कपिलवस्तु। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोक्ने ट्याङ्कर रुखमा ठोक्किँदा सहचालकको मृत्यु भएको छ।
पत्थरकोटबाट गोरुसिङ्गेतर्फ आउँदै गरेको लु.प्र.०१–००१ क ०८४५ नम्बरको दूध बोक्ने ट्याङ्कर बुधबार राति करिब १०ः५० बजे पत्थरकोट–गोरुसिङ्गे सडकखण्डमा अनियन्त्रित भई रुखमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो।
दुर्घटनामा ट्याङ्करका सहचालक अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५, बाँग्लाका २६ वर्षीय आशिष अधिकारी गम्भीर घाइते हुनुभएको थियो। ट्याङ्करमा च्यापिनुभएका अधिकारीलाई स्थानीय युवा तथा इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक बाबुराम बस्नेतको कमान्डमा खटिएको टोलीले उद्धार गरी उपचारका लागि गोरुसिङ्गेस्थित बुद्ध पोलिक्लिनिक प्रालिमा लगेको थियो।
त्यहाँ सामान्य उपचारपछि अधिकारीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि एम्बुलेन्समार्फत बुटवल पठाइएको थियो। बुटवलस्थित चौराहा अस्पतालमा उपचारका क्रममा राति १२ः५५ बजे चिकित्सकले अधिकारीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
ट्याङ्कर कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ बरकलपुरका ३८ वर्षीय महेशप्रसाद चौधरीले चलाउनुभएको थियो। दुर्घटनापछि चालक चौधरी र ट्याङ्करलाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको नियन्त्रणमा राखिएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।










प्रतिक्रिया