका छन् कि उनी एमालेका मात्र नभएर सबैका नेता हुन् ।

कोरोना कालमा जनता घरभित्र थुनिँदा ज्यानको बाजी लगाएर उनले आफूलाई असली जनप्रतिनिधिको रुपमा चिनाए । यस अतिरिक्त यस क्षेत्रका धेरै विकास निर्माण र बजेट पार्नमा उनको हात छ । अहिलेको चुनावका विपक्षी काँग्रेस र माओवादीकै धेरै नेता र कार्यकर्ताको काम पन्थीबाट भएको छ ।

बाहिर पनि पन्थीलाई नराम्रो मान्ने कोही छैन । ७४ मा निर्वाचित भएपछि उनी हरेक संघसंस्थासंग नजिक भए । हरेक संघसंस्थाका कार्यक्रम उद्घाटनदेखि निर्माणसम्ममा उनलाई बोलाइन्थ्यो । पन्थीको तुलनामा अरु दलका नेताहरु एक प्रकारले छायाँमा नै छन् अहिले पनि । पन्थी सामाजिक संजालमा पनि उस्तै सक्रिय छन् । यी विविध कारणले यस क्षेत्रमा पन्थी एउटा ‘सेलिब्रेटी’जस्ता छन् ।

अर्कोतर्फ पन्थी वैचरिक नेता हुन् । उनका हरेक भाषणमा विषयवस्तुको ज्ञान र गहिराई देखिन्छ भने राजनैतिक दर्शनको पनि बढी अध्ययन गर्ने नेताको छवि पन्थीले बनाएका छन् । योग्यताको हिसाबमा पनि उनी अरु उम्मेदवारभन्दा अब्बल मानिन्छन् । यसअर्थमा पनि पन्थी शक्तिशाली उम्मेदवार रहेका यहाँका बुद्धिजिवी बताउँछन् । सार र डाटामा उनले कति काम गरेका रहेछन् त्यो त चुनावले नै बताउँला तर अहिलेसम्मका उम्मेदवारमा पन्थी नै सबैभन्दा लोकप्रिय उम्मेदवारको रुपमा चिनिएका छन् ।

अब यस्तो भएपछि पन्थीलाई प्रदेशमा चुनाव जित्न कुनै फलामको चिउरा चपाउन पर्दैन भन्ने विश्लेषण एमाले र उनलाई चिन्ने बुझ्नेले गरिरहेका छन् । तर कतिपयले भने वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पन्थीका प्रतिद्वन्दी डोलकराम घिमिरे पनि कम नभएको बताउँछन् । यस्तो स्थितिमा पन्थीले चुनाव जित्छन् त ? सबैमा जिज्ञासाको विषय छ । धेरैले पन्थीले सजिलै चुनाव जित्ने तर त्यसमा एमालेपंती विष्णुको पक्षमा एक हुन्छ कि हुँदैन भनेर पनि बिभिन्न अड्कल काटिरहेका छन् ।

कुनै समय जिल्लाबाट एमालेमा माथि पुगेका नेता, यहाँको नेतृत्व र पन्थीबीच त्यति राम्रो सम्बन्ध थिएन । एमालेमा हिजोको स्थिति हेर्ने हो भने उनी माधव कुमार नेपाल लाइनका मान्छे हुन् । तत्कालिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि उनी घनश्याम भुसालको विचारमा रहेर त्यसै अनुसार गतिविधि गरे । तर एमालेबाट विभाजित भएर नेपालको नेतृत्वमा एकीकृत समाजवादी बनेपछि भने पन्थी मुल घरमै बसे । त्यतिखेरको अवस्थामा जिल्ला, प्रदेश र केन्द्रको नेतृत्व पन्थीप्रति त्यति सकारात्मक थिएन । तर अहिले भने सिंगो पार्टीमा त्यस खालका विचार र विमतीहरु नरहेकाले विष्णु पन्थीलाई पार्टीबाट कुनै असहयोग नहुने एमाले नेताहरुले बताउँदै आएका छन् ।

