१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हिलवर्टले दियो चुनावको झल्को, मतदानबाट ‘चाइल्ड क्लव’



मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ पिपरास्थित हिलवर्ट बोर्डिङ स्कुलले चुनावको झल्को दिएको छ । मंसिर ४ गतेको चुनावको मिति आउन एक हप्ता बढी रहँदा हिलवर्ट चाइल्ड क्लव गठनको लागि गरिएको मतदानले चुनावको झल्को दिएको हो ।

जिल्लामै पहिलोपटक मतदानबाट क्लवको नेतृत्व चयनको लागि विद्यालय प्राङ्गणमा विद्यार्थीले मतदान गरेका छन् ।

त्यसको लागि दुईवटा बुथ बनाइएको छ । डोरीले घेरेर लामो लाइन बनाइएको छ ।

मतदान गर्न विद्यार्थी लाइनमा छन् । मतदान अधिकृतको छापसहितको एउटा मत पत्र पनि बनाइएको छ । वरिपरी सहायक मतदान अधिकृत र सहयोगी छन् । उनीहरुले विद्यार्थीलाई मतपत्र दिने, नङमा मत हालेको प्रमाणितको लागि मसी लगाइ दिने लगायतका कामहरु गरिरहेका छन् । छेउछाउमा इलाका प्रहरी कार्यालयमा कार्यरत र म्यादी प्रहरी तैनाथ छन् ।

यता मतदान अधिकृतले मतदानको अवलोकन गरिरहेका छन् । विद्यार्थीले एक-एक गरेर आफूलाई मन परेको उम्मेदवार छानिरहेका छन् । दृश्य हेर्दा ठ्याक्कै कुनै निर्वाचनको तयारीभन्दा कम देखिदैनथ्यो ।

१३ पदाधिकारीसहित क्लवको ३३ सदस्यी कार्यसमितिको लागि अध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । ५ कक्षादेखि १० कक्षासम्मका विद्यार्थी उत्साहपूर्ण ढंगबाट मत खसाल्न लाइनमा छन् ।

कक्षा ७ मा अध्ययनरत योना पौडेल यसरी मत खसालेर क्लवको अध्यक्ष चयन गर्न पाउँदा निकै खुसी छन् । उनी भन्छिन् ‘देशमा चुनाव त हुन्थ्यो तर हामीले सहभागिता जनाउन पाउँदैनथ्यौँ तर आज आफैले मत खसाल्न पाउँदा औधी खुसी छु । मलाई पनि चुनाव आएको जस्तो बल्ल लाग्यो ।’

योना मात्र होइन, कक्षा ९ मा पढ्ने अध्यक्षका उम्मेदवार गौरव अधिकारी पनि निकै खुसी छन् । आफै उम्मेदवार हुँदा नेताकोजस्तो अनुभव भएको उनले सुनाए ।

आज निर्वाचनबारे धेरै कुराहरु सिक्ने अवसर पनि पायौँ । यो प्रकृयिाबाट सदस्यतर्फ ४ जना निर्वाचित हुने र ४ थप जना पछि मनोनित गर्ने ब्यवस्थासहित मतदान गरिएको विद्यालयका प्रबन्धक तथा मतदान अधिकृत बुद्धि पौडेलले बताए । उनले मतदानबाट चयन भएको क्लवले विद्यार्थीको हक र हितको लागि काम गर्ने बताए ।

‘पाठ्यपुस्तकमा निर्वाचनबारे पाठहरु भए पनि सैद्धान्तिक रुपमा उनीहरुले धेरै बुझ्ने रहेनछन् । नमुना मतदान गरेर क्लवको अध्यक्ष चयन हुँदा पारदर्शी पनि हुने र विद्यार्थीले पनि धेरै कुरा सिक्न सक्छन् भनेर मतदान नै गरायौँ,’ प्रबन्धक पौडेलले भने ।

विद्यालयका सहायक प्रचार्य कुशल पाण्डे र माविका नेपाली विभाग प्रमुख तेज प्रसाद आचार्यले निर्वाचन गराउँदा विद्यार्थी धेरै खुसी भएको बताए । मतदान स्थल निर्माण गर्दा पनि विद्यार्थीको सहयोग लिइएकाले निर्वाचनबारे विद्यार्थीले धेरै कुरा सिक्ने उनीहरुको विश्वास छ । यो क्लव केही बर्ष अघिदेखि भए पनि यसरी चुनावबाट नेतृत्व चयन गर्ने काम भने नभएको सहायक प्राचार्य पाण्डे बताउँछन् ।

पढ्नु र पढाउनुले २१ शताब्दीको युगलाई क्याच गर्न नसकिने भएकाले विद्यार्थीको सृजनशिलताको विकासको लागि आगामी दिनमा पनि यस्ता नयाँ काम गरिने विद्यालयका अध्यक्ष दीपक खनालले मायादेवी अनलाइनसंग बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७९ शुक्रबार ००:००  ३ : २३ बजे