१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

बाणगंगाको मायादेवी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउँछौँः बलदेव



कपिलवस्तु ।

वाम-लोकतान्त्रिक गठबन्धनबाट कपिलवस्तुको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार रहेका चक्रपाणी खनाल ‘बलदेव’ले अबको ५ बर्षको सरकार गठबन्धनको हुने दावी गरेका छन् ।

चुनाव प्रचार-प्रसारको घरदैलो अभियानको लागि शुक्रबार वाणगंगा नगरपालिका ८ बालापुर पुगेका उनले अबको सरकार आफूहरुकै बन्ने ठोकुवा गरेका हुन् ।

अहिले मुलकमा २ खालको गठबन्धन रहेको बताउँदै उनले जनताले जिताउने गठबन्धन भनेको अग्रगामी गठबन्धन रहेको बताए ।

उनले भने ‘त्यो गठबन्धन भनेको काँग्रेस माओवादीसहित ५ दलको गठबन्धन हो । यसले संविधान जोगाउँछ । यसले परिवर्तन संस्थागत गर्छ । विकास गर्छ । जनताहरुले बुझ्नु पर्छ यहाँ अर्को पश्चगामी गठबन्धन छ । त्यो भनेको एमालकोे गठबन्धन हो । एमालेले मरेको लास बोकेर हिँडेको छ राजतन्त्र । फेरि पनि उनीहरु सत्तामा गए भने मुलुकमा भ्रष्टाचार बेथिति बढ्ने, संविधान च्यातिने खतरा छ ।’

गाउँघरका स-साना समस्या पनि एमाले सरकारले समाधान गर्न नसकेको उनले बताए । बाणगंगामा थुप्रै भूमिहिन सुकुम्बासी समस्या रहेको बताउँदै आफूहरुले बनाएको भूमि आयोगले चुनावपछि लालपुर्जा दिने उनको दाबी छ । सुकुम्बासी समस्याको समाधान चुनावी मुद्धा मात्र बनाएर नहुने भन्दै उनले गठबन्धनको सरकारले स्थायी समाधान गर्ने बताए ।

यस्तै बलदेवले वाणगंगा ८ मा रहको मायादेवी रंगशाला अन्तर्राष्ट्रिय स्तरको बनाइने, कृषि उद्यमको विशेष भूमि वडा नम्बर ८ लाई बनाइने समेत उनको दावी छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९ शुक्रबार ००:००  १ : ५९ बजे