१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कपिलवस्तुुका कुन कुन स्थानमा हुँदैछ मतगणना ?



मायादेवी अनलाइन, बाणगंगा ।
हरेक पाँच/पाँच बर्षमा आउँने संसदीय निर्वाचनका लागि आज मतदान जारी छ । देशभर जारी रहेको मतदान प्रक्रिया अनुसार कपिलवस्तुमा पनि विहान ७ बजे देखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

जिल्लामा ३ प्रतिनिधि सभा र ६ प्रदेश सभा निर्वाचन क्षेत्र छन् ।

०७४ को निर्वाचनमा जिल्लाभरको मतगणना एकै स्थानमा भएको थियो । तर अहिले भने क्षेत्र अनुसार तीन स्थानमा मतगणना हुनेछ ।

निर्वाचन आयोगले आज राति देखि नै मतगणना थाल्ने बताएको छ ।

जिल्लामा प्रतिनिधि सभा १ को मतगणना बाणगंगा मावि गजेहडामा हुने भएको छ । प्रतिनिधि सभासहित दुवै प्रदेश सभाको मतगणना गजेहडामा गरिने भएको हो ।

यस्तै प्रतिनिधिसभा २ र यसका दुवै प्रदेशसभाको मतगणना तौलिहवामा हुने छ ।

प्रतिनिधिसभा ३ र यसका दुवै प्रदेश सभाको मत गणना राष्ट्रिय मावि चन्द्रौटामा हुने छ ।

जिल्लामा मतदानका लागि २ सय ३५ मतदान स्थालमा ४ सय ७३ मतदान केन्द्र कायम गरिएको छ । सुरक्षा स्थितिलाई हेरेर २४ मतदान स्थललाई अति संवेदनशील, १०७ लाई संवेदनशील बाँकी सामान्यमा बर्गीकरण गरी सुरक्षा ब्यवस्था मिलाइएको छ ।

निर्वाचनमा म्यादी, नेपाल सशस्त्र प्रहरी नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु खटिएका छन् । जिल्लामा करिब ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्लामा ३ लाख ६८ हजार २३२ मतदाता रहेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९ आइतबार ००:००  १० : ३७ बजे