१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आफूलाई ‘कोभिड’ पन्थी उपनामले चिनाएका ‘विष्णु’



मायादेवी अनलाइन, जितपुर । विश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ (कोरोना) महामारीको कारण विश्व आक्रान्त हुँदा नेपाल पनि अछुतो रहन सकेन । भुसको आगो झैँ फैलिएको कोरोना कपिलवस्तुमा पनि फैलियो । यसपछि गाउँगाउँमा नाकाबन्दी गर्ने काम भयो । कोरोनाबाट गाउँ टोललाई सुरक्षित राख्ने भन्दै कतिपय ठाउँमा एम्बुलेन्स समेतलाई चल्न नदिने गरी बाटोका नाका बन्द गरेर स्थानीय घरभित्रै थुनिएर बसेका थिए ।

यस्तो कठिन घडीमा चुनाव जितेर गएका धेरै जनप्रतिनिधि रमिते बनेका थिए भने मुलुकभर केही त्यस्ता जनप्रतिनिधि थिए जसले कोरोनालाई प्रवाह गरेनन् र आफ्नो जिउ ज्यानको बाजी लगाएर जनताको सेवामा रातदिन खटिइरहे । तीमध्ये एक हुन् सांसद विष्णु पन्थी’ ।

वि सं २०७४ सालको चुनावमा कपिलवस्तुको क्षेत्र नम्बर १ ‘क’ मा भारी मतान्तरसहित जित हासिल गरेका विष्णु पन्थी कोरोना कहर (२०७६–७८) मा जनताको सेवामा अहोरात्र खट्ने एक मात्र जनप्रतिनिधिका रुपमा प्रदेशमा चिनिन्छन् । आफ्नै काम र मिहिनेतबाट लोकप्रिय छवि बनाएका विष्णुको कोरोना कालमा खटिएको खटानले झन् लोकप्रियता बढ्यो र चर्चाको शिखरमा पुगे ।

कोरोनामा बच्न भन्दै राज्यले मुलुकलाई नै एक प्रकारले आन्तरिक नाकाबन्दीमा पारेको थियो । अर्थात् यहाँ लकडाउन थियो । महिनौँसम्म मानिस घरमा थन्किएर बस्नु परेको थियो । प्रशासनको समयावधिबाहेक कोही पनि बाहिर निस्कने, बजार जाने, सवारी साधन चलाउने काममा हुँदैनथे । एक प्रकारले सबै घरमा निसास्एिर बस्नु परेको थियो । कोरोनाको कारण दिनदिनै मान्छे मरेको र संक्रमित भएकाहरुको घटनाले कपिलवस्तुका नागरिक पनि विक्षिप्त थिए । करिब २ बर्ष ब्यापार–ब्यवसाय, उद्योग कलकारखाना, विद्यालय सारा बन्द थिए । ‘मर्नभन्दा बहुलाउन वेस’ भनेझैँ जति समस्या परे पनि मानिस घरमै थन्किए । घरमा जे-जे हुन्छ खाए तर आफूखुसी ब्यापार चलाउने इत्यादि गरेनन् सर्वसाधारणले । किनभने कोरोनाको क्षति त्यति भयानक थियो ।

यस्ता अनेकौँ समस्या हुँदा सांसद विष्णु पन्थी भने एक दिन पनि पुरा समय घरमा बसेनन् । घरकी श्रीमती र सन्तानको आग्रहलाई अटेर गरी पन्थी जनताको घरमा पुग्थे । कोरोना केही होइन भनेर नआत्तिन सर्वसाधारणलाई आग्रह गर्थे । ढाढस दिन्थे । प्रेरणा दिन्थे । उत्साह दिन्थे । कोरोनोनामा सबै घरभित्र थन्किएर बसेको बेलामा पन्थीको खटाई र हिँडडुल देख्दा धेरै अचम्मा पर्थे ।

पन्थी कोरोना संक्रमित पुग्ने आइसोलेसनमै पुग्थे । स्वास्थ्य मापदण्ड अपनाएर संक्रमितहरुसंग गफ गर्थे । संक्रमित र उनका परिवारको समस्या बुझ्थे र सकेको सहयोग गर्थे । काम र मामको लागि विदेसिएका नेपालीहरु कोरोनाकै कारण रोजगार छाडेर धमाधम नेपाल फर्किएका थिए ।

मुख्यगरी रोजगारीको लागि भारत गएर कोरोनाकै कारण फर्केनेहरुको खुनुवा, कृष्णनगर, चाकरचौडा लगायतका सिमानाकामा भीँड हुन्थ्यो । त्यहाँ बनाइएका आइसोलेसन सेन्टर र क्वारेनटाइनमा संक्रमितहरु नअटाएर धेरै समस्यामा भएको थियो । र पनि सांसद पन्थी भने ती र त्यस्ता समस्या बुझ्न र समाधान गर्ने जहिले पनि मैदानमै खटिरहेका देखिन्थे ।

