१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

मल अभाव र अडियो काण्डबारे सांसदहरुले मागे कृषिमन्त्रीको जवाफ



काठमाडौं । रासायनिक मलको अभाव, वितरण प्रणालीमा देखिएको बेथिति र मन्त्रालयसँग जोडिएको विवादास्पद अडियो प्रकरणबारे सांसदहरुले कृषि मन्त्री र सचिवको ध्यानाकर्षण गराएका छन् ।

मन्त्रालयको पछिल्लो ६ महिनाको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले किसानले मल नपाउने तर मन्त्रालयको तथ्यांकमा भने मल पर्याप्त देखिने विरोधाभासपूर्ण अवस्थाबारे जवाफ मागेका हुन् ।

सांसद खगेन्द्र कर्णले मन्त्रालयमा मन्त्रीको सक्रियता बढी देखिँदा पनि कामकारबाहीमा ढिलासुस्ती भएको औंल्याए । उनले टेन्डर प्रक्रियामा हुने ढिलाइ र वितरण प्रणालीमा भइरहेको चुहावटका कारण किसान मर्कामा परेको भन्दै आगामी आर्थिक वर्षमा मल वितरण प्रणालीलाई पारदर्शी बनाउन मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद ज्ञानेन्द्र सिंह महताले सुदूरपश्चिमलगायतका जिल्लामा किसानले भोग्नुपरेका समस्या र कृषि उपजको बजारीकरणमा देखिएका जटिलताबारे लिखित जवाफ माग गरे ।

उनले कृषिमा युवाको आकर्षण, जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेको असर तथा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का प्रविधि किसानको खेतसम्म पुग्न नसकेको विषयमा १३ बुँदामा प्रश्न उठाए ।

सांसद पुनम अग्रवाल र लक्ष्मीप्रसाद पोखरेलले हालै सामाजिक सञ्जालमा भाइरल भएको कृषि मन्त्रालयसँग जोडिएको अडियो प्रकरणबारे समितिमा स्पष्टीकरण माग गरे । उनीहरूले नार्कको कार्यकारी निर्देशक नियुक्तिका विषयमा समेत प्रश्न उठाउँदै विवादित व्यक्तिलाई नै पुन: नियुक्ति गर्नुपर्ने बाध्यता के हो भनी मन्त्रीसँग प्रश्न गरे ।

सांसद सुरेशकुमार चौधरीले भूउपयोग नीति र सिँचाइको स्पष्ट खाका नहुँदा कृषि क्षेत्र खुम्चिँदै गएकोमा चिन्ता व्यक्त गरे । अर्गानिक मललाई प्राथमिकता दिने निर्णय भए पनि त्यसको कार्यान्वयनमा मन्त्रालय उदासीन रहेको भन्दै उनले रासायनिक मलमाथिको निर्भरता घटाउन जोड दिए ।

बैठकमा सांसद सागर ढकालले समितिले नीतिगत तहमा काम गर्नुपर्नेमा जोड दिँदै साना विषयमा अल्झिनुभन्दा दीर्घकालीन कृषि सुधारमा केन्द्रित हुन आग्रह गरे।

प्रकाशित मिति : १५ आश्विन २०८३ बिहिबार ००:००  १० : ४४ बजे