तर बाहिरको बुझाइ भने एमालेका नेताले भनेजस्तो छैन । कतै पन्थीलाई एमालेबाट नै घात हुने त होइन भन्ने डर छ । किनि कि एमालेका उम्मेदवारहरु पार्टीभित्रकै असहयोग गरेका कारण नै पछारिएका उदाहरण छन् । त्यो स्थानीय तह या अरु निर्वाचन नै किन नहाओस् बिभिन्न समयमा देखिएको विषय हो छिपेको विषय होइन । यदि त्यो घात भएको खण्डमा पन्थीलाई चुनाव जित्नेमा गाह्रोे होला होइन भने पन्थीलाई प्रदेशमा हराउने यहाँ कुनै नेता छैनन्, राजनीतिमा चाख राख्ने वाणगंगा ४ का राजेन्द्र न्यौपाने भन्छन् ।

उनको भनाईमा पन्थी सर्वमान्य नेता हुन् ।

जानकारहरुले पन्थीले सत्ता गठबन्धनको धेरै भोट चोर्न सक्ने लख काट्छन् । किनकि पन्थीले यो पाँच बर्षे कार्यकालमा काँग्रेस र माओवादीका नेता कार्यकर्ताको पनि धेरै काम गरिदिएका छन् । काँग्रेस, माओवादी नेताले गर्न नसकेका काम पनि पन्थीको एक कल फोनले हुने गरेको छ, वाणगंगा २ का वडा अध्यक्ष विष्णु पौडेलले भने पन्थी एमालेको मात्र नेता हुनुहुन्न उहाँ त जनताको साझा नेता हो । उहाँलाई नरुचउने कोही पनि छैन । काँग्रेस, माओवादी, समाजवादी सबैले पन्थीलाई मान्छन् ।

पार्टीभित्रबाट आफूलाई असहयोग हुने कुरा भने विष्णु पन्थीले स्विकार गर्दैनन् । पन्थीले भने- ‘हिजो पनि आफूमाथि पार्टीबाट असहयोग कहिल्यै भएन र अहिले पनि छैन । उनले थपे यो चुनाव मैले सजिलै जित्छु । धेरै मिहिनेत पनि गर्नु पर्दैन । मेरो कामको कारणले जनताले मलाई बुझेका छन् । मैले केही भन्नु पर्दैन । मैले जित्छु मात्र होइन भारी मतान्तरले विपक्षीलाई हराउँछु । पार्टी कपिलवस्तुमा एक ढिक्का छ । बाहिर भन्ने गरिएको विष्णुले आफ्नै पार्टीको भोट पाउँदैन भन्ने कुरा गलत हो । फेरि भन्छु हामी एक ढिक्का छौँ । अहिले कपिलवस्तुका धेरै स्थानमा नतिजा ल्याउँछौँ ।’

बाहिर भने पन्थीले आफ्नै दलका केही नेता कार्यकर्ताबाट मत पाउनेमा शंका गर्दै ठुलै संख्यामा विपक्षीको मत ल्याउन सक्ने चर्चा गरेको सुनिन्छ । चिया चोक र चौपारीमा कुरा गर्ने राजनीतिका जानकारहरु भन्दछन्-‘गठबन्धन भए पनि नेकपा एस र धेरै माओवादीको मत पन्थीले चोर्न सक्छन् । काँग्रेसमा पनि रुष्टता छ । त्यो रुष्ट भोट पनि पन्थीले नै लिन सक्ने सम्भावना छ । त्यसैले पन्थीले चुनाव जित्छन् ।’

२०७४ सालको चुनावको विश्लेषण गर्ने हो भने यहाँ काँग्रेस हावी छ । तर गत वैशाख ३० गतेको स्थानीय तहको चुनावको विश्लेषण गर्दा भने ७४ सालपछि यहाँ एमालेले निकै सुधार गरेको छ । यस अर्थमा पनि पन्थीको पल्लाभारी अनुमान गर्न सकिन्छ । उसो त कपिलवस्तु उद्योग पाणिज्य संघको अध्यक्ष भएका पन्थीका प्रत्यासी डोलकराम घिमिरेले पनि सजिलै जित्ने दावी गर्दै आइरहेका छन् । ७४ मा काँग्रेस एक्लैले माओवादी र एमालेको समिकरणलाई करिब–करिब धक्का दिएकोमा अहिले त गठबन्धन छ नजित्ने कुरै छैन घिमिरे भन्दछन् ।

जे होओस् कपिलवस्तु क्षेत्र नम्बर १ मा प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ निकै रोचक हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९ शुक्रबार ००:००  १२ : ५० बजे