जबजब कोरोनाको ग्राफ उकालो लाग्दै थियो, नेपालमा मास्क र सेनेटाइजरको अभाव सुरु हुन थालेको थियो । मास्क र सेनेटाइजरको अभाव भएपछि मेडिकल माफियाहरुले पनि कालोबजारी गरेर त्यसको कृत्रिम अभाव सिर्जना गरेका थिए । सस्तो मास्क र सेनेटाइजरलाई महंगोमा किन्छु भनेर पनि किन्न नपाइने स्थितिसम् मबनेको थियो । यी सारा परिस्थितिको बाबजुत पनि पन्थीलाई भने कुनै डर थिएन । सकै आफै किनेर नसके दाताबाट सहयोग मागेरै भए पनि कपिलवस्तुका दर्जनौँ संघसंस्था, स्थान र आपतमा परेका परिवारकहाँ मास्क र सेनेटाइजरले भरिएको गाडी कुदाएर सांसद पन्थी कुदिरहेकै देखिन्थे ।
सांसद पन्थी अहिले सम्झन्छन् ‘मैले कतिलाई सहयोग गरेँ, त्यसको लेखाजोखा छैन । सकेसम्म सबै वर्ग र समुदायलाई समेट्ने कोसिस गरेको थिएँ । जनप्रतिनिधि भएको हुनाले त्यतिखेर मलाई घरमा सुत्न नैतिक अधिकार थिएन । बरु आफै मरौँला तर जनताले यस्तो बेला ढाढस पाउनुपर्दछ भन्ने मनमा लाग्दथ्यो ।’

सांसद पन्थीले सामाजिक संजालमा पनि दिनदिनै यस्तै सचेतनामुलक सामग्रीहरु राखेर सर्वसाधारणलाई सचेत बनाउँथे भने कोरोनामा अग्रभागमा खटिएर जिउ ज्यानको बाजी थापी काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, मिडियाकर्मीहरुलाई प्राथमिकतामा राखेर स्वास्थ्य सामग्री हस्तान्तरण गरिरहन्थे । त्यो बेला सांसद पन्थीको गाडी मास्का प्याककेट र सेनेटाइजरका बोतलले भरिएको हुन्थ्यो । बाटोमा मास्क नलगाई हिँड्ने सर्वसाधारण देख्दा पनि समय रहेसम्म गाडी रोकेर सम्झाई गरी मास्क दिएर हिँड्थे ।

सांसद पन्थीले कोरोना कालमा गरेको योगदानलाई तौलिहवा जिल्ला अस्पताल, बिभिन्न स्वास्थ्यचौकी, प्रहरी कार्यालय, खानेपानी संस्थान, कपिलवस्तु सामुदायिक अस्पताल, बिभिन्न मिडिया हाउसले सम्झन्छन् । हुन त पन्थी हालका एमाले र तत्कालिन समयमा नेकपाका नेता थिए । तर उनले त्यो बेला यो दल, त्यो दल, यो वर्ग तयो वर्ग भनेर कहिल्यै विभेद गरेनन् । भए र सकेसम्म सबैलाई उत्तिकै सहयोग गरे ।

एकपटक कोरोनाको रफ्तार जिल्लामा निकै भयानक गतिमा बढेको थियो । कोरोनाको तीव्र फैलावट अघि पनि बिभिन्न स्वास्थ्य संस्थालाई कीट उपलब्ध गराएका सांसद पन्थीले कोरोना उच्च विन्दुमा पुगी जिल्लाका बिभिन्न अस्पतालमा अक्सिजन र कोरोना जाँच गर्ने कीट अभाव हुँदा पनि बिभिन्न ठाउँमा धाएर उपलब्ध गराउन पनि सहयोग गरेका थिए ।

त्यतिमात्र होइन कोरोनाको समयमा घरमा उत्पादन भएका कृषिजन्य उत्पादनहरु खेर जाने स्थिति थियो । आफ्ना उत्पादन बारिमै कुहिन थालेपछि किसान चिन्तित थिए । यो बेला ती किसानका तरकारी बोकेर बिक्री हुने ठाउँमा पुर्याउन पनि पन्थीले ठुलो भूमिका खेलेका थिए । कतिपय बेला त अभाव भएका ठाउँमा उपलब्ध भएका ठाउँबाट खरिद गरी आफैले लगेरसमेत तरकारीहरु बेचिदिने काम पनि पन्थीले गरेको किसानहरु सम्झन्छन् ।

कोरोनामा मात्र होइन अरु बेला पनि जनतालाई विकास निर्माण र चेतनासंग जोड्ने काममा पन्थी लागि परिरहेकै देखिन्छन् । त्यसैकारण पनि उनी एक सेलिब्रेटी सांसदको रुपमा प्रदेशमा ‘लोकप्रिय’ छन् ।

कोरोना कालमा पन्थीले दिएको येगदानकै कारण आज पनि उनलाई धेरै सर्वसाधारणले चिन्दछन् र सम्झन्छन् पनि ।
अहिले त मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदै छ । उनै पन्थी पुरानै क्षेत्रमा फेरि प्रदेश सभा सदस्यमा उम्मेदवार छन् । कोरोना कालमा गरेको कामकै कारण लोकप्रिय छवि बनाएपछि एमालेले पनि पन्थीलाई टिकट दिएको नेताहरु बताउँछन् ।

पन्थी भन्छन् ‘फेरि चुनाव आउँछ । जित्नुपर्दछ भनेर म कोरोना कालमा खटेको होइन । विशुद्ध मानवीय भावले खटेको थिएँ । एक जनप्रतिनिधिको हैसियतभन्दा पनि मानवताको भावले नै मलाई खट्न प्रेरित गर्दथ्यो त्यतिबेला । जनताको दुख देख्दा साँच्चिकै दु्ख लाग्थ्यो । हामी हुने खानेलाई त यस्तो गारो भएको छ भने ती मजदुरी गरी खानेहरुलाई कस्तो पीडा परे होला ? यस्तैयस्तै कुराले कोरोनाको बेला म घरमा बस्न सक्दैनथेँ ।’

‘अहिले चुनावमा उम्मेदवार बनेर घरदैलोमा पुग्छु । मतदाताहरुले त्यही सम्झनु भएको रहेछ । त्यतिबेला के गरेको रहेछु । अहिले मतदाताले दिएको मायाबाट त्यो बेलाको कामको गर्व गरिरहेको छु’, पन्थी भन्छन् ।

पन्थी ठट्टा गर्दै सुनाउँछन् ‘कतिबेला त विष्णु पन्थी नभनेर कतिपयले मलाई कोभिड पन्थी पनि भने । मलाई लाग्छ । कोरोनासंगै दौडिएर होला साथीहरुले मेरो यस्तो खाले उपनाम राखिदिनु भएको छ ।’

कोरोनामा जनतासंग रहँदा कयौँपटक घरका जहानसंग झगडा परेको पनि उनी बताउँछन् । प्रदेश सभा वैठक बस्दा पनि कोरोना नियन्त्रण र जनतालाई बचाउने सवालमा आफूले जोडतोडका साथ कुरा उठाइरहेको उनले दावी गरे ।

‘मुलुकलाई बन्धन गराउने काम नगरौँ । कोरोना केही होइन । धेरै त्रास फैलाउने काम नगरौँ । कामधन्दा बन्द गरेर कोरोना नियन्त्रण हुँदैन । सावधानी अपनाएर दैनिकि चलाउँदा फरक पर्दैन’ भनेर पटकपटक सदन र सडकमा कुरा उठाएको पन्थीको भनाई छ ।

त्यतिबेला कोरोना केही होइन, केवल मनको बाघ हो । बन्दाबन्दीमा राखेर मुलुक धेरै पछाडी जाने छ भनेर मैले कुरा राख्दा कतिपयले उडाउने गरेको पनि उनले सम्झिए । यस सवालमा स्थानीय सरकारलाई पनि बन्द नगरौँ भनेर धेरै सम्झाइबुझाई गर्ने एक मात्र पात्र आफू रहेको उनी बताउँछन् ।

अहिले चुनावको बेला घरदैलोमा जाँदा पनि हामीलाई समस्या पर्दा काम लागेको नेता तिमी नै हौ भनेर बुबाआमाले आशिर्वाद दिइरहेको पन्थीले मायादेवी अनलाइनलाई बताए । हिजो मत मागेर जितेका मान्छे, अहिले मत माग्न आउने बिभिन्न दलका नेता कोरोनाको बेला कहाँ गएका थिए नि ? भनी सर्वसाधारणले आफूलाई प्रश्न गरेको पनि पन्थीले सुनाए ।

उनी थप्छन् ‘राम्रो गरे राम्रो फल पाइने रहेछ भनेर बल्ल बुझेको छु । अहिले पनि मलाई जनताले जिताउनेमा दुई मत छैन । यसपछि थप पाँच बर्ष कपिलवस्तुको मुहार फेरिने गरी काम गर्ने योजनामा छु । ७४ मा गर्छु भनेर प्रतिवद्धता जनाइएका कतिपय कामहरु त्यही कोरोनाको कारण गर्न सकिएन ।

अब चुनाव जितेर ती सबै गौरवका योजनाहरु पुरा गर्ने छु । र जनताको सामाजिक र आर्थिक जीवनस्तर उकास्ने अरु नयाँ काम गर्ने योजना पनि घोषणा पत्रमा लेखिरहेको छु ।’

पछि कोरोनाका नयाँ नयाँ भेरियन्टहरु देखिदा पनि पन्थीले आफ्रो जिममेवारीमा ‘ब्रेक’ लगाउने काम गरेका छैनन् । अझै पनि कोरोनाको सन्त्रास र नयाँ भाइरसको डर कायम रहेको हुँदा सचेत रहन उनी सुझाउँछन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९ मंगलबार ००:००  ११ : ५३ बजे